पोखरामा यस्तो बन्दैछ अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान (फोटो र भिडियो)

 साउन २८, २०७५ सोमबार १५:४६:१८ | अर्जुन पोख्रेल

काठमाडौं – विभिन्न सहरमा एकपछि अर्को घरेलु क्रिकेट प्रतियोगिता भैरहेका छन् । पोखरामा पनि अहिलेसम्मकै धेरै पुरस्कार राशीको पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको तयारी भैरहेको छ । 

एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) अनि प्रधानमन्त्रीकप क्रिकेट जस्ता ठूला प्रतियोगितापछि अब पोखरामा पोखरा प्रिमियर लिग (पीपीएल) प्रतियोगिता हुन लागेको हो । ट्वेन्टी–ट्वेन्टी ढाँचामा हुने यो प्रतियोगिता क्वीन्स इभेन्ट म्यानेजमेन्टले गर्दैछ । 

आउँदो कात्तिकमा हुने प्रतियोगिताको विजेतालाई २५ लाख रुपैयाँ पुरस्कार दिने तयारी भैरहेको क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक तथा नेपाल क्रिकेट संघका कार्यसञ्चालन अधिकृत छुम्बी लामाले उज्यालोलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा ६ सहरका टिमले प्रतिष्पर्धा गर्नेछन् । खेलाडी छनौट अक्सनमार्फत गरिनेछ । 

जुनियर पीपीएल पनि गरिने

सिनियर टोलीको पोखरा प्रिमियर लिग भन्दा पहिले जुनियर पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट हुने भएको छ । गाउँगाउँका प्रतिभाले स्थान पाउन भन्नको लागि यस्तो गर्न लागिएको क्वीन्स इभेन्ट म्यानेजमेन्टले जनाएको छ । 

पीपीएलमा सहभागी हुने ६ वटा सहरले १६ वर्षमुनिका खेलाडी ट्यालेन्ट हन्टमार्फत छनौट हुनेछन् । ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीबीच जुनियर पोखरा प्रिमियर लिग हुनेछ । जुनियर पीपीएलबाट छनौट भएका खेलाडीले सिनियर पीपीएलमा खेल्न पाउनेछन् । 

अन्तर्राष्ट्रियस्तरको मैदान बन्दै

प्रतियोगिताको लागि अहिले पोखरा क्रिकेट मैदान मर्मतको काम भैरहेको छ । गाई चराउने चौर बनिसकेको मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन धमाधम काम भैरहेको हो । मैदान सम्याउने कामको साथसाथै भारतबाट क्युरेटर ल्याएर पिच बनाउने काम पनि भैरहेको छ । 

पिच बनाउन तनहुँ, स्याङ्जा लगायतका ठाउँबाट माटो ल्याइएको छ । मैदानमा ४ वटा पिच बनाउने तयारी रहेको लामाले जानकारी दिनुभयो । स्पाइक जुत्ता लगाएरै खेल्न मिल्ने गरी पिच बनाइरहेको प्रवन्ध निर्देशक लामाको दाबी छ । मैदान सम्याउने र ४ हजार क्षमताको अस्थायी प्याराफिट बनाउने तयारी पनि गरिएको छ ।

‘हामीले मैदान बनाएपछि त्यो पोखरा प्रिमियर लिगको लागि मात्र होइन, पछि सम्मको लागि पनि हुन्छ, त्यसैले हामीले मैदानलाई महत्व दिएर काम गरिरहेका छौं’ लामाले भन्नुभयो, ‘माछापुच्छ्रे लगायतका हिमाल हेर्दै क्रिकेट हेर्न मिल्ने वातावरण बन्नेछ, पोखरामा पनि क्रिेटको माहोल सुरु गर्ने हाम्रो प्रयास हो ।’

मर्मत गरिँदै गरेको पोखरा क्रिकेट मैदानको भिडियो :


भिडियाे तथा फाेटाे साैजन्य : छुम्बी लामा

अन्तिम अपडेट: बैशाख १३, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया