छोटो दूरीमा चल्ने सार्वजनिक गाडीले आफूखुसी भाडा असुल्न थाले

 असोज १९, २०७८ मंगलबार ८:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - छोटो दूरीमा चल्ने सार्वजनिक गाडीले आफूखुसी बढी भाडा लिन थालेका छन् । काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीले भाडा बढेको सूची देखाउँदै यात्रुबाट बढी भाडा उठाउन थालेका हुन् । न्यूनतम १४ रुपैयाँ भाडा तोकिए पनि अहिले यात्रुले २० रुपैयाँ तिर्न बाध्य छन्।

चार किलोमिटरसम्मको दूरीमा न्यूनतम १४ रुपैयाँ भाडा भए पनि यात्रुले यस अघि पनि १५ रुपैयाँ तिर्दै आएका थिए । छोटो दूरीको भाडा नबढे पनि यात्रु भने ६ रुपैयाँ बढी तिर्न बाध्य भएका हुन् । चालक–सहचालकले बढेको भाडादरको सूची नै देखाउने गरेका यात्रुको गुनासो छ ।

उनीहरुले देखाउने भाडादरकाे सूचीमा सरकारले असोज १५ गते गरेको निर्णय भनिएको छ । तर अहिलेसम्म छोटो दूरीमा भाडा नबढेको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले भाडाबारे आधिकारिक निर्णय नहुँदासम्म बढी भाडा असुलेको पाइएमा कारबाही हुने बताउनुभयो । यस्तै, यातायात व्यवस्था विभागले पनि भाडा नबढेकाले बढी भाडा लिन नपाइने जनाएको छ । सरकारले गएको असार २९ गते लामो तथा मध्यम दूरीमा २८ प्रतिशतसम्म भाडा बढाएको थियो ।

तर, काठमाण्डौ उपत्यका र जिल्लाभित्र चल्ने गाडीमा भाडा बढेको छैन । यातायात व्यवसायीले भने भाडा समायोजन गर्न माग गर्दै आएको छ । भाडा बढाउन माग गर्दै उनीहरुले हिजो काठमाण्डौमा गाडी तेर्स्याएर विरोध प्रदर्शन समेत गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया