सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
डोटी – रक्सी, जाँड महिला तथा घरेलु हिंसाको प्रमुख कारण भएको महिला अधिकारकर्मीहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीको निर्देशन तथा इलाका प्रहरी कार्यालय दिपायलको आयोजनामा डोटीको दिपायल सिलगढी नगरपालिका–१, तिखामा बुधबार आयोजना गरिएको घरेलु तथा महिला हिंसा कार्यक्रमका सहभागिहरुले जाँड रक्सीका कारण महिलाहरु हिंसामा पर्न थालेको गुनासो गरेका छन् ।
महिलाहरुलाई श्रीमानले जाँडरक्सी खाएर गाउँ घरमा कुटपीट गर्ने गरेको कार्यक्रममा सहभागी मध्येकी एक महिला राइमती नेपालीले बताउनुभयो । ‘महिलाहरु दिनभर घरको काममा व्यस्त हुन्छन, श्रीमान राति रक्सी खाएर आउँछन र कुटपिट गर्छन्’, उहाँले भन्नुभयो, ‘श्रीमानको रक्सी छुटेको दिन त आनन्दले सुतिन्थ्यो ।’
श्रीमानको हिंसा सहन नसक्दा कतिपय महिलाहरु आत्महत्या गर्न समेत बाध्य हुने गरेको स्थानीयवासीहरु बताउँछन् ।
समाजको लाज तथा श्रीमानको डरका कारण आफूहरुले हिंसा गर्ने श्रीमानविरुद्ध उजुरी गर्न नसकेको स्थानीय महिलाहरु बताउछन् । आफ्नो वडामा बिक्रि हुने रक्सी–जाँड नियन्त्रणका लागि प्रयास भइरहेको दिपायल सिलगढी नगरपालिका–१, का वडाअध्यक्ष बहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महिलाहरुको समूह तयार गरेर जाँड रक्सी नियन्त्रण गर्ने योजना बनाएको छु, रक्सी खाएर घरमा हिंसा गर्ने जो कोहीलाई पनि कारबाहीको हुनेछ ।’
महिला तथा घरेलु हिंसा सम्बन्धी तालिम दिन गएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्रबहादुर मल्लले महिला हिंसा गर्नेलाई कानुनमा ६ महिना जेल सजाय तथा ५ हजारदेखि ३० हजारसम्म जरिवानाको सजाय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘महिला हिंसा गर्नेलाई कानुनी सजाय हुन्छ भन्ने बुझेर पनि श्रीमानको इज्जत जोगाउन महिलाहरु हिंसा सहन बाध्य छन्, घरमा महिला हिंसा गर्नेलाई सामूहिक बहिस्कृत गर्नु पर्छ ।’