औषधि भन्दै रसायन बिक्री गर्ने भारतीयलार्इ प्रहरीले सामान्य कागजमात्र गराएर छाेड्याे

 भदौ २७, २०७५ बुधबार १७:४८:० | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखा सदरमुकाममा औषधि भन्दै विभिन्न रसायन बिक्री गर्दै हिँडेका ३ भारतीय नागरिकलाई कडा कारबाही गर्नुपर्नेमा प्रहरीले सामान्य कागज गराई छाेडेको औषधि व्यवसायीहरुले अाराेप लगाएका छन् । 

पुराना सिसी र धातुका भाँडामा झोल र चक्की राखेर उनीहरुले बिक्री गरिरहेका बेला सदरमुकामका औषधि व्यवसायीले नियन्त्रणमा लिएका थिए । विभिन्न रसायनहरु औषधी भन्दै बिक्री गरिरहेको भेटेपछि प्रहरीको जिम्मा लगाइएको औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष संगमबाबु श्रेष्ठले बताउनुभयो । 

‘ग्याष्ट्रिक, अम्लपित्त, पिनास, छाला चिलाउने, कपाल झर्ने जस्ता रोगको अचूक औषधि भन्दै बिक्री गरिरहेको पाइयो’ उहाँले भन्नुभयो, ‘न नाम थियो, न लेवल छ, केही पनि छैन, केवल रातो निलो विभिन्न रंगका झोल र क्याप्सुल जस्ता गेडागुडीहरु थिए, त्यसलाई औषधि हो भन्ने केही आधार नै थिएन ।’

त्यस्ता रसायन पनि उनीहरुले विभिन्न रोगको औषधी हो भन्दै चर्को मूल्यमा बेच्दै आएका थिए । 

औषधिको कारोबार गर्नका लागि औषधी व्यवस्था विभागको स्वीकृतिसहित आन्तरिक राजस्व कार्यालयमा दर्ता हुनुपर्ने लगायत मापदण्ड पूरा गर्नुपर्छ । झोलामा यसप्रकारको औषधि बेच्न पनि औषधि व्यवस्था विभागले निषेध गरेको छ । 

तर उनीहरुले कुनै पनि सरकारी निकायको स्वीकृति र अनुमतिविना यस्ता औषधि बिक्री गरेका हुन् ।

उनीहरुले बिक्री गरेको सामग्री औषधि हो या होइन भन्ने समेत परीक्षण नगरी प्रहरीले उनीहरुलाई सामान्य कागज गराएर छोडेको छ । औषधि भन्दै बेचिएका त्यस्ता सामग्री प्रहरीले हतार हतार नष्ट गरेको छ । 

अबदेखि बिक्री नगर्ने भन्ने कागज गराएर छोडिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । जनस्वास्थ्यमा गम्भीर असर गर्ने यसखालका सामग्री बेच्नेलाई सामान्य कडा कानूनी कारवाही गर्नुपर्नेमा उन्मुक्ति दिइएको भन्दै औषधि व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

सदरमुकाममा आयुर्वेदिक औषधि पसल चलाउने एक व्यवसायीले भन्नुभयो, ‘एक त त्यो औषधि हो कि हानिकारक रसायन हो भन्ने नै निश्चित गरिएन, हतार हतार नष्ट गरेर उनीहरुलाई छुटाउने काम भयो ।’ 

उपभोक्ता हित संरक्षण ऐन २०५४ अनुसार उत्पादकले उपभोग्य वस्तुमा लेबल अनिवार्य लगाउनु पर्ने हुन्छ ।

ऐनको दफा ९ मा लेबलमा उत्पादकको नाम ठेगाना र दर्ता नम्बर, खाद्य पदार्थ तथा औषधि जस्ता उपभोग्य वस्तुमा उक्त वस्तुको मिश्रण, त्यसको परिमाण र तौल, मूल्य ब्याच नम्बर, उत्पादन मिति, उपभोगको म्याद सकिने मिति अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भनिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया