वर्षाले विद्यालय भवन भत्कियो

 भदौ १२, २०७५ मंगलबार १७:२९:३२ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – लगातारको वर्षाले बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ७ कठमडास्थित केदार माध्यमिक विद्यालयको ८ कोठे भवन भत्किएको छ । 

वर्षाले भवनको छत पूर्ण रुपमा नष्ट भएको विद्यालयका प्रधानाध्यापक विरेन्द्रबहादुर चन्दले बताउनुभयो । 

मंगलबार बिहान १० बजेतिर भवनको एककोठाको छत भत्केको र दिउँसो १२ बजेतिर पूरै भवनको छत भत्केको उहाँले बताउनुभयो । भवनको छत भत्किएपछि विद्यालयको पुस्तकालय पूर्ण रुपमा नष्ट भएको छ भने कम्प्युटरमा समेत क्षति पुगेको छ । कक्षा १२ सम्म पढाई हुने विद्यालयको ८ कोठे भवन भत्किएपछि पठनपाठनमा अवरोध पुगेको प्रधानाध्यापक चन्दले बताउनुभयो । 

विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरुलाई चौरमा पढाउनुपर्ने बाध्यता आइलागेको विद्यालयका शिक्षक प्रेमबहादुर बोहराले बताउनुभयो । वर्षातको समय भएकाले चउरमा पढाउन समेत समस्या भएको उहाँले बताउनुभयो । विद्यालय भवन भत्किँदा दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ । 

विद्यालयमा ४२० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको बढी कोठा भएको भवन भत्किएपछि पठनपाठनमा निकै समस्या भएको प्रधानाध्यापक चन्दले बताउनुभयो । विद्यालयको भवन पुनर्निर्माणका लागि सरोकारवालाहरुसँग आग्रह गरिएको विद्यालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया