आफू नजिकका व्यक्तिलाई ओलीतिर लगाएर गाैतमले एकताकाे भ्रम छर्न खाेजे : नेता नेपाल

 माघ ४, २०७७ आइतबार १८:५०:२५ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको नाममा भ्रम फिँजाएको दाबी गर्नुभएको छ ।

नेपालगञ्जमा आइतवार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले उपाध्यक्ष गौतमले आफू नजिकका व्यक्तिलाई ओलीतिर लगाएर एकताको भ्रम छर्न खोजेको दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीले आफूलाई सत्तामा पुग्नका लागि पार्टी एकतालाई सिँढीको रूपमा मात्रै प्रयोग गरेको टिप्पणी गर्नुभयो ।

ओली अहिलेसम्म कम्युनिस्ट पार्टी एकताको अभियानमा सहभागी नभएको दाबी गर्दै अध्यक्ष नेपालले ओली तानाशाही बन्न खोजेको आराेप लगाउनुभयाे । उहाँले विगतमा आफू र झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा राजीनामा दिएको स्मरण गर्दै अहिले ओलीले पार्टीमा बहुमत गुमाएको अवस्थामा राजीनामा दिनु नै उत्तम हुने दाबी गर्नुभयो ।

कार्यक्रममा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीकाे सिफारिसमा भएकाे प्रतिनिधि सभा विघटनलाई प्रतिगमनको संज्ञा दिनुभयो । भेलामा नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवाली, वर्षमान पुन, ओनसरी घर्तीलगायतले सम्बोधन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया