औषधि लिन बजार निस्केका युवकको बाटोमा शव

 साउन २५, २०७५ शुक्रबार १८:०:१५ | गोविन्द शर्मा

बाँके – शुक्रबार बिहान औषधि लिन बजार निस्केका नेपालगञ्जका एक युवकको बाटोमै शव भेटिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय दुर्गाप्रसाद कोरीको शव पिप्रहवास्थित सडक किनारको नालीमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो ।

भे २ प १६५५ नम्बरको मोटरसाइकलमा सवार कोरीको शव नजिकै मोटरसाइकल पल्टिएको अवस्था छ  । नालीमा पानी समेत कम्मरसम्म छुने मात्रै छ । तीव्र गतिका कारण मोटरसाइकल  दुर्घटना भई शरीरमा चोट लागेर कोरीको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

मृतकको शव भेरी अञ्चल अस्पतालमा पुर्‍याएर पोष्टमार्टम गरिएको छ । शरीरमा बहिरी चोट केही पनि नपाइएको प्रहरीले जनाएको छ ।

कोरीको शव भेटिएको स्थान नजिकै मरेको पशुको सिनोको अत्याधिक दुर्घन्ध हुने भएका कारण सवारी साधन तीव्र गतिमा चलाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो ।

सडक किनारको नालीमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया