निर्मला पन्त हत्या प्रकरण : छानबिन समितिबाट राजीनामा दिएर चर्चामा आएका केसी फेरि फर्किए

 भदौ २७, २०७५ बुधबार १४:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  निर्मला पन्तलाई न्याय दिन नसक्ने भन्दै छानबिन समितिको सदस्यबाट राजीनामा दिएका वीरेन्द्र केसी पुनः काममा फिर्ता हुनुभएको छ । 

गृहमन्त्रालयमा बुधबार भएको पत्रकार सम्मेलनमा केसी पुनः समितिमा फर्किएको जानकारी दिइएको हो ।  

छानबिन समितिबाट राजीनामा दिएर चर्चामा आएका केसी गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि  पुनः समितिमा फिर्ता हुनुभएको हो । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन टोलीबाट केसीले राजीनामा दिनुभएको थियो । समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य हुनुहुन्थ्यो ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा सरकारले निर्मला पन्त हत्याको घटना छानबिन गर्न समिति गठन गरेको थियो । 

१५ दिनको समयसीमा लिएर काम थालेको टोलीले तयार भएको प्रतिवेदन समयमै नबुझाएर हत्यारालाई भाग्ने मौका दिन खोजेको आरोप लगाउँदै केसीले राजीनामा दिनुभएको थियो । सरकारले समितिलाई थप अनुसन्धान गरेर प्रतिवेदन बुझाउन १५ दिनको म्याद दिएको छ । 

छानबिन समितिमा रहँदा आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै केसीले समितिको म्याद थपको विषयमा मात्रै आफ्नो असहमति रहेको जनाउनुभएको थियो । 

तर निर्मला पन्तलाई न्याय दिलाउने सवालमा मन्त्रालय र समितिको धारणासमेत वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउने उद्देश्य रहेकाले फेरि छानबिन कार्यमा संलग्न रही निष्पक्ष रुपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेर समितिमा फर्किएको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया