एशिया कप छनोटकाे तयारीका लागि भारतका अपूर्व देसाइ नेपालका नयाँ ब्याटिङ काेच

 साउन २३, २०७५ बुधबार १८:५८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एशिया कप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोदभाइ देसाइ नेपाल आउने भएका छन् ।

नेपालको शिफारिस अनुसार आईसीसीले एशिया कप तयारीका लागि उनलाई नेपाल पठाउने तयारी गरेको छ । 

नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीका अनुसार देसाइ अर्को सातासम्ममा नेपाल आइपुग्नेछन् । ४३ वर्षीय देसाई भारतका लेभल सी प्रशिक्षक हुन् ।

नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज खेलेर दुई दिनअघि स्वदेश फर्किएको नेपाली टोलीले एशिया कप छनोटको तयारी सुरु गर्दैछ ।

एशिया कप छनोटमा नेपालसँगै हङकङ, ओमान, मलेसिया, सिंगापुर र युएई छन् । 

यस प्रतियोगिताको विजेता टोलीले एशियाकपमा स्थान बनाउनेछ । जहाँ एशियाका टेष्ट मान्यताप्राप्त पाँच टोलीहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् ।

एसिया कप सेप्टेम्बर १५ देखि २८ सम्म युएईमा आयोजना हुँदैछ ।

आउँदो भदौ १३ देखि २१ गतेसम्म मलेसियामा हुने छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ ।

त्यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्दैछ । 

राउण्ड रोबिन लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उपाधि विजेताले एशिया कपको समूह ए मा भारत र पाकिस्तानसँग खेल्नेछ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया