पहिरोले आँखा अस्पतालकाे भवनमा क्षति पुगेपछि भान्साघरबाटै सेवा

 भदौ १६, २०७८ बुधबार १६:३२:१७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापमा रहेको एकमात्र आँखा अस्पताल जिल्ला सामुदायिक आँखा केन्द्रको भवनमा पहिरोले क्षति पुर्‍याएपछि स्वास्थ्यकर्मीहरूले भान्साघरमा राखेर बिरामीको आँखाको उपचार गर्न सुरु गरेका छन् ।   

गएकाे भदौ १३ गतेकाे वर्षाका कारण आएकाे पहिराेले आँखा केन्द्रको भवनमा क्षति पुर्‍याएपछि सेवा बन्द गरिएको थियो । भवन अभावमा आँखा जाँच गर्न आउने बिरामीहरू राखेर उपचार गर्ने ठाउँ नभएपछि अहिले भान्साका लागि बनाइएको एउटा एउटा काेठाबाट उपचार सेवा सुरु गरिएको तामाकोसी अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । 
    
टाढा–टाढाबाट आँखाको उपचार लिन आउने बिरामीहरूलाई उपचारविना नै फर्काउनुभन्दा तत्कालका लागि भान्सा तथा चमेना गृहका लागि निर्माण गरिएको एक कोठे भवनबाट सेवा दिइएकाे घिमिरेले बताउनुभयो । 

तामाकोसी अस्पतालमा आँखा जाँच गराउन आउनेको सङ्ख्या बढ्दै गएपछि स्व. जगदीश घिमिरेको पहलमा २०५७ सालमा तिलगङ्गा आँखा अस्पताल काठमाण्डौको सहयोगमा तामाकोसी अस्पताल परिसर रामेछापमा सामुदायिक आँखा केन्द्रको स्थापना भएको थियो । ​अस्पतालले केही वर्षअघि मात्रै ५० लाख रुपैयाँको लागतमा प्रिफ्याब भवन निर्माण गरी त्यही भवनबाट आफ्नो सेवा दिँदै आएको थियो । 
 
सामुदायिक आँखा केन्द्रमा अहिले रामेछापका साथै दोलखा, सिन्धुली, ओखलढुङ्गा र सोलुखुम्बुलगायतका जिल्लाबाट समेत नागरिकहरू आँखा जचाउन आउने गरेका छन् । 

यस आँखा केन्द्रमार्फत अहिलेसम्म रामेछापका चार हजार जनाको मोतिविन्दुकाे शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका इन्चार्ज उमेश तामाङले जानकारी दिनुभयो । 

तामाङ भन्नुहुन्छ, ‘अहिले दैनिक झन्डै ३५ देखि ४० जनासम्म सेवा लिन आउने गरेका छन् । आँखाको जाँच गर्न टाढा–टाढाबाट वृद्धवृद्धाहरू बढी मात्रामा आउने भएकाले उनीहरूलाई जसरी भए पनि उपचार गराएर पठाउनका लागि भान्साघरबाटै सेवा सुरु गरेका हाैँ । ’ 
    
पहिरोले क्षति पुगेको भवनको निरीक्षणका लागि तिलगङ्गा आँखा अस्पतालबाट प्राविधिकसहितको टोली रामेछाप आउने भएका छन् । 

तिलगङ्गाबाट आएको टोलीले निरीक्षण गरेपछि मात्रै भवन वरपर पुरिएको माटो हटाउने र नयाँ भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा छलफल हुने तामाकोसी अस्पतालका सचिव हिमाल ढुंगेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया