६ वर्षका दुईजना बालिका बलात्कारको आरोपमा ५७ वर्षीय वृद्ध पक्राउ

 भदौ ३०, २०७५ शनिबार १५:३३:५८ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको बेल्डाँडीमा ६ वर्षका दुईजना नाबालिकालाई बलात्कार गरेको आरोपमा ५७ वर्षका एकजना वृद्ध पक्राउ परेका छन् ।

बेल्डाँडी गाउँपालिका–२, ढकनियाका ६ वर्षीय २ जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५७ वर्षीय बृद्ध राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । विष्टले विद्यालय जाने क्रममा बालिकालाई ललाइफकाई बलात्कार गर्ने गरेको पीडित बालिकाकी आमाले बताउनुभयो । 

‘मैले वैशाख १५ गतेबाट छोरीलाई स्कुल भर्ना गरेकी थिए’, पीडितकी आमाले भन्नुभयो, ‘त्यसले त्यही बेलादेखि नै छोरीलाई बलात्कार गर्ने गरेको रहेछ ।’
विस्तारै बालिकाले विद्यालय जान छोडेको र आफूले गाली गरेर पठाउँदा ५/६ वटा सुरुवाल लगाएर विद्यालय जाने गरेको उहाँले बताउनुभयो । 

‘स्कुलबाट आएपछि योनाङ्ग दुख्यो भन्दै रुन्थि’, उहाँले भन्नुभयो, ‘मैले सोचे ५/६ वटा सुरुवाल लगाएर जान्छे । त्यही भएर पाछ्यो होला ।’
‘त्यसले स्कुल नजाने कारण कहिल्यै पनि मसँग भनिन्’, उहाँले भन्नुभयो, ‘मलाई पनि त्यतातिर ध्यान गएन ।’ उहाँका अनुसार ती बालिकामाथि भएको यौन दुव्र्यवहार र बलात्कार गरेको बालिकासँगै जाने साथिले देखेकी रहिछिन् । 

‘त्यसले कहिल्यै पनि भनिन्, किन दुख्यो भनेर’, उहाँले भन्नुभयो, ‘तर, अस्ती मेरी छोरीसँग स्कुल जाने बालिकाको बहिनीले आफ्नी आमालाई एउटा मान्छेले दिदीलाई यस्तो गर्छ भनिछन् ।’

‘शुक्रबार गौरा हेर्न गएको बेला कताबाट त्यो कुरा बाहिर आएछ’, उहाँले भन्नुभयो, ‘मेरी सासूले सुनेपछि मेरी नातानीकी साथीको घरमा गएर म सोध्छु । त्यसले देखेकी छ कि भनेर भन्नुभएछ ।’

उहाँका अनुसार घरमा आएर सासूले आफ्नी नातिनीसँग साध्दा बालिकाले आफू र अर्की बालिकालाई बलात्कार हुने गरेको स्वीकार गरिन् । विष्टले बालिका विद्यालयबाट फर्किदा पसलमा कुरेर बस्ने र चाउचाउ, बिस्कुट दिएर  बलात्कार गर्ने गरेको उहाँले बताउनुभयो । 

‘हामीले त हिजो राति ९ बजे मात्रै छोरीमाथि भएको बलात्कारको बारेमा थाहा पायौं’, पीडतकी आमाले भन्नभयो, ‘राति उजुरी गर्ने कुरै आएन् । शनिबार बिहान इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले त्यसलाई पक्राउ गरेको छ ।’

पीडित परिवारले घटनाबारे शुक्रबार थाहा पाएपछि विष्ट विरुद्ध शनिबार इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए । प्रहरीले नाबालिकालाई बलात्कार गर्ने राजेन्द्र विष्टलाई पक्राउ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । 

गएको वैशाखको घटना भए पनि परिवारले शनिबार मात्रै उजुरी दिएकाले विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताउनुभयो । उहाँले बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया