इन्डोनेसियामा नेपाली खेलाडीको पीडा देखेर म भक्कानिएको थिएँ : बिष्ट

 भदौ २१, २०७५ बिहिवार १५:२१:३५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – एसियाली खेलकुदमा नेपालको प्रदर्शन राम्रो भएन । आशा गरिएका तेक्वान्दो, जुडो, उसु, कराँते लगायतका खेलमा नेपाली खेलाडी विदेशी खेलाडी भन्दा निकै कमजोर देखिए ।

केही खेलमा प्रशिक्षकको विवाद अनि केही खेलमा संघ नै २ वटा हुँदा पनि समस्या देखियो । जुडोमा प्रशिक्षकबीच नै विवाद देखियो । खेलाडीले नै ‘म फलानोको प्रशिक्षणमा बाहेक खेल्दिनँ’ भन्ने अवस्था आयो । 

तेक्वान्दोमा पनि दुईवटा संघ भए । कुन संघ आधिकारिक भन्ने विवादकाबीच खेलाडी एसियाली खेलको लागि इन्डोनेसिया पुगेका थिए । पदक जित्ने तयारीका साथ जकार्ता पुगेका खेलाडीमा आत्मविश्वास नै देखिएन । दुई पटक एसियाली खेलकुदमा पदक जितेका दीपक विष्टको प्रशिक्षणमा रहेको नेपाली तेक्वान्दो टोलीले पनि कुनै पदक जित्न सकेन ।

एसियाली खेलकुदमा तेक्वान्दो खेलाडीको प्रदर्शन, सुधार, कमजोरी अबको रणनीतिका विषयमा अर्जुन पोख्रेलले तेक्वान्दोका प्रशिक्षक दीपक बिष्टसँग गरेको कुराकानी :

इण्डोनेसिया गएर आउनुभयो, कस्तो भयो एसियाली खेलकुद ?

सबैभन्दा ठूलो कुरा त तेक्वान्दो सबैभन्दा धरै आशा गरेको खेल थियो । हामीले यसपाली पदक जित्न सकेनौं । जुन आशा थियो त्यो निराशामा परिणत भएको छ । त्यसको लागि त सर्वप्रथम म माफी माग्न चाहन्छु । अब कुरा रह्यो खेलाडीको एक्पोजर र त्यहाँ खेलाडीहरुले गरेको प्रदर्शनको कुरा । चार वर्ष अगाडि इन्चोनमा भएको एसियाली खेलकुदमा भन्दा अहिले एकदमै राम्रो प्रदर्शन भएको छ । तर पदक आउन सकेन । एकदमै खड्किएको कुरा यही हो ।

एउटा कुरा के हो भने चार वर्षको अन्तरालमा अरु देशहरुले धेरै नै प्रगति गरेको पाएँ  । त्यसैले हामीले पदक ल्याउन सकेनौं । हामीले जति गर्नुपथ्र्यो, त्यति गर्न सकेनौं । पदक नजिक नजिक पुगेका थियौं, तर यसपालि अरु देशहरुले धेरै नै प्रगति गरेको अनुभव गर्‍याैँ।

विदेशका खेलाडीको आत्मबल निकै बलियो थियो । अनि प्राविधिक रुपमा पनि उनीहरु हामीभन्दा धेरै अघि देखिए । यसको समीक्षा हुनुपर्छ । र आउने चार वर्षको हामीले के गर्ने भनेर समीक्षा गर्ने हो भने अर्को पटक हामी अवश्य नै पदक ल्याउँछौं ।

एसियाली खेलकुदमा हाम्रा खेलाडी निकै निराश मुद्रामा देखिन्थे, मैदानमा उत्रिंदा पनि हाम्रा खेलाडीमा किन यति धेरै निराशा ?

एकदमै सही करा हो । हामीले के गरेका छौं भन्ने कुरा चाहिँ हामीले जानकारी गराउनुपर्ने हुन्छ । खेलकुदलाई एकदमै भित्रबाट नियाल्नेहरुलाई थाहा हुन्छ कि हामीले के गर्यौं त विगत चार वर्षमा ? हाम्रा खेलाडीहरुले के गरेर बसे त ? कुन ठाउँमा ट्रेनिङ गरे ? कति ठाउँमा खेल खेले त ? कति ठाउँमा आफूलाई एक्सपोज गराए त ? उनीहरु कति अनुभवी भए त भन्ने कुराहरुको एकदमै अर्थ राख्छ ।

हामी टिभी हेर्दा हाम्रा खेलाडीहरुले राम्रो खेलेन, पिटाई खायो भने एकदमै खतम रहेछ भन्ने मात्रै बुझ्छौं । तर हाम्रो खेलाडीहरुले चार वर्षको अन्तरालमा विदेशका खेलाडीहरुको जस्तो सुविधा पाए कि पाएनन, तिनीहरुको जस्तो सिकाई वातावरण पायो कि पाएन भन्ने कुरा बझ्दैनौं ।

ट्रेनिङ र सुविधाको कुरा गर्दा, यस्तै ट्रेनिङ र सुविधामै भए पनि तपाईँसहित धेरैले पदक ल्याए नि हैन र ?

यो कुरा धेरै पटक आइसकेको हुनाले म तपाईँलाई एकदमै सहज तरिकाले भनिदिन्छु । मैले १५ वर्ष अगाडि खेल खेलेको हो । त्यतिखेर धेरै देशहरु आउँथे तर सबै देशहरु हामीजस्तै थिए । त्यतिखेर मैले धेरै बढी एक्सपोजर पाएको थिएँ । त्यतिबेलाको ट्रेनिङ एकदमै राम्रो हुन्थ्यो । ट्रेनिङ गर्ने ठाउँ पनि थियो नि । अहिले हेर्नुुुस् त, भूकम्प आएपछि कुन ठाउँमा ट्रेनिङ गर्ने ठाउँ छ ? कति ठूलो विवाद छ ? तेक्वान्दोमा कति ठूलो विवाद ल्याइदिएको छ  हेर्नुस त । ट्रेनिङ गर्ने ठाउँ पनि अरुलाई दिएको छ । हामी आधिकारिक हौं कि होइनौँ भन्ने लडाईं छ ।  

समय र परिस्थिति अनुसार हामी अगाडि बढ्न सक्नुपर्छ आक्कलझुक्कल मेडलहरु आउँछन् । यी हामीले ल्याएका मेडलहरु, त्यतिबेला ट्रेनिङको प्याटर्न यो भन्दा पनि राम्रो थियो । 

राम्रो तरिकाले मेडल ल्याउने हो भने यो भन्दा राम्रो तयारी हुनुपर्छ । र अरु देशहरुलाई तयारीमा पनि जित्नुपर्छ भन्ने मान्यता मैले पहिलादेखि नै राख्दै आएको हो । पहिला हामीहरु म्यानुएल खेल्थ्यौँ, हरेक खेलमा भाग लिइन्थ्यो, एक्सपोजर राम्रो हुन्थ्यो भने अहिले त्यो पनि छैन ।

अहिले त पीएसए सिस्टम छ । इलेक्ट्रिक सिस्टम छ, जहाँ रेफ्रीले पनि केही गर्न सक्दैन । त्यो पीएसए सिस्टम नेपालमा भित्रेको छ कि छैन ? हामीले कति त्यसमा ट्रेनिङ गरेका छौँ त ? हाम्रो खेलाडीहरुको मनोबलहरु के छ त ? किन विवादमा मात्र तानिरहेको छ ? एक वर्षमा दश महिना त हामी विवादमा मात्रै तानिन्छौं । तीन महिना कोरिया गएर, तीन महिना डाइट दिएर दुईचार महिना बन्द शिविरमा राखेर केही हुँदैन । 

तपाईँले भने अनुसार, नेपाली खेलको स्तर एकदमै निराशाजनक पो रहेछ । एकदमै देखिने गरी परिवर्तन गरिएन भने त नेपाली खेलको स्तर यही रहेछ । आउँदो ४ वर्षमा त अझ घट्ने पो रहेछ त ?

यो त एकदमै ध्रुवसत्य कुरा हो । अरु देशले ठूलो लगानी गर्ने, विशेष तरिकाले सोच्ने, नयाँ संयन्त्र नै बनाएर अगाडि बढाउनेबारे सोच्ने । तर हामी भने केही सोच्दै नसोच्ने तर मेडल मात्र पाउने सोच्ने हो भने कसरी हुन्छ ? हाम्रो खेलाडी कुनै पनि देशको खेलाडीभन्दा कम छैनन् । यदि सरकारले अबको चार वर्षमा मेडल ल्याउनुपर्छ भनेर लगानी गर्‍यो भने हामी तयार छौं । सरकार भन्न सक्नुपर्छ, लगानी हामीले गर्छौं वातावरण र योजना तिमी बनाउ तर  मेडल ल्याएनौं भने जिम्मेवारीबाट बर्खास्तमा पर्नेछौ ।

यो एसियाली खेलकुदको कुरा गर्दा तयारी गर्नको लागि भएको रंगशाला पनि भूकम्पपछि भत्केर बनाउन सकेको छैन । सातदोबाटोमा पनि तयारी हुँदै गर्दा खेल्नको लागि पनि पर्याप्त ठाउँ नै भएन । अन्य सुविधाको कुरा गर्दा यतिसम्म कि खेलाडीलाई कभर्डहलमा खेल सिक्ने क्रममा ट्वाइलेट लाग्यो भने घर गएर ट्वाइलेट गर्नुपर्ने अवस्था छ । यसरी तयारी गरिरहेका हामीलाई विदेशका खेलाडीसँग खेल्न निक्कै अप्ठेरो छ । 

खेलमा राम्रो भन्दा पनि हाम्रो खेलाडीहरु छनौट भएका भन्ने पनि सुनिन्छ नि ?

जहाँसम्म लाग्छ त्यस्तो भएको छैन होला । अरु खेलमा के भयो मलाई थाहा भएन । तेक्वान्दोमा त्यस्तो कहिल्यै हुन सक्दैन । खेलाडीहरु हामी सबै एउटै परिवार हो । निष्पक्ष छनौट भएर जानुपर्छ भन्ने मान्यता हो । जबसम्म म यो तेक्वान्दो संघमा रहन्छु तबसम्म यस्तो विभेद हुन दिने छैन । 

व्यवस्थापन पनि त्यस्तै देखियो । कुन खेलाडीको नाम दर्ता नहुने, कुनै खेलाडीले बीचमै दौड त्याग्ने । व्यवस्थापन पनि त गतिलो भएन नि होइन र ?

अवश्य नै अरु देशको खेलाडी यसरी खेल्न नपाएको कमै सुनिन्छ । म अहिले त प्रशिक्षक छूँ तर म आफूलाई खेलाडी भन्न रुचाउँछु । नेपालको झण्डा अंकित टिसर्ट अथवा कुनै ड्रेस लगाएर मैदानमा उत्रेर देशको झण्डालाई आत्मसाथ राखेर खेलाडीले त्यहाँ म मरेर पनि खेल्छु भन्छ  । उसले तीन चार वर्ष घामपानी नभनेर यति मेहनत गरेको हुन्छ, तर खेल्न भनेर एरिनामा गएको बेला अर्थात फिल्डमा उत्रेको बेला फर्काइन्छ भने त्यो जस्तो पीडा कसलाई हुन्छ ?

म त त्यो दिन यति भक्कानिएको हो । एउटा खेलाडीले त्यहाँसम्म पुग्नको लागि घरपरिवारबाट टाढा रहेर रातदिन नभनेर जिन्दगी खर्चेको हुन्छ । अन्तिममा आएर त्यसरी फर्काइन्छ भने त्यसमा कति पीडा होला, त्यो त खेलाडीलाई मात्र थाहा हुन्छ । 

यस्तो हुनु हुँदैन । यो एकदमै गम्भीर त्रुटी हो । यसको सत्यतथ्य पत्ता लगाइनुपर्छ । यदि जानी जानी चुकेका हौं भने सजाय दिइनुपर्छ । अर्कोपटक यस्ता कुरा दोहोरिनु हुँदैन ।

हामी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सुन्छौँ, अबको बीस वर्षपछि हामी यति पदक ल्याउँछौँ भनेर योजना बनाइरहेका हुन्छन् । हाम्रोमा भने चार वर्षको पनि योजना बन्न नसक्नुको कारण के रहेछ ?

देश कसरी चलिरहेको छ त्यो अनुसार नै खेलकुदको संयन्त्र पनि चल्ने हो । देशलाई सिंगापुर बनाउनुपर्छ भन्ने तर पारा पुरानै । खेलकुदमा पदक जित्नुपर्छ भन्ने तर कहिल्यै पनि कार्यान्व्यन नगर्ने । पदक ल्याउनको लागि प्रक्रिया हुन्छ । खेलकुदका संस्थामा एउटा पाटो खेलकुद चलाउने हुन्छ अनि अर्को पाटो मेडल कसरी ल्याउने भन्ने हुन्छ । हाम्रोमा त खेलकुद चलाउने मात्रै भयो, पदक ल्याउनेतर्फ कसैको ध्यान नै गएन । प्रशासन हेर्ने र खेलकुद हेर्ने मान्छे एउटै छन् । अनि कसरी हुन्छ त ।

हामीले खेलाडीले राम्रो गर्न सकेनन मात्रै भन्यौं । उनीहरुले कसरी जीवनयापन गरिरहेका छन् भन्नेमा ध्यान गएको जस्तो देखिन्न । हाम्रा खेलाडीहरु आफू बाँच्न र सामान्य खालको जीवनशैली जिउनको लागि कति सक्षम छन् ?

अहिलेसम्मका पदक जितेका खेलाडीहरु केही बाहेक किन नेपालमा छैनन् । त्यही बाँच्ने आधार नभएर त होला नि । सरकारले तलब तथा केही इन्सेन्टिभ दिन्छ, त्यतिले पुगेन भने के गर्छ त उसले ? चाइना कोरियालाई हेर्ने हो भने त्यहाँका खेलाडीहरुलाई मसाज गर्नेदेखि लिएर पोषणसम्मको सम्पूर्ण व्यवस्था सरकारले गरेको हुन्छ ।

हाम्रोमा त खेलाडीले पाउने न्यूनतम समाजिक सुरक्षा जुन छ त्यो पनि नपाएपछि खेलाडीहरु विदेसिने हुन् । विदेशमा गयो भने मासिक ४-५ हजार डलर कमाउछ भनेपछि पदक जितेको खेलाडी नेपाल बसेर के काम त । त्यही भएर पदक विजेताहरु विदेसिने हुन् । यदि उनीहरुलाई पर्याप्त रुपमा सहयोग गर्यो जीविकोपार्जनको राम्रो आधार यही भइदिएको भए तिनीहरु यहीँ बस्थे होलान् । 

मेरै कुरा गर्दा मैले २ पटक एसियाली खेलमा र ४ पटक दक्षिण एसियाली खेलकुदमा पदक ल्याउँदा पनि बानेश्वरमा व्यापार गर्नुपर्ने बाध्यता तपाईँले देख्नुभएको छ नि । सरकारले दिएको पैसाले म त चल्न सक्दिन नि । मेरा २ जना छोराछोरी छन्, बुवाआमालाई हेर्नुपर्छ, व्यापार नगरी सुख छैन । 

मैले आफ्नो जिन्दगी खेदकुदमार्फत देशमा लगानी गरेपछि त सरकारले पनि मेरो लागि केही गरिदिन पर्दैन ?

यतिबेर हामीले निराशाका मात्रै कुरा गर्‍यौं । अहिलेको अवस्थालाई हेर्दा अब नजिकिँदै गरेको साफ खेलबाट हामीले के अपेक्षा गर्न सक्छौं ?

अहिलेको हाम्रो जुन प्रदर्शन छ, त्यो पहिलाको भन्दा राम्रो छ तेक्वान्दोकै कुरा गर्ने हो भने । तीनचार महिना कोरियामा ट्रेनिङ गर्यौँ । त्यहाँबाट धेरै कुरा सिक्यौं । यहाँ त कुनै ठाउँ नै थिएन । तयारी गर्नको लागि राम्रो कभर्डहल पनि थिएन । त्यहाँ गएर नै यो प्रदर्शन भएको हो । हाम्रो खेलाडी रिङमा दुई मिनेट पनि टिक्दैन थिए । अहिले त राम्रो प्रदर्शन गरिरहेको छ । त्यही प्रदर्शनले गर्दा अहिले दक्षिण एसियाका सबै देशलाई हराइसकेको छ । त्यही भएर हामीले दक्षिण एसियाली खेलमा राम्रो गर्न सक्छौं भन्ने विश्वास छ । 

अबको चार वर्षपछि हुने एसियाली अथवा दक्षिण एसियाली खेलमा राम्रो प्रदर्शन गर्नको लागि के के कुरामा सुधार्नुपर्ला जस्तो लाग्छ ?

सबैभन्दा पहिला एउटा योजना बनाउनुपर्छ । अन्तर्राष्ट्रिय स्तरको नयाँ रणनीति बनाउनुपर्छ । एकदमै क्वालिटीका प्रशिक्षक, तालिम गर्ने ठाउँ र त्यो प्रकारको वातावरण निर्माण गरिदिनुपर्यो । खेलाडीहरुलाई पनि विशुद्ध तरिकाले पदक जित्ने वातावरण निर्माण होस ।

खेलाडीमा पारिवारिक तथा पढाईको चिन्ता नहोस । प्रशिक्षकहरु पनि मेडेल जिताउनेमा  समर्पित हुन् । व्यवस्थापनको पाटोमा सरकारी संयन्त्र पनि मज्जाले लागोस । खेलकुद संघ, परिषद सबैको एउटै अर्जुनदृष्टि हुनुपर्यो, हामीले कसरी पदक जित्छौँ भन्ने कुरामा । 

अन्तर्राष्ट्रिय स्तरमा कहलिएका ठाउँमा तालिम भयो भने खेलाडीमा पनि त्यही अनुसारको आत्मविश्वास पनि बढ्छ । हाम्रो जस्तो रिङमा तयारी गरेर अन्तर्राष्ट्रिय स्तरको रिङमा लड्दा आत्मविश्वास बढ्ने होइन घटछ । त्यही भएर खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ हुन जरुरी छ । त्यसो भयो भने नेपाली खेलाडी लड्न डराउँदैन । 

अन्तिम अपडेट: असोज ८, २०७५

अर्जुन पोख्रेल

अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया