नयाँ ऐन आएपछि दैलेखमा पहिलो मुद्दा पुरुषबाट सम्बन्ध विच्छेद दर्ता

 भदौ ३, २०७५ आइतबार १९:३८:७ | अमर सुनार
unn.prixa.net

दैलेख – पुरुषले पनि श्रीमतिविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानूनी व्यवस्थाको प्रयोग गर्दै दैलेख जिल्ला अदालतमा आइतबार एउटा मुद्दा दर्ता भएको छ । 

भदौ १ गतेदेखि लागू भएका पाँचवटा नयाँ कानूनमध्ये ‘मुलुकी देवानी कार्यविधि (सहिंता) ऐन २०७४मा उल्लिखित व्यवस्थाको प्रयोग गर्दै मुद्दा दर्ता भएको हो । 

महाबु गाउँपालिका वडा नं. २ का २६ वर्षीय इन्द्रबहादुर रानाले आफ्नी पत्नी २६ वर्षीया नन्दसरा गुरुङ्ग रानाविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको दैलेख अदालतका प्रवक्ता बिनोद आचार्यले जानकारी दिनुभयो । 

‘मुलुकी देवानी (सहिंता) ऐन २०७४’को दफा ९४ को अधिकार प्रयोग गरी मुद्दा दर्ता भएको श्रेस्तेदार अधिकृत रमेश श्रेष्ठले बताउनुभयो । उहाँले पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेर आएको यो जिल्लाकै पहिलो मुद्दा भएकोे श्रेष्ठले बताउनुभयो । 

नयाँ ऐनहरु लागू भएपछि दैलेख जिल्ला अदालतमा परेको यो पहिलो मुद्दा हो । 

नयाँ कानून आउनु अघि महिलाले सम्बन्ध विच्छेद गर्न चाहेमा सोझै अदालतमा र पुरुषले चाहिं स्थानीय तहको न्यायिक समितिमार्फत सम्बन्ध विच्छेद मुद्दा दिनुपर्ने र स्थानीय तहमा एक वर्ष छलफल चलाएर मिल्न नसकेमात्र स्थानीय तहले अदालत पठाउने गर्दथ्यो । 

दैलेख जिल्ला अदालतमा दर्ता भएको कूल २ सय १० मुद्दामध्ये सबैभन्दा धेरै ८० वटा मुद्दा सम्बन्ध विच्छेदसम्बन्धी थिए । ती मध्ये भगवतीमाई गाउँपालिका–४ का दीर्घराज अधिकारीले सत्यदेवी अधिकारी विरुद्ध र दुल्लू नगरपालिका–१३ का रेशमबहादुर शाहीले रञ्जना मल्लविरुद्ध स्थानीय तहमार्फत पठाएका सम्बन्ध विच्छेदका मुद्दा बाहेक अरु ७८ वटा महिलाहरुले सोझै अदालतमा दिएका मुद्दा भएको दैलेख जिल्ला अदालतका डिट्ठा धर्मराज न्यौपानेले जानकारी दिनुभयो । 

नयाँ कानून अनुसार दैलेख जिल्ला अदालतमा दर्ता भएको पहिलो मुद्दा सम्बन्ध विच्छेदको आएकोमा आफूलाई खुशी नलागेको नेपाल बार एशोसियशन जिल्ला अध्यक्ष यामराज थापाको टिप्पणी छ । 

समाजमा पारिवारिक विखण्डनको ठूलो समस्या रहेको यो घटनाले देखाएको उहाँको बिश्लेषण छ । 

सम्बन्ध विच्छेद गर्न पाऊँ भनी दिएको फिरादपत्रमा इन्द्रबहादुरले आफूले विदेशबाट पठाएको रकम हिनामिना गरेको आरोप लगाउनुभएको छ ।

विपक्षी बनाइएकी नन्दसरा गुरुङ्ग रानाले आफूमाथि भूmठो आरोप लगाइएको बताउँदै अदालतमा प्रतिवाद गर्ने बताउनुभयो । विवाह भएको नौ वर्षको अवधिमा उहाँहरुको सात वर्षको एउटा छोरा छ । नन्दसराले सदरमुकाममा व्यापार गर्नुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Pramod puri

    Aug. 19, 2018, 9:23 p.m.

    देश को बिकास मा यो नया कानुन राम्रो देखि दैना

  •  0 Reply

तपाईको प्रतिक्रिया