‘लता मंगेशकरले ‘बाचुन्जेलीलाई’को डमी सुन्न मात्र तीन वर्ष लगाइन्’

 भदौ ९, २०७५ शनिबार १२:४८:० | दिलिप कुमार ज्याेति
unn.prixa.net

‘हिन्दी गीत गाउन लगाउन त म सम्भव ठान्दिन थिएँ, तर नेपाली गीत चाहिँ गाइदिए हुन्थ्यो लता दिदीले भन्ने इच्छा थियो मेरो । नेपाल आउँदा ‘छुकछुके रेल’ एकदम हिट भएको पाएँ । यसले मलाई यो प्रोजेक्टमा लाग्न थप हौसला प्रदान गर्‍यो । मैले रामकृष्ण दाइलाई पनि भनेको थिएँ, लता मंगेशकरसँग काम गर्न खोजिराछु ।’ 

‘सकिन्छ र ! सक्छौ !’  एकदम उत्सुक र प्रफुल्लित मुद्रामा रामदाइले भन्नुभएको थियो । 

दशकौंपछि लता मंगेशकरले नेपाली गीत गाएकी थिइन् । नेपाली संगीत उद्योगदेखि यस गीतका गीतकार आनन्द अधिकारी र युगल गायनमा साथ दिने गायक रामकृष्ण ढकालको लागि पनि यो एउटा इतिहास थियो । मेरो लागि त जीवनको सबैभन्दा अमूल्य र अविस्मरणीय क्षण ।’ 

७—८ वर्षअघि करियरमा कोसेढुङ्गो बनेकोे ‘बाचुन्जेलीलाई’ गीतको सम्झना गर्दा संगीतकार शिखर सन्तोषका हर्षित मुद्रामा भावुक भए ।

फूल भन्छ फुलिरहूँ, जुन भन्छ चम्किरहूँ
मन त भन्छ सबैसँग माया मोह राखिरहूँ
बाचुन्जेलीलाई बाचुन्जेलीलाई ...............

‘फूल शब्द दीर्घ गाउँदा अलि तान्नु पर्ने रैछ, मैले फूल शब्दलाई आफ्नै तरिकाले गाएँ’ सन्तोषले भने, ‘आपने ओ जो फूल शब्द गाया हे ना, ओ फुल नहिं, फूल होता हे, लता दिदीले हाँस्दै भन्नुभयो । ल अब यत्तिले गर्दा दिदीले गीतै नगाउने हो कि भन्ने लागिहाल्यो मलाई । रेकर्डिङको केही दिनअघि लता मंगेशकरलाई  हारमोनियममा यो गीत सुनाएको थिएँ ।’ 

भारतीय संगीत उद्योगकी साक्षात सरस्वतीकी प्रतिमूर्ति मानिने लता मंगेशकरको सामु गीत सुनाउनु चानचुने कुरा होइन । हात थरथर काँपेको थियो हारमोनियम बजाउँदा । 

सन्तोषले सम्झिए, ‘सानो उमेरको ठिटो म, त्यसमाथि शारीरिक बनोट पनि सानो कदको । एकदमै फुच्चे देखिन्थें म । पुरै ‘नर्भस’ थिएँ । ‘गानेका मेलोडी अच्छा हे । आप तो गुरु हुए अब हामारे’’ । लता दिदीले हाँस्दै प्रोत्साहित गरेपछि मलाई गीत सुनाउँन आँट आएको थियो । साक्षात सरस्वतीको बरद हातले शीरमा स्पर्श गरेकाे महसुस भैरहेको थियो । 

एउटा गीत लता दिदीले गाइदिए हुन्थ्यो भनेर आज पनि उहाँको घर बाहिर हार्मोनियम लिएर संगीतकारहरु लाम लाग्छन् । कतिले त यही आसमा जीवन कटाएका छन् । यस्तो अगाध आस्था र सम्मान मैले अरु कलाकारप्रति दर्शाएको आजसम्म देखेको छैन । यति महान कलाकारलाई भेट्नु त परै जाओस् प्रत्यक्ष देख्नसम्म मुस्किल छ आज पनि । 

‘बाँचुन्जेलीलाई गीतको डमी बनाएर बुझाएको थिएँ, उहाँको कार्यालयमा । नगाए पनि एकपटक सुनिदिए मात्रै पनि हुन्थ्यो भन्ने लागिरहन्थ्यो । ६—६ महिनामा एकपटक कार्यालयमा सम्पर्क गर्थें । आकाशको जुन अघिल्तिर धर्तिको धुलो समान थियो मेरो अवस्था । कचकच गर्न पनि नमिल्ने । न भनसुनले चल्ने । म जस्ता लाखौंको लाम थियो डमी सुनाउनेको । आशा निराशा दुवैले गाँजेको थियो मलाई’ सन्तोष संघर्षका दिन सम्झन्छन् ।

सन्तोषले फेरि सम्झिए, ‘तीन वर्षपछि दिदीले गीतको ‘डमी’ सुनेको खबर पाएँ । केही उत्साह जाग्यो । कमसेकम सुन्नु त भयो मेरो ‘कम्पोजिशन’ भन्ने लाग्यो । एकदिन अचानक फोन आयो ‘दिदीने आपको बुलाया हे’ भनेर । मेरो हर्षको सीमा रहेन । 

‘‘अच्छा हे ‘चाङ्ला हे’ शब्द भि, संगीत भि अच्छा हे । बडा अच्छा बेस आवाज हे ।

ए डमी किस्ने गाया हे ?’’ दिदीले सोध्नुभयो । रामकृष्ण दाइको बेलिबिस्तार लागाएँ मैले । ‘‘बडा अच्छा पहाडी आवाज हे । नेपाली गाना मेने बहोत साल पेहेले जयदेवजी के कम्पोज मे गाया था, वाहाँ के महाराजके गाने ।’’ 

करिब ४५ मिनेटमा यो गीत कम्प्लिट गर्नुभएको थियो लताले । ‘गीतको स्थायी सुरु गर्दा नै एकप्रकारको ‘भाइब्रेशन’ले पूरै स्टुडियो गुञ्जायमान हुने । उहाँको भोकलको ‘थ्रोइङ पावर’नै गजब । इश्वरीय देन भन्छु म यसलाई कसैले चाहँदैमा वा रियाज गर्दैमा पाउनसक्ने आवाज र गायकी होईन यो । साक्षात सरस्वती हो लता दिदी ।’ सन्तोष रेकर्डिङको पल सम्झँदै भन्छन् ।

‘लता दिदीले ‘बाँचुन्जेलीलाई’को डमी सुन्नमात्र तीन वर्ष लगाउनुभयो । त्यसको दुई वर्षपछि यो गीत रेकर्ड भएको थियो । गीत रेकर्ड भएपछि म काठमाडौं आएँ । रामकृष्ण दाइलाई दिदीले गीत गाएको कुरा सुनाएँ । उहाँ त यति खुशी हुनुभयो कि आजसम्म पनि रामकृष्ण दाइ त्यति खुशी भएको देखेको छैन मैले’, सन्तोष भन्छन् । 

त्यसपछि रामकृष्ण ढकाल र सन्तोष मुम्बई गए । रामकृष्णको ‘भोकल’ पनि हाल्ने काम भयो। एरेन्जमेन्टको ड्राफ्ट किरण कँडेलले यतै तयार पारेका थिए । सन्तोष भन्छन्, ‘अरु बाजाहरु उतै हाल्याैँ यो गीतको । गीत कम्प्लिट भएपछि लता दिदीलाई पनि सुनायौं । दिदी स्टुडियोमै आएपछि केही कुराकानी पनि भयो ।’ 

लता मंगेशकरले दशकौंपछि नेपाली गीत गाएको भनेर ‘टाइम्स अफ इण्डिया ’लगायत अरु पत्रिकाहरुले पनि कभरेज गरेको सन्तोषलाई अझै ताजै लाग्छ । 

०५२ सालमा रत्नराज्य क्याम्पसमा संगीत पढ्न आएका शिखर सन्तोषले भिम विराग र भोला जोशी  जस्ता संगीतका अग्रजबाट संगीतको प्रारम्भिक शिक्षा पाएका थिए । संगीतकार भिम विरागकै सल्लाहमा  काठमाडौं छिरेका सन्तोष आईए दोश्रो वर्षको परीक्षा दिएर ०५५ सालमा एकाएक मुम्बइ नगरी छिरेका थिए ।

‘उदितनारायणको स्टारडमले मलाई सदैव आकर्षण गरिरहन्थ्यो । १८—१९ वर्षको अल्लारे उमेर थियो । मनमा संगीतका अनेक तरङ्ग मडारिन्थे । संगीतमै केही गर्छु म भन्ने भित्र भित्र मनमा चाहिँ लाग्थ्यो । हामफालेसी  ठूलै ठाउँमा फालौनँ भनेर मुम्बई लागेँ म’, सन्तोष सम्झन्छन् ।

मुम्बईको भारतीय विद्या भवनमा (माहाराष्ट्रियन) शाहाकारी गुरुसँग दुई वर्ष शास्त्रीय संगीतको अध्ययनपछि भारतीय सिने जगतका अग्रज गायक सुरेश वाडकरसँग उहाँकै संगीत स्कुल ‘आजिबासन‘मा तीन वर्ष सेमिक्लासिकल र लाइट संगीत सिकेका सन्तोषले एस.आर राजनसँग पनि केही समय संगीत अध्ययन गरे । मुम्बईमा पढाइसँगै प्रान्तीय भाषाका गीतहरुको कम्पोज पनि गर्थे सन्तोष । 

‘म खासमा गायक बन्न गएको थिएँ । संगीतकार लक्ष्मीकान्तको घरमै उहाँलाई गीत सुनाउने मौका पाएको थिएँ एक पटक । ‘बेटा तुम सिङ्गर से ज्यादा कम्पोजर अच्छे लगते हो’ भनेपछि म पूरै कम्पोज पट्टि लागेँ । उर्दु शब्दहरुको सही उच्चारण गर्ननै नजान्ने म । ‘नोख्ता’ भन्छन् नि ।’ 

‘हाम्रोमा संगीतलाई गहन रुपमा लिइँदैन । संगीत सिक्न भनेर गयो, सरगम रट्यो, दुई तीनवटा रागको बन्दिश सिक्यो गायक भै हाल्यो । यस्तो हल्का पाराले संगीतको ‘स’ पनि जानिंदैन र संगीतको स्तर माथि उठ्न पनि सक्दै । यसको मतलब नेपाली संगीत राम्रो छैन भन्न खोजेको होइन मैले ।’ 

भारतमा पहिले विद्यार्थीलाई विषय छनोट गर्न लागाइन्छ । शास्त्रीय संगीतमै विद्यावारिधि गर्ने कि, सेमिक्लासिकल, वेस्टर्न वा लाइट संगीत गर्ने भनेर । यही अनुसार वर्ग छुट्याइन्छ र कोर्स कम्प्लिट गरिन्छ । अनि बल्ल राम्रो स्टुडेन्ट निस्कन्छ । यो अभ्यास हाम्रोमा अझै छैन ।’ भारतीय संगीत र नेपाली संगीतबीचको अन्तर केलाउँदै सन्तोष भन्छन् ।
   
१३ वर्ष मुम्बई बसाईको दौरानमा शिखर सन्तोषले हिन्दी चलचित्र गायत प्रान्तीय भाषाका धेरै चलचित्रहरुमा संगीत भरेका छन् । ‘सियासत द पोलिटिक्स’, मुसा द मस्ट वाण्टेड’, उनका हिन्दी  र तीज (भोजपुरी), एक आवर तीन (मराठी) चलचित्रका गीतहरु बजारमा आइसकेका छन् । 

परिचय, चकलेट, कमलेको बिहे जस्ता नेपाली चलचित्रमा समेत संगीत भर्न भ्याएका सन्तोषले साक्षात, प्रेम डायरी, हलचल र सुभारम्भ जस्ता गीतीसंग्रहमा एकल संगीत दिएका छन् । ‘मलाई पुगेन यो वैंशले,’ ‘करेन्ट लाग्ला’, ‘लत लाग्यो’, जस्ता फास्ट बिटका रोमान्टिक नम्बरमा पनि सन्तोष जमेका छन् ।

हेटौंडाको कर्रामा जन्मेका सन्तोष कर्रा खोलाको पानी जस्तै चञ्चल छन् । सन्तोष लामिछाने नामबाट संगीतमा पदार्पण गरेका उनी मुम्बईमा सन्तोष शर्मा हुँदै अहिले शिखर सन्तोषको नामले नेपाली संगीत उद्योगमा छाइरहेका छन् ।   

अन्तिम अपडेट: कात्तिक ९, २०७५

दिलिप कुमार ज्याेति

कला मनाेरञ्जनमा कलम चलाउने ज्याेतिलाई फेसबुकमा भेट्न सकिन्छ। 

 

तपाईको प्रतिक्रिया