लगानी गर्न लगन कुर्नु पर्दैन

 जेठ १६, २०७५ बुधवार १५:९:२५ | सनतप्रसाद सापकाेटा

सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन भने केहीले सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन । सम्पन्नता प्राप्त गर्नका लागि धेरै कुराले प्रभाव पार्दछ । 

ती धेरै कुराहरु मध्ये व्यक्तिको सोच र लगानीको शुरुवात पनि महत्वपूर्ण हुन्छ । व्यवसायिक लगानीको शुरुवात गर्नका लागि बचत, जोखिम र यसका आयामहरुलाई बुझ्ने क्षमताले सफलता निर्धारण गर्न सहयोग पुर्‍याउँछ । त्यस्ता सोचहरुलाई यहाँ केलाउने प्रयास गरिएको छ । 

 
पहिलो प्रकारका मानिसहरु जसले आम्दानी भन्दा खर्च धेरै गर्छन । क्षणिक रमाईलो त पाउँछन नै तर धेरैको भविष्य अन्धकार हुन्छ किनकी आर्थिक श्रोत भनेको सधैँ जुट्दैन । मानिसमा सँधै त्यो शक्ति रहँदैन जसले गर्दा उसले कमाएर खर्च गरिरहन सकोस । पैतृक सम्पत्तिको दोहन गर्नेहरुको कथा भने फरक होला । 

मानिसका खर्च गर्ने व्यवहार फरक फरक हुने गर्दछ । कोही भविष्यको बारेमा केही पनि सोच्दैनन र आम्दानी भए जत्ति वा ऋण गरेर भए पनि खर्च गर्दछन । अर्काथरी व्यक्तिहरु आम्दानी भन्दा खर्च कम गर्छन र बाँकी भएको रकम बचत गर्छन । तेस्रो प्रकारका मानिसहरु आफूसँग भएको पूँजी वा कुनै माध्यमबाट पूँजी जम्मा परेर सानो वा ठूलो लगानी गरिरहन्छ । 

पहिलो प्रकारका मानिसहरु जसले आम्दानी भन्दा खर्च धेरै गर्छन । क्षणिक रमाईलो त पाउँछन नै तर धेरैको भविष्य अन्धकार हुन्छ किनकी आर्थिक श्रोत भनेको सधैँ जुट्दैन । मानिसमा सँधै त्यो शक्ति रहँदैन जसले गर्दा उसले कमाएर खर्च गरिरहन सकोस । पैतृक सम्पत्तिको दोहन गर्नेहरुको कथा भने फरक होला । 

धनलाई हातको मयल मानिन्छ । यो कुन बेला आउँछ र कुन बेला जान्छ यसको ठेगान हुँदैन । अर्कोथरी मानिसहरु पैसा पाउने वित्तिकै बचत गरिरहन्छन् ।  कमाउनु भन्दा पैसा जोगाउनु ठुलो हो भनेर जानेका हुन्छन ।

सानै उमेरदेखि पैसा बचाउनु पर्छ भनेर सिकाइएको हुन्छ । यिनीहरु कमाउनु र बचत गर्नु फरक कुरा रहेछ भन्ने कुरा बुझेका हुन्छन । खर्च गर्न र लगानी गर्न कन्जुस्यार्इँ गर्ने प्रकारका बचतकर्ताहरु भविष्यको अन्तरालमा बचत गर्ने मानिस पनि गरिब पनि हुन सक्छ ।

बचत गर्ने मानिस त धनी बन्नुपर्ने हो तर कसरी गरिब भयो त ? बचत गर्नु मात्र पर्याप्त हुँदैन किन भने बचत रकममा प्राप्त हुने ब्याजको रकम वार्षिक मुद्रास्फ्रिती दर भन्दा कम भयो भने पैसाले आफ्नो मूल्य गुमाउँछ । 

साधारणतया नेपालको परिप्रेक्ष्यमा हेर्दा बचत गर्दा प्राप्त हुने ब्याज वार्षिक मुद्रास्फ्रिती दर भन्दा कम हुन्छ । जसले गर्दा पैसाको मूल्य अर्को वर्ष त्यत्ति नै रहँदैन । त्यसकारण बचत भनेको छोटो समयको लागि र आपतकालिन अवस्थाको लागि मात्र गर्नु पर्छ ।

 
सबै व्यक्तिहरु आर्थिक रुपले स्वतन्त्र हुन चाहन्छन् अर्थात जीवनको कुनै अवस्थामा काम गर्न नसकिने अवस्था आएमा वा काम नगरे पनि आम्दानी भने भइरहोस् । जसरी पैसाको लागि जीवन बन्दगीमा थियो त्यो मुक्त भएर पैसाले आफ्नो लागि काम गरोस् । 

त्यसो भए के बचत गर्नु हुँदैन भन्न खोजिएको हो त ? अवश्य पनि होइन बचत गर्नु पर्छ बचतलाई लगानीको रुपमा प्रयोग गर्नु पर्छ । तुलनात्मक फाइदालाई मूल्यांकन गरी बचतलाई लगानी गर्नु पर्दछ । लगानीबाट मात्रै समृद्धि सफल हुन्छ । 

बचत गर्नु भनेको पैसालाई बचाउनु हो, सुरक्षित राख्नु हो । पैसालाई बचाउने मात्र होइन यसलाई बढाउने पनि गर्नु र्छ । बढाउनका लागि लगानी गर्नुपर्छ । लगानी गर्नु भनेको बचत वा पूँजीलाई कुशलतापूर्वक परिचालन गर्नु हो । 

हामी धेरैजसो पैसाको लागि काम गर्छौ । हाम्रो सम्पूर्ण शक्ति पैसा प्राप्त गर्ने हुन्छ । तर हामीले पैसालाई हाम्रो काम गर्ने जिम्मा दिन सकेको अवस्थामा हाम्रो बोझ हलुका हुन्छ । त्यो तब मात्र सम्भव छ जब हामीले लगानी गर्ने सोच विकास गर्छौ । बचत भनेको बीऊ हो । लगानी भनेको यसको खेती गर्नु हो । 

एकथरी मानिसहरु पैसा भएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोच आफै आउँछ भन्ने कुरामा विश्वास गर्छन । तर सत्य त्यो होइन । जसले पैसा नहुँदा नै यदि मसँग पैसा भएको अवस्थामा यसरी खर्च, बचत र लगानी गर्छु भनेर योजना बनाएको हुन्छ सोही अनुसार पैसाले पाइला चाल्छ नत्र भने पैसाले कुनबेला पखेटा हाल्छ थाहा हुँदैन ।  

सबै व्यक्तिहरु आर्थिक रुपले स्वतन्त्र हुन चाहन्छन् अर्थात जीवनको कुनै अवस्थामा काम गर्न नसकिने अवस्था आएमा वा काम नगरे पनि आम्दानी भने भइरहोस् । जसरी पैसाको लागि जीवन बन्दगीमा थियो त्यो मुक्त भएर पैसाले आफ्नो लागि काम गरोस् । 

त्यो कुरा बचतबाट पनि सम्भव छ । तर बचत सकिने दर बढी हुन्छ । सावाँमा नै चोट लाग्न थालेपछि प्रतिफल कमजोर हुन्छ । मानिसले वित्तीय स्वतन्त्रता पाउन चाहन्छ भने उसले आर्थिक लगानीलाई बढाउनु पर्दछ । लगानी भए पछि पैसाले काम गर्न थाल्छ तब हामी वित्तीय रुपमा स्वतन्त्र हुन सक्छौं । 

लगानी गर्ने सोच आउनु भन्दा अगाडि हामीमा थुप्रै अन्य सोचहरुले पनि जरा गाडीसकेको हुन्छ । जस्तै देशमा लगानी वातावरण बनोस अनि लगानी गरौंला, अलि ठुलो पूँजी होस् अनि लगानी गरौंला । धेरै नाफा दिने काम पत्ता लागोस अनि लगानी गरौंला ।

सानै उमेरमा लगानी गर्न हुँदैन, सानो व्यक्तिले लगानी गर्न सक्दैन त्यसकारण उमेर ठुलो भएपछि लगानी गरौंला । जागीर खाँदा लगानी गर्न फुर्सद छैन जागीरबाट बाहिर आएपछि लगानी गर्न शुरु गरौंला । राज्यले छुट दिन्छ अनि व्यवसाय गरौंला । 

गरीब छु गरीबले कसरी लगानी गर्न सक्छ ? त्यसकारण धनी हुन्छु अनि लगानी गरौंला, एक्लैले लगानी गर्न सकिँदैन साथी खोज्छु अनि लगानी गरौंला । मलाई लगानी फाप्दैन, यो वर्ष साइत छैन अर्को वर्ष गरौंला, धन भनेको भाग्यमा लेखेको हुन्छ ।

धनी हुनु छ भने जसरी पनि धनी भइन्छ भन्ने सोचहरुको प्रभावले हामीहरु लगानी गर्दैनौं । लगानी गर्नका लागि कुनै साइत, लगन, समय र अवसरको प्रतिक्षामा बसिरहन्छौं । अहिले जोखिम बढी छ, पछि जोखिम कम हुन्छ अहिले पर्खिने हो भन्ने जस्ता विभिन्न सोचहरुले लगानी गर्नका लागि पाइला चाल्न रोकेको हुन्छ ।

 
सिकाईको निरन्तरताका लागि व्यवसायमा आवश्यकता अनुसारको परिमार्जन सहित अनवरत सहभागिताको आवश्यकता हुन्छ । जसले खेलको मैदान छोड्दैन उसको मात्र खेल जित्ने सम्भावना बाँकी रहन्छ । सिकाइबाट प्राप्त उपलब्धीहरु वा उपायहरुलाई अबलम्बन गर्दै निरन्तरता प्रदान गरेमा व्यवसायिक सफलता प्राप्त हुने सम्भावना अधिक हुन्छ । 

कुनै व्यवसायमा साच्चिकै जोखिम पनि हुन्छन तर धेरै जसो व्यवसायहरु शुरु नहुनुमा वातावारण र जोखिम भन्दा पनि सकारात्मक सोचको कमी कै कारणले व्यवसायहरु सुरुवात हुन सकिरहेको हुँदैन ।

यसको अर्थ जोखिमलाई वेवास्ता गर्ने भन्ने होइन । जोखिम तथा वातावरणलाई नबुझी लगानी गर्ने भन्ने पनि होइन । जोखिम रहित अवस्था सायदै कुनै पनि समयमा होला । जोखिम जहिले पनि छ । जोखिमलाई कसरी सामना गर्ने वा जोखिम सामना गर्ने क्षमता हुनु आवश्यक छ ।

पानीमा जहिले पनि जोखिम छ किनकी यसले डुबाउँछ । तर जो पानी माथी तैरिन जान्दछ उसले त्यसको मज्जा लिन्छ । उसका लागि त्यो अर्को किनारमा पुग्ने माध्यम बन्छ र त्यो अवसर बन्छ । लगनशिल भएर कुनै व्यवसायमा लगानी गर्ने वा व्यवसाय संचालन गर्ने सोच राखेमा अवश्य सफल भइन्छ ।

चुनौती आउन सक्छन, जोखिम आउन सक्छ । तर ती चुनौती तथा जोखिमहरुले राम्रो ज्ञान तथा सीप प्रदान गर्छन जसबाट भविष्यमा अझ बलियो रुपमा  व्यवसायमा टिकिरहन सक्षम बनाउँछ । 

जुन विरुवा हावा आउँदा पनि अडिन्छ त्यसको जरा झन मजबुद हुन्छ । व्यवसाय गर्दा प्राप्त हुने सिकाइ नै सबभन्दा ठुलो गुरु मन्त्र हो । अरुको नक्कल र सिद्धान्त र सफलताको कथा त्यो समयको सन्दर्भमा ठीक हुन्छ तर हाम्रो व्यवहारिक सिकाइ बढी यथार्थपरक हुन्छ । 

सिकाईको निरन्तरताका लागि व्यवसायमा आवश्यकता अनुसारको परिमार्जन सहित अनवरत सहभागिताको आवश्यकता हुन्छ । जसले खेलको मैदान छोड्दैन उसको मात्र खेल जित्ने सम्भावना बाँकी रहन्छ । सिकाइबाट प्राप्त उपलब्धीहरु वा उपायहरुलाई अबलम्बन गर्दै निरन्तरता प्रदान गरेमा व्यवसायिक सफलता प्राप्त हुने सम्भावना अधिक हुन्छ । 

जोखिमको सामना गरेपछि मात्र जोखिमको अवस्था थाहा हुन्छ र त्यसलाई पराजित गर्न सकिन्छ । यदि डोरीलाई नै सर्प मानेर डराइरहेमा त्यसले हामीलाई कमजोर बनाउँछ । तर नजिक गएर हेर्‍यौं भने त्यो सर्प नभई डोरी पनि हुनसक्छ । यदि सर्प नै रहेछ भने पनि मरेको हुन सक्छ वा विष नभएको सर्प हुन सक्छ । 

विषालु सर्प रहेछ भने जोखिमको स्तर थाहा हुन्छ त्यसप्रति झन सतर्क बनाइराख्छ । जोखिम र यसको असरको अनुभव जसले भोग्यो उसलाई मात्र थाहा हुन्छ । यसकारण जोखिमदेखि डराउने होइन । जोखिमलाई सामना गर्दै पूर्ण तयारीका साथ व्यवसायिक लगानी गर्नका लागि अगाडि बढ्नुपर्दछ । 

 
समयले प्रदान गर्ने व्यवसायिक अवसरको भाषा बुझ्नका लागि सबै व्यक्ति वित्तीय साक्षर हुनु र वित्तिय रुपमा सजग हुनु जरुरी हुन्छ । वैदेशिक रोजगारीमा गएका कामदारहरुले पठाउने रकम उच्च भएको अहिलेको अवस्थामा उपभोग तथा सुविधाहरुको खपत अत्याधिक छ । उत्पादन एक दम कम छ ।

कर्म र व्यवहारबाट आफैले अनुभुत नगरी अरुले भनेका कुराहरुमा विश्वास गर्न सिकाइएको छ । जस्तै  सानो उमेरदेखि नै हामीलाई भाग्यमा विश्वास गर्न सिकाईको छ । भाग्य कसैले लेखिदिन्छ र सोही अनुसार जीवन चल्छ भन्ने कुरा बुझाइएको छ । हामी त्यो कुरालाई हुर्काउँदै जीवन बिताइरहेका छौं । त्यसकारण हामी हाम्रो आफ्नो प्रयास भन्दा पनि कहिँकतैबाट कुनै चमत्कार हुने आशमा छौं । चमत्कारिक रुपमा भविष्यमा धनि हुने आशमा वर्तमानलाई गुमाईरहेका छौं । 

हामी बिउ नरोपी फल फल्ने आशमा छौं । धेरै जसो व्यक्तिलाई कामै नगरी पैसा आओस् भन्ने अपेक्षा पनि छ । तर वास्तविकता लगानी नगरी प्रतिफल प्राप्त हुँदैन । हामी समयलाई पर्खिरहन्छौं तर समयले हामीलाई पर्खिदैन । समयले हामीलाई अवसर प्रदान गरिरहेको हुन्छ तर त्यको भाषा बुझ्ने क्षमता हामीमा हुँदैन ।

समयले प्रदान गर्ने व्यवसायिक अवसरको भाषा बुझ्नका लागि सबै व्यक्ति वित्तीय साक्षर हुनु र वित्तिय रुपमा सजग हुनु जरुरी हुन्छ । वैदेशिक रोजगारीमा गएका कामदारहरुले पठाउने रकम उच्च भएको अहिलेको अवस्थामा उपभोग तथा सुविधाहरुको खपत अत्याधिक छ । उत्पादन एक दम कम छ ।

वैदेशिक आयात एकदम बढी छ । तसर्थ सोझै भन्न सकिन्छ की व्यापार फस्टाउने अवसर धेरै छ । तर हामी व्यवसाय सुरु गर्नका लागि कुनै लगन कुरेर बसीरहेका छौं । लगानी गर्नका लागि लगन नकुरौं लगनशिल भएर लगानी गरौं ।

अन्तिम अपडेट: भदौ २५, २०७५

सनतप्रसाद सापकाेटा

सापकोटा सुरक्षित आप्रवासन परियोजना सामीमा वरिष्ठ तालिम अधिकृत तथा वित्तीय साक्षरता फोकल पर्सनका रुपमा कार्यरत हुनुहुन्छ।

1 Comments

  • uttam khanal

    June 5, 2018, 9:05 p.m.

    नयाँ कामको केहि उदाहरण दिनुभए हुन्थ्यो /

तपाईको प्रतिक्रिया