मलेसिया

 जेठ १६, २०७५ बुधबार १५:२५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्वी एसियामा तीब्र आर्थिक विकास गरिरहेको मलेसिया बहुजातीय र बहुसाँस्कृतिक मुलुक हो । मलेसियामा मुस्लिम धर्म मान्नेहरु धेरै छन् । मलेसियाको उद्योग व्यवसायको ठूलो हिस्सा चिनियाँ मुलका उद्यमी र व्यवसायीको हातमा छ । ६० प्रतिशत मलायाहरु रहेको मलेसियामा २६ प्रतिशत चिनिया मुलका मानिसको बसोवास बस्छन् भने भारतीय मुलका मानिसको बसोवास पनि उल्लेख्य छ । 

मलेसियामा कम्प्युटरका चिप्स, कार्ड तथा मोटर र मोटर पार्टसहरुका काम हुनछन् । उद्योगका साथै पर्यटन र कृषि पनि मलेसियाको आम्दानीको श्रोत हो । 

मलेसियामा आन्तरिक सुरक्षा, ट्राफिक र कामदार कानुन निकै कडा छन् । कानुन अनुसार नै यहाँका सुरक्षा अंगले शंकाकै आधारमा कसैलाई पनि गिरफ्तार गर्न र थुन्न पाउँछन् । मानव अधिकारको पालनको हिसावले विश्व समुदायले मलेसियाको आलोचना गर्छ । 

मलेसियाको राजधानी क्वालालम्पुर हो । मलेसियाको मुद्रालाई रिंगिट भनिन्छ । नेपालको विनिमय दर अनुसार एक रिंगिट बरावर नेरु २७ को हाराहारी हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउसँगै तलमाथि हुन्छ ।   

भाषा मलेसिया (मलाया) मलेसियाको राष्ट्रिय भाषा हो । तर चिनियाँ र तामिल भाषा पनि चलन चल्तिमा छ र अंग्रेजीको सामान्य प्रयोग हुन्छ । ५५ प्रतिशत मुस्लिम र १७ प्रतिशत बौद्ध धर्मावलम्वीको बसोवास रहेको मलेसियामा हिन्दु धर्म मान्नेहरु ७ प्रतिशत छन् । 

मलेसियामा काम गर्न गएका मध्ये धेरैजसो नेपाली राजधानी क्वालालम्पुर, जोहार बारु, पेनाङ लगायतका शहरमा कार्यरत छन् । धेरैजसो नेपालीले कलकारखानामा मजदुर, सुरक्षा गार्ड, होटल, रेष्टुराँमा काम गर्छन् । यसैगरी ईपो, मलक्का लगायतका क्षेत्रमा कृषि क्षेत्रमा पनि नेपाली कामदार कार्यरत छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, २०६९ बैशाख मसान्तसम्म नेपालबाट ७ लाख ४८ हजार ३३ जना नेपाली वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मलेसिया गएका छन् । सो तथ्यांक अनुसार काम गर्न विदेश गएका नेपालीमध्ये सवैभन्दा धेरै मलेसियामा छन् । नेपाली जस्तै यहाँ अरु देशका कामदार पनि धेरै छन् । मलेसियामा काम गर्ने विदेशी कामदारमा सवैभन्दा बढी ईण्डोनेसियालीहरु छन् । नेपालीहरुको संख्या दोश्रो नम्वरमा पर्छ ।   

मलेसियामा काम गर्ने नेपालीले भोगिरहेको सवैभन्दा ठूलो समस्या कार्यथलोमा हुने दुर्घटना र सडक दुर्घटना हुन् । मलेसियामा नेपालीको ज्यान जाने मुख्य कारणमा सडक दुर्घटना रहेको छ । त्यसैले मलेसिया जान चाहनेले सडक प्रयोगका बारेमा राम्रोसँग बुझेर मात्रै जानु पर्छ ।   

मलेसियामा नेपालको दूतावास राजधानी क्वालालम्पुरमा छ । कुनै समस्या परेमा क्वालालम्पुरमा रहेको नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह तथा सहयोग पाईन्छ । दूतावासको फोन नम्वर 03-2020 1898 / 03-2020 1899 Extension Numbers:Consular: 1, Passport: 2, Jail & Detention: 3, Labour: 4, Insurance & Deaths: 5 & Visa: 6 हो । थप जानकारी क्वालालम्पुरस्थित नेपाली दूतावासको वेभसाईट https://my.nepalembassy.gov.np/ मा हेर्न सक्नुहुन्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया