स्थानीय तहमा प्रभावकारी बन्दै बैंकिङ सेवा

 भदौ ७, २०७५ बिहिबार ११:१६:२६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामका स्थानीय तहमा बैंकको स्थापना भएसँगै बैंकिङ सेवा प्रभावकारी बन्दै गएको छ ।

एक वर्षसम्म बैंकिङ कारोबारका लागि सदरमुकाम आउजाउ गर्दा उपभोक्ता समिति, सामाजिक सुरक्षा भत्ताका लाभग्राही समस्यामा परेका थिए । स्थानीयमा नै बैंकको कारोबार हुने व्यवस्था मिल्दै गएपछि भने सेवाग्राही, स्थानियवासी र कर्मचारी समेत हर्षित भएका छन् ।

स्थानीय तहबाट नागरिकलाई सहज तथा गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले जिल्लाका १० स्थानीय तहमा नै पछिल्लो समय बैंक स्थापना भएका छन् । प्रति तहमा एक–एक वटा बैंकको स्थापना हुँदा दिन नै माया मारेर कारोबार गर्नु पर्ने बाध्यता जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीका लागि हट्दै गएको रोङ्ग गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राई बुढाथोकीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘रोङ गाउँपालिकामा मेघा बैंक स्थापना भएको केही महिना बितिसकेको छ । सबै जनप्रतिनिधिको खाता खोल्ने कार्य सकिएको छ । सामाजिक सुरक्षा भत्ता, शिक्षक तलब जस्ताको भुक्तानी गर्ने कार्य समेत गाउँपालिकाबाटै हुने व्यवस्था मिलाएका छौँ । स्थानीय तहमा नै बैंकिङ्ग सेवा उपलब्ध हुँदा स्थानीयलाई समेत सहज भएको छ ।’

पहिले सेवा लिन र दिन निक्कै गाह्रो थियो । एक दिनको समय नै माया मारेर गाडीमा दुई घण्टासम्मको यात्रा गर्नु पर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेर गएको उपाध्यक्ष राई बुढाथोकीको भनाई छ । 

उहाँका अनुसार रोङ्ग छिमेकी जिल्ला झापाको सिमानासँग जोडिएको गाउँपालिका भएकाले गाडीमा ४५ मिनेटको यात्रा गरेर झापाका बैंकबाट सेवा लिने स्थानीयहरु यस गाउँपालिकामा पनि आउने गर्छन । अहिले भने स्थानीय तहमा नै सेवा लिन पाइने भएपछि स्थानीयले समेत मेघा बैंकमा नै खाता खोल्न थालेका छन् ।

यस्तै माङ्गसेबुङ्ग गाउँपालिकालाई समेत स्थानीय स्तरमा नै बैंक खुलेपछि कारोबारमा सहज भएको छ । माङ्सेबुङ्गमा सिटिजन बैंक खुलेको छ । विगतमा देउमाई नगरपालिकाको मंगलबारे, झापा, इलाम नगरपालिकाबाट बैङ्किङ्ग कारोबार गर्नुपर्ने बाध्यता थियो । अब त्यो समस्या हटेकाले समयको बचत भएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको भनाई छ ।

माईजोगमाई गाउँपालिकाका स्थानीयवासी दिपेन लिम्बु भन्नुहुन्छ, ‘स्थानीय तहमा बैंकिङ्ग सेवा सुरु भएपछि समय सँगसँगै पैसाको समेत बचत भएको छ । पहिला बैंकको सेवा लिँदा दुई दिन नै समय खेर जान्थ्यो । अहिले एक घण्टामा पैदल यात्रा गर्दा नै सेवा लिन पाएका छौँ । बैंकसँगै मनी ट्रान्सफर आईएमई समेतको सुविधा पाएका छौँ । यसले समय र रकम दुवैको बचत गरेको छ ।’ 

फाकफोकथुम गाउँपालिकामा सानिमा बैंक, चुलाचुली गाउँपालिकामा एमएमबी बैंक, सन्दकपुर गाउँपालिकामा प्रभु बैंक, माइनगरपालिकामा सानिमा बैंक, माइजोगमाई गाउँपालिकामा सिभिल बैंक स्थापना भएर काम गरिहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया