मन्त्रीले उद्घाटन गरेको एक महिनापछि पीसीआर ल्याब सञ्चालनमा आयाे

 मंसिर १६, २०७८ बिहिबार २०:४:४१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल (क्षेत्री) ले उद्घाटन गर्नुभएकाे जिल्ला अस्पताल रामेछापको पीसीआर ल्याब एक महिनापछि गएकाे मङ्गलवारदेखि सञ्चालनमा आएको छ । 

गएकाे साउनमा प्रदेश सरकारकाे सहयाेगमा बनेकाे पीसीआर ल्याब सञ्चालनमा नआउँदै मन्त्री कटुवाल गएकाे कात्तिक ६ गते रामेछाप आएर हतारहतारमा रिबन काटेर उद्घाटन गरेर फर्किनुभएकाे थियाे । मन्त्रीले जिल्ला अस्पतालमा पीसीआर ल्याबको उद्घाटन गरे पनि सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा ल्याबमा रहेकाे पीसीआर मेशिन एक महिनादेखि थन्किएर बसेको थियो । 

मन्त्रीले ल्याब उद्घाटन गरेको एक महिनापछि प्रदेश सरकारले जनस्वास्थ्य प्रयोगशालाबाट दुई जना दक्ष जनशक्ति पठाएपछि बल्ल सञ्चालनमा आएको हो । पीसीआर ल्याबमा हरेक पटक ९६ वटा गरी दैनिक १२ पटकसम्म नमुना परीक्षण गर्न मिल्ने क्षमताको मेशिन जडान गरिएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । 

रामेछापमा सङ्कलन गरिएका स्वाबकाे नमुना परीक्षणका लागि छिमेकी जिल्ला र कहिलेकाहीँ काठमाण्डाै पठाउनु पर्दा रिर्पोट आउन धेरै दिन लाग्ने हुँदा नागरिकले हैरानी बेहाेर्दै आएका थिए । त्याे अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापलाई गएकाे असोजमा पीसीआर मेशिन प्रदान गरेको थियो । 

पीसीआर ल्याबका लागि सबै उपकरण आएर जडान हुँदा समेत सञ्चालनमा आउन नसक्दा स्वाबकाे नमुना अन्य जिल्लामा पठाउनुपर्ने बाध्यता थियाे । 

पीसीआर ल्याब सञ्चालनमा नआउँदा धेरै नागरिकले दुःख पाएको विषयबारेमा पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दा बल्ल दक्ष जनशक्ति आएकाले ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले जानकारी दिनुभयाे ।  

अब जिल्लामा नै पीसीआर ल्याब सञ्चालमा आएपछि रिर्पोट ५ देखि ६ घण्टाभित्रै प्राप्त गर्न सकिने उहाँले बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया