युवती एक्लै हिँड्न डराउँछन्, आमाबाबुलाई छोरी हुर्काउन चिन्ता

 भदौ ४, २०७५ सोमबार ११:५०:१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – शुक्लाफाँटा ८ बेल्डाँडीका शंकर साउद अघिल्लो बुधबार जिल्ला प्रहरी कार्यालयमा भेटिनु भयो । एसईईको पुरक परीक्षा दिन महेन्द्रनगर आएकी १७ वर्षीया बहिनी परीक्षा दिएर दिउँसोसम्म कोठामा नफर्किएपछि उहाँ बहिनीको खोजीका लागि उजुरी दिन प्रहरी कार्यालय पुग्नु भएको थियो ।

अघिल्लो दिन मात्रै साथीहरुसँग पहिलो पटक महेन्द्रनगर आएकी बहिनी परीक्षा सकेर निस्किएकी शंकर साउदले बताउनुभयो । 

‘विद्यालयमा गएर हाजिरी हेरेको परीक्षा दिएको देखिन्छ’, शंकरले भन्नुभयो ‘त्यसपछि न कोठामा आएको छ, न कुनै साथीको घरमा भेटियो ।’

परीक्षा सकिएपछि पार्वती कहाँ गइन् भन्ने न कोठामा सँगै बसेका साथीलाई थाहा थियो, न परिवारलाई ।

पहिलो पटक महेन्द्रनगर आएकाले बाटो बिराएर अलमलमा परिन् कि भन्ने प्रहरीको आशंका छ । तर, सामान्य मोबाइल समेत चलाउन नजान्ने र परिवारमा कसैको फोन नम्बर पनि थाहा नभएकाले अन्य कुनै समस्या पो आइलाग्यो कि भन्ने परिवारको डर थियो ।
 
पार्वतीको परिवार एउटा उदाहरण मात्र हो । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि गाउँमा त्रास फैलिएको छ । विद्यालय र काममा गएका छोरी घर नफर्किएसम्म आमाबुवालाई चिन्ता बढेको छ भने युवतीहरु पनि एक्लै हिँड्न डराउन थालेका छन् । 

साउनमा मात्रै ६ बालिका बलात्कृत

कञ्चनपुरमा साउन महिनामा मात्रै ६ जना बालिकाको बलात्कार भएको छ भने एक जना बालक यौन दुर्व्यवहारमा परेका छन् । 

गएको असार २६ गते किनमेल गर्न अत्तरिया गएकी कृष्णपुर ८ की एक बालिकाको बलात्कारपछि हत्या गरेर गाडिएको अवस्थामा ३१ गते शव फेला पर्योे । उनको हत्या भएको दुई साता नपुग्दै भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया अर्की किशोरीको बलात्कारपछि हत्या भएको छ । 

गाँउमा त्रास

दिउँसै बालिकाको बलात्कार गरी हत्या हुन थालेपछि आम नागरिकले सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । 

समाजमा बलात्कार र यौन दुर्व्यवहारका घटना बढेसँगै अभिभावकहरुमा त्रास फैलिएको छ ।
 
एकातिर समाजमा बलात्कारका घटना बढ्दै जानु र अर्कातिर घटनामा संलग्न दोषी पत्ता नलाग्नुले पनि आम नागरिकमा त्रास फैलिएको हो ।

दिनहुँजसो बलात्कारका घटना हुन थालेपछि क्याम्पस जाने छोरीहरु घरमै बस्न थालेको भिमदत्त नगरपालिका १८ की लक्ष्मी भट्टले बताउनुभयो । उहाँले समाजमा देखिएको विकृतिका कारण छोरीलाई कोठामा बन्द गरेर राख्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले आफूहरुलाई सुरक्षाको अनुभूति नभएको बताउनुभयो । 

छोरीहरु घर बाहिर मात्रै नभइ घरभित्रै पनि सुरक्षित नभएको आमाहरुको दुखेसो छ । 

‘अब त छोरीलाई हुर्काउनै गाह्रो भयो’, स्थानीय गंगादेवी भट्टले भन्नुभयो ‘उमेर पुगेका भन्दा साना नानीहरुलाई जोगाउन अझै कठिन छ ।’ घर बाहिर गएका छोराछोरी घर नर्फिएसम्म मनमा डर भइरहने उहाँले बताउनुभयो । 

‘छोराछोरी कतै गए भने घर फर्किने हुन कि होइनन् भन्ने डर छ’, भट्टले भन्नुभयो ‘अचेल त छोरीलाई मात्रै होइन छोरालाई पनि एक्लै कतै जान दिन डर लाग्छ ।’

आपराधिक घटना बढ्दै 

लागूऔषध, दूव्र्यसनी, लगायतका कुलतले गर्दा हत्या ,हिंसा तथा बलात्कारका घटना बढेको प्रहरीको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्ने हो भने गए वर्ष १७ वटा बलात्कारका घटना भएका छन् । यस्तै, २१ जनाको हत्याको हत्या भएको छ । बलात्कार उद्योगमा १५ वटा र ज्यान मार्ने उद्योगमा १५ वटा उजुरी परेका छन् भने फुटकर ज्यान सम्बन्धी २५ वटा मुद्दा छन् । 

सुरक्षाको प्रत्याभूति भएन

युवती तथा बालिका एक्लै हिँड्न डराउन थालेका छन् । उनीहरु घर बाहिर कतै जानु परे कि परिवारका सदस्यसँगै जान्छन् कि साथीहरुसँग जाने गर्छन् । 

बलात्कारको घटना बढेपछि आफूहरुलाई परिवारले एक्लै हिँड्न नदिएको भिमदत्त नगरपालिका २ की जयन्ती भट्टले बताउनभयो । 

‘त्यो बाटो एक्लै पनि धेरै हिँडे । अरु मान्छे पनि हिँडिरहने भएकाले पहिले त्यस्तो केही डर लाग्थेन’, जयन्तीले भन्नुभयो ‘अहिले परिवारले पनि एक्लै हिँड्न दिदैनन् । आफूलाई पनि एक्लै हिँड्न डर लाग्छ ।’

१३ वर्षीया बालिकाको दिउँसै बलात्कार गरी हत्या भएपछि उल्टाखाम, बागफाँटा लगायतका क्षेत्रका बालिका तथा युवतीले हिँड्ने बाटो नै परिर्वतन गरेका छन् । स्थानीयका अनुसार खोलापारीको उखुबारीबाट केटाहरुले सिटी बजाउने र नाङ्गै मान्छे समेत देखिने गरेको थियो । 

‘एकपटक मैले पनि उखुबारीमा नाङ्गै मान्छे देखेकी थिएँ’, जयन्तीले भन्नुभयो, ‘त्यसपछि त्यो बाटो त्यति धेरै हिँडिन । घटनापछि त क्याम्पस जाँदा पनि साथीहरुसँग लामो बाटो भएर जान्छु ।’

एकान्त ठाउँ लागूऔषधको दूव्र्यसनीमा परेका युवाहरुको अखाडा हुने गरेकाले प्रहरी बिट राख्न र गस्ती बढाउन स्थानीयले नगरपालिकासँग माग गरेको भिमदत्त नगरपालिकाका उपप्रमुख सुशीला सिंह चन्दले बताउनुभयो । 

‘स्थानीयले यस क्षेत्रमा प्रहरी बिट राख्न हामीसँग माग गरेका थिए’ उपप्रमुख चन्दले भन्नुभयो, ‘नगरप्रमुखको संयोजकत्वमा बसेको बैठकमा मैले पटक पटक प्रहरी प्रमुखसँग योबारे कुरा गर्दा उहाँले हाँसेर उडाउनुभयो ।’

स्थानीयले घटना हुनु पूर्व नै सो क्षेत्रको सुरक्षा अवस्थाका बारेमा बताएपनि प्रहरीले बेवास्ता गरेको उहाँको गुनासो छ । 

दरबन्दी भन्दा बढी प्रहरी

कञ्चनपुरमा ६ सय ४३  दरबन्दी रहेकोमा हाल ७ सय ४७ प्रहरी कार्यालयरत छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मात्रै ९५ जना प्रहरी छन् । तर, जिल्लाको आवश्यकता अनुसार प्रहरी नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरीक्षक ज्ञान बहादुर सेटीले बताउनुभयो । 

प्रहरीको संख्या दरबन्दीभन्दा बढी देखिएपनि नयाँ पोष्ट थपिने गरेकाले पोष्टमा खटाउनु पर्ने बताउँदै गस्तीका लागि प्रहरीको अभाव हुने गरेको उहाँले गुनासो गर्नुुभयो ।

उहाँका अनुसार विभिन्न तालिम, बिदा र काजमा बस्ने गरेकाले आवश्यकता अनुसार प्रहरीको पूर्ति हुन सकेको छैन । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • दिपक

    Aug. 20, 2018, 4:23 p.m.

    ब्ल्तकारिलाई कालो पट्टि अँखामा बाधेर दिउसै मानिसको भिड जम्मा गरेर ड्यामका ड्याम गोलि नठोकि हाम्रा चेलिहरु सुरक्षीत हुन्न। एस्तो घटना बरम्बार घटनु निकै गम्भीर समस्या हो। यसलाई यहि उपाय नगरे अझै हजारौं चेलीहरु नरपिचासहरुको सिकार बन्न बाध्य हुनेछन।

  •  0 Reply

तपाईको प्रतिक्रिया