मोदीले गरे बाढी प्रभावितलाई राहतको घोषणा

 भदौ २, २०७५ शनिबार १७:५०:२३ | रासस
unn.prixa.net

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत रकमको घोषणा गर्नुभएको छ । 

प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँको दरले राहत रकम दिने घोषणा गर्नुभएको हो । 

उहाँले बाढी पहिरोमा परी घाइते भएकालाई उपचारका लागि ५० हजार रुपैयाँ भारु उपलब्ध गराउने पनि बताउनुभएको छ । उनीहरुलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् रकम उपलब्ध गराउने व्यवस्था गरिएको मोदीको भनाइ छ । 

प्रधानमन्त्री मोदीले केरलाका लागि पाँच सय करोड सहायता रकमको घोषणा यसअघि नै गरिसक्नु भएको थियो । केरलाका मुख्यमन्त्री पिनारायी भिजायनलगायतका उच्च पदस्थ व्यक्तिसँगको समिक्षा बैठकमा प्रधानमन्त्री मोदीले आफ्नोतर्फबाट त्यस्ताे सहायता रकम दिने घोषणा गर्नुभएको हो । 

केरलाका केही जिल्लामा परेको अबिरल वर्षापछिको बाढी र पहिरोको कारण कम्तीमा तीन सयभन्दा बढीको ज्यान गएकाे छ । शताब्दीकै खराब भनिएको बाढीका कारण केरलाका १३ ओटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीले जानकारी दिएका छन् । 

उद्धारका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकोप्टरको पनि बन्दोबस्त गरिएको उनीहरुको भनाइ छ । उद्धारकर्ताले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन् । 

बाढी पहिरोका कारण केरला राज्यमा अहिलेसम्म दुई लाख मानिस आफ्नो घर छोडेर शिविरमा बसिरहेका छन् । एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन तीन सयभन्दा बढी डुङ्गा पनि त्यहाँ प्रयोग गरिएका छन् । 

भारतको गृह मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्षको वर्षायाम सुरु भएदेखि अहिले सम्म देशभर नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया