सदनलाई प्रम ओलीको जानकारी : बिमस्टेक सम्मेलन अत्यन्तै सफलतापूर्वक सम्पन्न भयो

 भदौ १९, २०७५ मंगलबार १६:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –सरकारले बिमस्टेक शिखर सम्मेलन अत्यन्तै भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको संघीय ससदलाई जानकारी गराएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगबारको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा बिमस्टेक शिखर सम्मेलनबारे जानकारी गराउनुभएको हो । नेपाल आयोजक भएर आयोजना गरिएको बहुपक्षीय आर्थिक प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो । यसले नेपालले चाह्यो भने गर्न सक्दो रहेछ भन्ने सन्देश पनि प्रभावह गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । 

आफ्नो नेतृत्वको मूल समिति र विभिन्न ११ वटा समिति गठन गरी सम्मेलनको तयारीलाई पूर्णता दिने काम भएको उहाँले जानकारी दिनुभयो । उहाँले शिखर सम्मेलनमा सदस्य राष्ट्रका बीच अत्यन्तै सहजताका साथ बिमस्टेकको भावी दिशा र गन्तव्य तथा त्यसका विविध विधिका बारेमा साझा निकर्ष निकाल्ने काम भएको बताउनुभयो ।

उहाँले सम्मेलनबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा र सामथ्र्य अभिवृद्धि हुनुको साथै विश्वास बढेको बताउनुभयो । नेपालले सम्मेलन त्रुटीरहित ढंगले आवश्यक तयारी र सावधानीका साथ सम्पन्न गरेको तथा नेपालको परराष्ट्र नीतिको प्रमुख पक्षको रुपमा रहेको क्षेत्रिय कुटनीति थप प्रभावकारी भएको दावी प्रधानमन्त्रीले गर्नुभयो । कुशल कुटनीतिमा नेपालले सफलता प्राप्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो । 

आफूले सबै राष्टप्रमुख र सरकारप्रमुख संग छुटाछुट्टै भेटघाट गरेको र त्यस भेटमा आपसी पारस्परिकता, क्षेत्रीय समस्या र सरोकारका विषयलाई एक स्थानमा ल्याउनेबारे छलफल भएको उहाँले स्पष्ट पार्नुभयो । रिट्रिटमा पनि सबै राष्टप्रमुखबीच खुल्ला छलफल भएकाले फलदायी भएको उहाँले बताउनुभयो ।

शिखर सम्मेलनका क्रममा उर्जा क्षेत्रमा सहयोग आदान प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यो सम्झौता सदस्य राष्ट्रबीच उर्जा क्षेत्रको अभिवृत्ति र व्यापार प्रवद्र्धन गर्ने सम्बन्धमा निकै महत्वपूर्ण हुनुको साथै यसले नेपालले विद्युत उत्पादन गरी सदस्य राष्ट्रलाई बेच्न सक्ने बाटो खोलेको छ ।

चौथो शिखर सम्मेलनको घोषणापत्रले पञ्चशीलका सिद्धान्तहरु, सार्वभौम सत्ताको समानता, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सह–अस्तित्व तथा आपसी लाभका आधारमा बिमस्टेक सदस्य राष्ट्रहरुकाबीच सहयोग आदान प्रदान गर्ने प्रतिवद्धता पुनः व्यक्त गरेको छ । 

बंगाल क्षेत्रमा रहेका प्रचुर सम्भावनाहरुलाई यस क्षेत्रको विकास र सम्वृद्धिमा प्रयोग गर्नका लागि सहकार्य गर्ने, कनेक्टिभिटी व्यापार तथा लगानी लगायतका विषयमा केन्द्रीत रहेर सन् २०३० सम्ममा गरिबी निवारण गर्ने, बिमस्टेकलाई थप प्रभावकारी र नतिजामूलक बनाउने, बंगलादेशको ढाकामा रहेको बिमस्टेक सचिवालयलाई साधन स्रोत सम्पन्न बनाई क्षमता वृद्धि गर्ने प्रतिवद्धता  पनि व्यक्त भएको छ । 

बिमस्टेकलाई दक्षिण एवं दक्षिण पूर्वी एसियाबीचको गतिशील पुल बनाउने प्रतिवद्धता र दृष्टिकोण पनि सम्मेलनले राखेको छ । बिमस्टेकका कामकारबाही प्रभावकारी बनाउनका लागि स्थायी प्रकृतिको कार्यदल बनाई प्रक्रियालाई थप नियमित र गतिशील बनाउने प्रतिवद्धता पनि व्यक्त भएको छ ।

बिमस्टेकको लक्ष, संरचना, कार्यजिम्मेवारी, लगायतका  विषय समेट्ने गरी बिमस्टेक चार्टर बनाउनका लागि प्रारम्भिक मस्यौदा बनाउने कामको जिम्मा तोक्ने काम पनि भएको छ । यसले बिमस्टेकका आधार, उद्देश्य, गन्तव्य लगायत पक्षलाई समेट्ने छ । कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागि बिमस्टेक डेभलपमण्ट फण्डको स्थापना गर्ने निर्णय पनि भएको छ । सहयोगका विद्यमान १४ क्षेत्रलाई पुनर्संरचना गर्ने, बहुपक्षीय कुटनीतिलाई सबल बनाउने, बुद्ध सर्किटको स्थापना, हिमाली क्षेत्रको पर्यावरण र अर्थतन्त्रको संरक्षण र प्रवद्र्धन, प्रविधि हस्तान्तरणलाई थप प्रभावकारी बनाउन बिमस्टेक टेक्नोलोजी ट्रान्स्फर फेसेलिटिजको स्थापना गर्ने लगायत विषयलाई घोषणापत्रले समेटेको छ ।

सम्मेलनले बिमस्टेकलाई नयाँ उत्साह र गति प्रधान गरेको प्रधानमन्त्रीको भनाई थियो ।

शिखर सम्मेलनका क्रममा बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुखहरुले राष्ट्रपति विद्याभण्डारीसँग औपचारिक भेट गरेका थिए । केही सदस्य राष्ट्रका प्रमुखबीच नेपाल सरकारको दुई पक्षीय वार्ता पनि भएको थियो ।

सम्मेलनमा नेपालले बिमस्टेको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया