कालीकाेटका बाढी पहिरो पीडितले अझै राहत पाएनन्

 साउन २२, २०७७ बिहिबार १३:७:२३ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकोटका बाढी पहिरो पीडितले राहत पाउन सकेका छैनन् । पालिकाले वास्तविक पीडितकाे तथ्याङ्क उपलब्ध गराउन नसकेकाले तत्काल राहत वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । पालिकाका जनप्रतिनिधि र जिल्ला प्रहरी कार्यालयबाट आएको तथ्याङ्कमा तालमेल नदेखिएकाले राहत वितरणमा समस्या आएको हो ।  

नरहरिनाथमा जमिन भासियो  

नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ४ र ५ मा जमिन भासिएकाे छ । जमिन भासिएपछि गाउँमा पहिरो बग्ने डर भएपछि स्थानीय नागरिकले सुरक्षित बास स्थानको माग गरेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो ।  

विष्टले भन्नुभयो, 'नागरिकलाई पाल हालेर राख्नेसम्म ठाउँ छैन । वडा नम्बर ४ र ५ मा जमिन भासिएको छ, चिरा चिरा परेकाे छ । नागरिक त्रसित भएका छन् । यस्तो बेला पालिका एक्लैले के गर्ने ?' तत्काल भूगर्भविद् बोलाइ सबै पालिकाको जमिन परीक्षण गर्न गाउँपालिका अध्यक्ष विष्टले जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्नुभयो ।

खानेपानीको पनि अभाव  

रास्कोट नगरपालिकामा बाढी पहिरोका कारण खानेपानीकाे समस्या देखिएको छ । 'बाढी पहिरोले नगरपालिकामा खेती गर्न कुलो छैन, खाने पानी छैन, बिजुली छैन, घट्ट छैन, दातृ निकायले दिएको राहत लिन बाटो छैन, हामी अभावै अभावमा छौँ', रास्कोट नगरपालिकाका मेयर काशी बरालले भन्नुभयो । बरालका अनुसार एक गाउँबाट अर्को गाउँ जोड्ने बाटोसमेत पहिरोले लगेको छ । तत्काल राहतका लागि सहयोग गर्ने निकायले सम्बन्धित पालिकामै राहत पुर्‍याउने व्यवस्थाका लागि बरालले अनुरोध गर्नुभयो ।

राहतमा भन्दा ढुवानीमा बढी खर्च  

बाढी पहिरो पीडितका लागि आएको राहत सामग्रीभन्दा ढुवानीमा बढी मूल्य पर्ने भएको छ । कर्णाली राजमार्ग हुँदै हुल्म र जितेगडा आइपुगेको सामग्री बाढी पहिरोका कारण सडक तथा बाटो बन्द भएपछि सम्बन्धित पालिकामा ढुवानी गर्न कठिनाइ भएको गैरसरकारी संस्था महासङ्घका अध्यक्ष वीरेन्द्र बुढाले बताउनुभयो ।

सम्बन्धित पालिकाका स्थानीय नागरिकमार्फत ढुवानी गर्ने सोच बनाएका गैरसरकारी संस्थालाई पालिकाले सम्बन्धित पालिकामै राहत पुर्‍याउन माग गरेपछि कठिनाइ भएको छ । प्रदेश सरकारले बुधबार खाद्यान्न सहयोग गर्न नेपाली सेनाको हेलिकप्ट मार्फत रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा चामल ढुवानी गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबाबु ओलीयाले बताउनुभयो ।

विपद् व्यवस्थापन सूचना केन्द्र स्थापना गर्न माग

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा चार सयभन्दा बढी घर परिवार विस्थापित भन्ने खबर आएपछि पत्रकारहरुले विपद् व्यवस्थापन सूचना केन्द्र स्थापना गर्न माग गरेका छन् । विपद्काे समयमा प्रभावकारी तथा सत्य सूचना नआएको भन्दै पत्रकार महासङ्घका प्रदेश सदस्य विष्णु न्यौपानेले सूचना केन्द्रकाे माग गर्नुभएकाे हाे । 

विपद्काे बेला विद्युत् सेवा बन्द भएको, नेट र टेलिफोन नचलेको, बाटो बन्द भएको लगायतका विषयले समाचार सङ्कलन गर्न निकै कठिनाइ भएकाले पत्रकारहरुले सत्य तथ्य सूचना सङ्कलन गर्न केन्द्र स्थापनाकाे माग गरेका हुन् । 

बाढी पहिरोका कारण कालीकोटमा अहिलेसम्मम १८ जनाको ज्यान गएकाे छ । सात जना हराइरहेका छन् । चार सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । बाढी पहिरोमा ज्यान गुमाएकाका परिवारलाई जिल्लाबाट दुई लाख र प्रदेशबाट दुई लाख गरी चार लाख दिइने भनिए पनि पीडितले रकम अझै पाएका छैनन् । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया