तीन पारा तेक्वान्दो खेलाडी सम्मानित

 जेठ २०, २०७५ आइतबार १८:१४:५५ | उज्यालो सहकर्मी

काठमाडौं – मेन्टर एजुकेशनल कन्सल्टेन्सीले अन्तरराष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडीहरुलार्इ नगदसहित सम्मानित गरेको छ । 

सम्मानित तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरियोे ।

सम्मानित हुने खेलाडीहरुमा गत वर्ष इंग्ल्याण्डमा भएको दोस्रो एशियाली पारा तेक्वान्दोमा रजत, विश्व पारा तेक्वान्दो च्याम्पियनशीप तथा कोरियामा भएको एशियाली पारा तेक्वान्दो च्याम्पियनशीपमा काश्य पदक विजेता रञ्जना धामी छिन् ।
 
त्यस्तै रुसमा भएको पहिलो आईडब्ल्यूएएस पारा तेक्वान्दो तथा पाँचौं युरोपियन पारा तेक्वान्दोमा काश्य विजेता सीता भण्डारी र भियतनाममा गत महिना भएको एशियाली पारा तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धन पनि नगदसहित सम्मानित भएका छन् ।

कार्यक्रममा कन्सल्टेन्सीले आसन्न टोकियो ओलम्पिक २०२० को तयारीमा रहेको नेपाली पारा तेक्वान्दो टोलीलाई प्रायोजन पनि गरेको छ । आइतबार भएको कार्यक्रममा कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हेमन्त भट्टराई र नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा पारा ओलम्पिक कमिटीका संयोजक कासिम मियाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
 
सम्झौता अनुसार मेन्टरले पारा खेलाडीलाई हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा तेक्वान्दो किट लगायत सबै सामग्री उपलब्ध गराउनेछ । त्यस्तै खेलाडीको डाइट खर्चस्वरुप न्यूनतम रकम पनि सहयोग गर्ने सम्झौता भएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया