बढी भाडा पनि लिने, सिटभरि यात्रु पनि राख्नेलाई कारबाही गरिने

 असोज ७, २०७७ बुधबार २२:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना सङ्क्रमणको जोखिमका कारण पूर्ण क्षमतामा यात्रु राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिन नसक्ने स्पष्ट पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बुधबार मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका विद्यार्थी नेताहरुसँग कुरा गर्दै तत्कालका लागि पूर्ण क्षमतामा सार्वजनिक यातायात सञ्चालन गर्न दिन नसक्ने स्पष्ट पार्नुभएको हो । 

विभिन्न १३ वटा विद्यार्थी सङ्गठनका विद्यार्थी नेताहरुले सरकारले सार्वजनिक यातायातमा लागू गरेको आधा यात्रुमात्र बोक्ने र ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्थालाई खारेज गर्न माग गर्दैै मन्त्री नेम्वाङसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । 

कार्यक्रममा मन्त्री नेम्वाङले कोरोनाका सम्बन्धमा तोकिएको स्वास्थ्य मापदण्डलाई पहिलो शर्त मानेर सार्वजनिक यातायात सञ्चालन गर्न दिइएकाले तत्काल भाडादर घटाउन र सार्वजनिक यातायातलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिन नसकिने बताउनुभएको हो । 

देशका सबै क्षेत्रमा पीसीआर परीक्षण गरी यात्रा गर्न सम्भव नभएकाले पनि आधा यात्रु राखेर आधा भाडादरमा सवारीसाधन सञ्चालन गर्न दिने विकल्प सरकारले रोजेको स्पष्ट पार्नुभयो । उहाँले बढी भाडा पनि लिने र पूर्ण क्षमतामा सार्वजनिक यातायात सञ्चालन गरेको पाइए कारबाही गरिने समेत बताउनुभयो ।

विद्यार्थी नेताहरुले भने ५० प्रतिशत भाडादर बढाएर सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय सात दिनभित्र खारेज नभए आन्दोलन गर्ने बताएका छन् ।

विद्यार्थीहरुले हवाई जहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिइएको तर सार्वजनिक यातायातमा आधा मात्रै यात्रु चढाउने सरकारको निर्णय अपरिपक्व, अव्यावहारिक र अवैधानिक भएको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् । उनीहरुले अहिले सार्वजनिक यातायातमा आधा सङ्ख्यामा यात्रु राख्न भनिए पनि पूर्ण क्षमतामा यात्रु राख्ने र दोब्बर भाडा लिने काम भइरहेकोले त्यसलाई रोक्न पनि सरकारले आफ्नो निर्णय सच्याउनुपर्ने माग गरेका हुन् ।

त्यस्तै बसको सीट क्षमताभन्दा धेरै यात्रु राख्ने र पुराना गाडी चलाई दुर्घटना निम्त्याउने व्यवसायीलाई कारबाही गर्नसमेत विद्यार्थीहरुले माग गरेका छन् । उनीहरुले लामो दुरीका यातायातमा दुई जना चालक राख्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सार्वजनिक यातायातलाई सरल, सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया