संघीय सरकारले संविधान मिच्यो: आन्तरिक मामिला मन्त्री जमरकट्टेल

 भदौ १५, २०७५ शुक्रबार १५:२७:१० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले संघीय सरकारले संबिधान मिचेको आरोप लगाउनुभएको छ । 

प्रदेश मामिला समितिको आयोजनामा संघीयतामा प्रदेशको शासन, सुरक्षा र प्रदेश प्रहरी विषयक एक दिवसीय अन्तरकृया कार्यक्रमको शुक्रबार हेटौंडामा उद्घाटन गर्दै उहाँले अहिले प्रदेशको अधिकार संघीय सरकारले खोजेको आरोप लगाउनुभयो । 

संघीयतामा प्रदेशमा रहने प्रहरी ऐन कस्तो बनाउने भनेर प्रहरी नै बोल्ने बेला आएको बताउँदै जमकट्टेलले भन्नुभयो–‘सुरक्षा सम्बन्धी कानुन बनाई रहदा प्रदेशका प्रमुख डिआइजी, नेपाली सेना, सशस्त्र प्रहरी, अनुसंधान बोल्ने बेला आएको छ ।’

प्रदेश प्रहरी ऐन बनाउनका लागि आफूहरु त्यति नहतारिएको बताउँदै उहाँले भन्नुभयो–‘यो पहिलो चरणको छलफल हो । अब यस्ता छलफलहरु अगाडि बढाएर बिस्तारै प्रदेश प्रहरी ऐन बनाउन तिर लाग्छौ ।’

कार्यक्रममा तीन नम्बर प्रदेशको प्रदेश मामिला समितिका सभापति माधव पौडेलले यस प्रदेशमा शान्ति सुरक्षा कायम गर्नका लागि आफूहरु लागिपरेको बताउनुभयो ।

कार्यक्रममा तीन नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउँदै गरेको बताउनुभयो ।

कार्यक्रममा पूर्व एआइजी केदार साउद, नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा लगायतकाले प्रदेश प्रहरी ऐनका विषयमा प्रकाश पार्नुभएको थियो । 

कार्यक्रममा तीन नम्बर प्रदेशका सांसदहरु प्रेमबहादुर पुलामी, राजेन्द्र मान श्रेष्ठ, रिना गुरुङ, केशबप्रसाद पाण्डे लगायतकाले आफ्ना सुझावहरु राख्नुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया