सामाजिक सञ्जालका विज्ञापनलाई करको दायरामा ल्याउन प्रविधि समितिको निर्देशन

 भदौ ४, २०७५ सोमबार १५:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय संसद विकास तथा प्रविधि समितिले फेसबुकसहितका सामाजिक संजालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सामाजिक सञ्जालको विज्ञापनबापत ठूलो रकम बाहिरिएको भन्दै करको दायरामा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले अत्याधुनिक प्रविधिको प्रयोग गर्न सक्ने कानुनी व्यवस्था गर्न संसदमा छिटो विधेयक पेश गर्न पनि सरकारलाई निर्देश गरेको छ । सूचना र प्रविधिको भरपुर उपयोग हुने गरी कानुनी व्यवस्था गर्न सरकारलाई छिटो विधेयक संसदमा पेश गर्न पनि सचेत गराइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिनुभयो ।

समितिले फोर जी सेवा विस्तार, टेलिकमको गुणस्तरमा सुधारलगायतमा देखिएको समस्या समाधानका लागि भइरहेका कामको विवरण १५ दिन भित्र समितिमा पेश गर्न पनि संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

काभ्रेमा रहेको आईटी पार्कलाई उद्देश्य बमोजिम प्रयोगमा ल्याउने वातावरण बनाउन पनि सरकारलाई सचेत गराइएको समितिका जेष्ठ सदस्य लामाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया