‘फ्याली’ र ‘सेते’ : भेडीगोठका सिपाही

 जेठ २९, २०७८ शनिबार १४:२३:१६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – खरमनी खर्क । बर्खा लागेपछि लकेतिर घाँस उम्रियो । विस्तारै गोठालाहरु खर्कतिर आउन थालेका छन् ।​ हुस्सु बढ्दै छ । हिमालबाट बत्तासिएर आएकाे चिसाे हावाबाट बँच्न भेडाहरु एकअर्कासँग गएर टाँसिन्छन् ।

गाेठालाहरु भेडालाई चराउन लमजुङ्का विभिन्न ठाउँबाट यहाँसम्म आइपुग्छन् । अहिले यसै खर्कमा आइपुगेको छ, दोर्दी गाउँपालिका–५, पाचोकका भीमराज गुरुङ र कुमार गुरुङको घुम्ती भेडीगोठ । उनीहरुको घुम्ती भेडीगोठमा डेढ सय हाराहारीमा भेडाबाख्रा रहेका छन् ।  दिनभरि भेडा चराउँछन् र राति त्यहीँ घुम्ती भेडीगोठमा निदाउँछन् ।

खर्कतिर गोठालाहरुको साथी हुने गर्छन् भोटे कुकुरहरु । जो, गोठका साथै भेडाबाख्राको सुरक्षामा हर समय खटिन्छन् । यो वर्ष फ्याली (कालाे कुकुर) र सेते (सेताे कुकुर) पनि गोठालासँगै पछिपछि लागेर खर्कमा आइपुगेका छन् ।

दिउँसोको समयमा गोठको सुरक्षा र रातको समयमा भेडाबाख्राको सुरक्षामा खटिन्छन्, यी दुई कुकुर । कुकुर भएपछि गोठालालाई पनि एक किसिमले ढुक्क हुन्छ । बाघले भेडा खाने डर कम हुन्छ । 

‘दिउँसो भेडाबाख्रा चराउन गइन्छ । त्यसैले गोठमै बाँधिन्छ कुकुर । यसले गोठको सुरक्षा गर्छ । गोठमा काेही, कसैलाई पस्न दिँदैन,’ भेडीगोठाला भीमराजले भन्नुभयो ।

फ्याली र सेते रातको समयमा भेडाबाख्राको बथानको सुरक्षामा खटिने उहाँ बताउनुहुन्छ । ‘रातभर भेडाबाख्राको सुरक्षामा खटिन्छन् कुकुर । जुनेली रातमा त कुकुरले नै चराउँछ भेडाबाख्रा,’ उहाँले गर्वका साथ भन्नुभयो ।यसरी पालिएका कुकुरलाई मकै, कोदोको खोले खुवाइन्छ । कहिलेकाहीँ मासु भात पनि । परि आए कुकुर आफैले पनि जङ्गली जनावरकाे शिकार गर्छन् ।

घुम्ती गोठका पशु चौपाया चराउँदै गोठालाहरु लेकबेसी गरिरहन्छन् । भेडीगोठाला घुम्ती गोठ लिएर जहाँ जहाँ पुग्छन्, त्यहीँ त्यहीँ पुग्छन् कुकुर पनि । भीमराजका अनुसार प्राय सबै भेडीगोठमा भोटे कुकुर राखिएका हुन्छन् । पालिएका हुन्छन् । गोठमा पालिएका कुकुर गोठका साथै भेडाबाख्राको सुरक्षामा खटिन्छन् । कुकुर साथमा भएपछि गाेठालाहरुलाई मस्त निद्रा लाग्छ । चाेरहरु तथा बाघभालु आए कुकुरले भुकेर ब्युँझाइदिन्छन् । 

‘कुकुर भेडीगोठको सुरक्षामा खटिन्छ । भेडीगोठको सिपाही भनेकै यिनै हुन्,’ भीमराजले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया