संविधानविरुद्ध मौसमी कुरा नगर्न कांग्रेसलाई प्रधानमन्त्री ओलीको आग्रह

 भदौ ३, २०७५ आइतबार १६:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिवद्धता जनाएकाले संविधानविरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दललाई सचेत गराउनुभएको छ । 

सबै मिलेर संविधान ल्याएको भन्दै उहाँले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेको जिम्मेवार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न नैतिकताले नदिने बताउनुभयो ।

उहाँले संविधान प्रतिको इमान्दारिता देखाउन कांग्रेसलाई आग्रह गर्नुभयो । राष्ट्रिय सूचना आयोगले राष्ट्रिय सूचना दिवसको अवसरमा आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शक्तिको उन्माद र स्वार्थको घेराभित्र रहेको संविधानको बर्खिलाप हुने गरी मौसमी कुरा नगर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘कहिले एउटा न्यायाधीश माथि झोक चल्यो भने दुर्बासा ऋषि रिसाएजस्तो गरेर उर्फिएर महाअभियोगको प्रस्ताव राख्दिन्छौं, कहिले सुनुवाई समितिको प्रक्रियामा उत्पात सुरु हुन्छ । यो उत्पात समितिको फैसला आएपछि होइन, त्यो भन्दा अगाडिदेखि नै सुरु हुन्छ । के भएको ? अचम्म लाग्छ । त्यस हुनाले मौसमी कुरा गर्नु हुँदैन हामीले ।’

प्रधानमन्त्री ओलीले संविधानमा सहमति जनाइसकेपछि अधिकार छ भन्दैमा, संख्या पुग्छ भन्दैमा सरकारले शक्तिको दुरुपयोग नगर्ने स्पष्ट पार्नुभयो । अहिलेको सरकारले आवेग, उत्तेजना, आग्रह वा शक्तिको दुरुपयोग हुने दृष्टिले काम नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले प्रतिपक्षी दलले सरकारका हरेक निर्णयलाई जबरजस्ती राजनीतिकरण गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले राज्यका निकायहरुमा राजनीतिक विचारका आधारमा नभई विषय विज्ञताका आधारमा नियुक्ति हुने दाबी गर्नुभयो ।

उहाँले संविधानमा नै सूचनाको हक सरकारमा भए दिने र नभए लिने भनेर लेखेको र त्यसमा हस्ताक्षर गरेकाले सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । संविधानको पालना सबैले गर्नुपर्ने तर्फ पनि उहाँले सचेत गराउनुभयो ।

उहाँले राष्ट्रिय आवश्यकता बोधबाट मात्रै संविधान संसोधन हुने स्पष्ट पार्नुभयो । साना–तिना विषयलाई सम्बोधन गर्ने नाममा संविधान जस्तो विषयलाई हेलचेक्र्याई गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

एक वर्ष अगाडि बनेको कानुन कार्यान्वयनको समयमा चौतर्फी प्रहार गर्ने काम भएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया