कांग्रेस नेताले नेविसंघकै नेता कुटे, भन्छन् : अस्पताल भर्ना भएर नाटक गर्छन्

 भदौ ४, २०७५ सोमबार १७:४१:५६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – क्याम्पस सञ्चालकसमेत रहेका पूर्वसांसद मैकुलाल बाल्मिकीले सोमबार नेपालगञ्जमा नेविसंघ नेता चन्द्रप्रकाश देवकोटालाई कुटपिट गरेका छन् । 

बाल्मिकी सञ्चालक रहेको नेपालगञ्ज हेल्थ कलेजमा कुटिएका  महेन्द्र बहुमुखी क्याम्पस नेविसंघ कार्यवाहक इकाई सभापति चन्द्रप्रकाश देवकोटाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भैरहेको छ ।

बाल्मिकी दोश्रो संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा सभाषद बन्नुभएको थियो । विद्यार्थी संगठनले राखेका मागबारे क्याम्पसमा वार्ताका लागि बोलाएर विद्यार्थी नेतालाई कुटपिट गरिएको नेविसंघका इकाई सभापति चेतनारायण शर्काले जानकारी दिनुभयो । 

अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का राजेन्द्र बडुवालले २०७३ असोजमा नेपालगञ्ज हेल्थ कलेजमा ल्याब असिस्टेन्टमा भर्ना भइ एक वर्ष अध्ययन गरेपछि  वार्षिक परीक्षाबाट वञ्चित गरिएको भन्दै नेपाल विद्यार्थी सङ्घ सीटीईभीटी केन्द्रीय समन्वय समिति र प्रदेश समितिले गएको साउन ३१ गते क्याम्पसमा तालाबन्दी गरेको थियो । विद्यार्थीलाई वार्षिक परीक्षामा सामेल गराउन पटक–पटक  आग्रह गर्दा पनि  सञ्चालक बाल्मिकीले विद्यार्थीको फर्म नबुझेको र कुटपिटमा उत्रिएको नेविसंघको दावी छ । 

यसै विषयलाई लिएर छलफलका लागि सोमबार क्याम्पस पुगेका देवकोटा र सीटीईभीटी नेविसङ्घका केन्द्रीय उपाध्यक्ष सुरज थापामाथि सञ्चालक बाल्मिकी सहितको समूहले निर्घात कुटपिट गरेको नेविसंघले जनाएको छ । 

घटनापछि प्रहरीले विद्यार्थी नेताको उद्दार गरेको हो । नेविसङ्घका नेता शर्माले विद्यार्थी कुट्ने आप्नै पार्टीका नेता भए पनि कारबाहीका लागि दबाबमूलक कार्यक्रम गरिने बताउनुभयो । संयुक्त विद्यार्थी संगठनको बैठक बसेर आन्दोलनका कार्यक्रम ल्याउने उहाँको भनाई छ । 

क्याम्पस सञ्चालक समेत रहनुभएका बाल्मिकीले भने आफूले कसैलाई कुटपिट नगरेको बताउँदै यो नेपाली काङ्ग्रेसको गुटगत विवाद भएको दावी गर्नुभयो । ‘उहाँहरु कोइराला पक्षको, बाल्मिकीले भन्नुभयो, म देउवा पक्षको  सामान्य विवाद भएको हो, अस्पताल भर्ना भएर नाटक गरेका छन्’ उहाँले भन्नुभयो । 

वार्ताका क्रममा आन्दोलनरत नेविसंघका नेताले आफ्नो सर्टको कलर समातेपछि आफ्नो पक्षका नेविसंघकै विद्यार्थीले प्रतिकार गर्दा आफू र देवकोटालाई सामान्य चोट लागेको उहाँको भनाई छ ।

बाल्मिकीले सीटीईभीटीको नियम अनुसार आफूले निर्णय गरेको भन्दै सीटीईभीटीले दोषी ठहर गरे सजाय भोग्न तयार भएको बताउनुभयो । तालाबन्दी गरी विद्यार्थी नेताले दुईलाख ५० हजार रुपैयाँको बार्गेनिङ्ग गरेको उहाँको दावी छ । 
 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया