सरकारले संयुक्त राष्ट्रसंघ शान्ति स्थापनार्थ साझा घोषणापत्रको समर्थन गर्ने

 भदौ २१, २०७५ बिहिबार २०:२०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –सरकारले संयुक्त राष्ट्रसंघ शान्ति स्थापनार्थ साझा घोषणापत्रलाई समर्थन गर्ने निर्णय गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ साझा घोषणापत्रलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकले शुक्रबार निजामती दिवसको अवसर पारेर पुरस्कृत गर्ने उत्कृष्ट कर्मचारीहरुको नामलाई पनि टुंगो लगाएको युवा तथा खलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद बैठकले जर्मन सरकारबाट प्राप्त करिब ४ अर्ब ९ करोड अनुदान सहायता लिने प्रस्ताव पनि स्विकृत गरेको छ । पोखरा–लेखनाथ २ सय २० केभी विद्युत प्रशारण लाइन निर्माणका लागि त्यो बजेट खर्च गर्ने निर्णय पनि गरिएको मन्त्री विश्वकर्माले बताउनुभयो । त्यसैगरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ पनि स्वीकृत गरिएको छ ।

त्यसैगरी, मन्त्रिपरिषद बैठकले धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । सो अस्पतालको नाम शहीद सुर्यनाथ राम यादव स्मृति अस्पताल राखिने छ ।

मुक्त हलिया पुर्नस्थापना समस्या समाधान समिति र मुक्त कमैया पुनस्र्थापना आयोग लाई कायमै राख्ने र यसै आर्थिक वर्षभित्र मुक्त हलिया पुर्नस्थापना र मुक्त कमैया पुर्नस्थापनासम्बन्धी सबै समस्या समाधान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया