बिम्स्टेक सम्मेलनबारे सदनलाई प्रधानमन्त्री ओलीको जानकारी

 भदौ १२, २०७५ मंगलबार १४:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –सरकारले बिमस्टेक शिखर सम्मेलन बारे संघीय ससदलाई जानकारी गराएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै बिमस्टेक शिखर सम्मेलनबारे सदनलाई जानकारी गराउनुभएको हो । नेपाल आयोजक भएर आयोजना गरिएको बहुपक्षीय आर्थिक प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको मुख्य बैठक आउँदो बिहीबार १४ र शुक्रबार १५ गते काठमाडौंमा हुदैछ । बैठकको तयारी स्वरुप मंगलबार परराष्ट्र सचिवस्तरीय बैठक बसेको छ । प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका प्राथमिकता र सम्मेलनमा सहभागी हुन आउने राष्ट्रप्रमुख र सरकार प्रमुखले अन्य कार्यक्रमबारे पनि सदनलाई जानकारी गराउनुभयो ।

यसपटक बिमस्टेकले आफ्ना प्राथमिकताका १४ वटा र थप २ गरेर १६ वटा क्षेत्र निर्धाण गरेको उहाँले जानकारी दिनुभयो । उहाँले संगठनको रुपमा संगठन भन्दा पनि क्षेत्रीय विकासका लागि, क्षेत्रीय सहयोग र पारस्परिकताका लागि प्रभावकारी संगठनका रुपमा लैजाने उद्देश्यले २०१४ मा ढाकामा सचिवालय स्थापना गरिएको उल्लेख गर्नुभयो ।  

बिमस्टेकको प्राथमिकतामा ब्लु इकोनोमी र माउन्ेटन इकोनोमी दुई क्षेत्र थप गरिएको भन्दै उहाँले नेपालले गरिबी निवारणको मुद्धाको नेृत्वव गरिरहेको बताउनुभयो  । भारतले ४, थाइल्याण्डले ३ , बंगलादेश र म्यानमारले २ ÷२ वटा र श्रीलंका ,भुटान र नेपाले एक÷एक वटा क्षेत्रको नेतृत्व गरेको उहाँले स्पष्ट पार्नुभयो ।  

प्रधानामन्त्री ओलीले व्यापार, कनेक्टिभिटी, संगठित अपराधविरुद्धको अभियान, वातावरणजस्ता क्षेत्रलाई चौथो शिखर सम्मेलनले विशेष प्राथमिकता दिएको र यी विषयलाई प्रभावकारी कार्यान्वयन गर्न सक्रिय तथा प्रभावकारी सचिवालयको अपेक्षा गरिएको बताउनुभयो । उहाँले शिखर सम्मेलनमा बिमस्टेकको बडापत्र निर्माण प्रक्रिया पनि अघि बढाइने बताउनुभयो ।

श्रीलंका र म्यानमारका राष्ट्रपतिले नेपालको औपचारिक सद्भाव भ्रमण गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनपछि दुईपक्षीय साझेदारीका कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको उहाँले जानकारी गराउनुभयो ।

शिखर सम्मेलनमा सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको  भेटघाटको कार्यक्रम पनि राखिएको छ ।  

प्रधानमन्त्री ओलीले शिखर सम्मेलन गरिबी निवारणलाई मुख्य विषय बनाउँदै कनेक्टिभिटी लगायत विषयमा साझेदारी र सहकार्यलाई अघि बढाउने विषयमा महत्वपूर्ण हुने विश्वास लिएको बताउनुभयो ।

नेपाल, भारत, बंगालादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सम्मिलित भएर १९९७ मा सुरु गरिएको यो संगठनको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले शिखर सम्मेलनको आयोजना गरेको हो ।  शिखर सम्मेलन २-२ वर्षमा हुनुपर्ने भए पनि २० वर्षको अवधिमा यो चौथो शिखर सम्मेलन भएको छ ।

चौथो शिखर सम्मेलनपछि नेपालले श्रीलंकालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्नेछ ।  बिमस्टेकको अध्यक्ष राष्ट्र हुनेछ । बिमस्टेकको पहिलो सम्मेलन सन् १९९७ मा थाइल्याण्डमा भएको थियो । सन् २००८ मा भारतमा दोश्रो  र २०१४ मा म्यानमारमा तेश्रो शिखर सम्मेलन आयोजना भएको थियो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया