बेपत्ता भएकी छोरीको बाटो कुर्दाकुर्दै थला परिन् सुशीला

 भदौ १९, २०७५ मगलवार १२:३३:३३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – टिनले छाएको सानो दुई कोठाको घर । वीरेन्द्रनगर १० खजुराकी सुशीला ओलीको दिनरात यही घरको एउटा कोठामा बित्छ । बाहिर जाउँ भने हातखुट्टा चल्दैन । कसैसँग बसेर कुरा गरौं भने स्पष्टसँग बोली पनि आउँदैन । खाना खाने समय भयो भने कोठामै ल्याइदिन्छन् । दिसापिसाब पनि कोठामा नै गराइदिन्छन् । खाटमा यताउता पल्टिन पनि गाह्रो हुन्छ । वर्षौंदेखि बेपत्ता भएकी छोरीको पखाईमा यसै गरी उहाँको समय बित्छ । तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको बेला उहाँकी छोरी बेपत्ता भएकी हुन् ।

वि.सं. २०५८ भदौ  ९ गते  स्कुल गएकी छोरी दीपालाई तत्कालीन माओवादीले लिएर गए । त्यसको दुई वर्षपछि सेनाले लिएर गएछन् । २०६० साउन २२ गतेदेखि छोरी बेपत्ता भइन । छोरीको खोजखबरका लागि उहाँ धेरै ठाउँमा धाउनुभयो । तर अझैसम्म पत्तो लाग्न सकेको छैन ।

सानो कोठामा  दिनरात बिताउनुहुन्छ । ‘अब त कतै जान सक्दिन’ अस्पष्ट आवाजसँगै हातको इशाराले उहाँले भन्नुभयो, ‘छोरीको बारेमा केही नबुझी नै मर्ने भएँ ।’ कोही घरमा पुग्दा उहाँ रोएर आफ्नो पीडा पोख्नुहुन्छ । छोरीकै पिरले उहाँ बिरामी हुनुभयो । उपचार गर्दा धेरै खर्च लाग्ने भएपछि परिवारले घरमा ल्याएर आयो ।  उहाँ भन्नुहुन्छ, ‘उपचार गर्ने पैसा छैन । सरकारले हामी दुःखी, गरिबलाई हेर्नुपर्ने हो, सन्चो हुन्थ्यो कि ।’

छोरी बेपत्ता भएको केही समयपछि श्रीमानको निधन भयो । एक छोरी र दुई छोरालाई जसोतसो उहाँले हुर्काउनुभयो । छोराहरु बेरोजगार छन् । कान्छी छोरीको विवाह भयो । अहिले उनी बिरामी भएपछि हेरचाह गर्न कान्छी छोरी उहाँसँगै बस्छिन् । ‘जेठीछोरीलाई पनि खोज्न सकिएन्’ भक्कानिदै उहाँले भन्नुभयोे, ‘आफू यस्तो भएँ । बाहिर कति जान मन लाग्छ । द्वन्द्वपीडितका कार्यक्रम कति हुन्छन्, तर जान सक्दिन ।’

द्वन्द्वपीडितका हरेक कार्यक्रममा गएर आफ्नो छोरी खोजिदिन आग्रह गर्ने उहाँ अहिले घरको एउटा कुनामा बस्न बाध्य हुनुहुन्छ । समयमै उपचार नपाउँदा अन्तिम समयमा आएर अस्पतालले उपचार सम्भव छैन भन्यो । अहिले उहाँलाई घरखर्च चलाउनका लागि एक गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ । उहाँले आफूले सक्ने बेलामा स्थानीय शान्ति समिति, स्थानीय नेतादेखि केन्द्रका नेतासँग भेट गरेर पनि छोरीको अवस्था पत्ता लगाउन आग्रह गर्नुभयो । अहिले उहाँको कसैसँग भेट हुँदैन । 

‘आमाले आफूलाई सन्चो हुनेबेलासम्म धेरै ठाउँमा धाउनुभयो, स्थानीय तहदेखि केन्द्रका नेताहरुसँग पनि भेट्नुभयो’ उहाँकी कान्छी छोरी राजकुमारी ओलीले भन्नुभयो, ‘पहिले नै उपचार पाएको भए आमाको अहिले यस्तो अवस्था आउँदैनथियो । डाक्टरहरुले अस्पताल राख्नुपर्छ  भन्दै थिए । उपचारमै अढाई, तीन लाख रुपैयाँ सकियो । राम्रोसँग उपचार गर्न बाहिर जान सक्ने अवस्था भएन ।’ 

सरकारले केही राहत दिए पनि न्याय दिन नसकेको उहाँले बताउनुभयो । ‘सरकारले मरेको कि जिउँदो छ भन्ने टुङ्गो लगाइदिएको भए आमालाई सन्तुष्टी हुन्थ्यो’ राजकुमारीले भन्नुभयो । 

स्थानीय शान्ति समिति सुर्खेतको तथ्याङ्क अनुसार सुर्खेतमा ३४ जना राज्य पक्ष र विद्रोही पक्षबाट बेपत्ता भएका थिए । 
 

अन्तिम अपडेट: भदौ २४, २०७५

मुना हमाल

सुर्खेतका उज्यालो सहकर्मी मुना हमाललाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया