‘मिल्ने साथी’ सँग घरबाट निस्किएकी कविता कहिले नफर्किने गरी अस्ताइन् !

 चैत २२, २०७८ मंगलबार १९:५०:३७ | सुमित्रा कोइराला
unn.prixa.net

कविताकाे शव भेटिएकाे ठाउँ, तस्बिर : सामाजिक सञ्जाल

उदयपुर – उदयपुरको बेलका नगरपालिकाको कोसी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवार यसपालि माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा थिइन् । १६ वर्षकी कविता पढाइका साथसाथै बाहिरी ज्ञानमा पनि अब्बल थिइन् । कोभिड–१९ कहरका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा एसईईको तयारी गरिरहेका विद्यार्थीका लागि त्यति पढाइले मात्र पर्याप्त नभएका कारण विद्यालयले ट्युशन सञ्चालन गरेको थियो । त्यही ट्युशन लिन दिनहुँ बिहान ५ बजे निस्किने कविता कहिले नफर्किने बाटोमा गइन् !

सधैँ झैँ कविताकी मिल्ने साथी आज मङ्गलवार पनि झिसमिसेमै आएर कवितालाई बोलाएको दुवै साथी मिलेर ट्युशनका लागि हिँडेको कविताकी आमा शाेभाले बताउनुभयो। कविताकी आमाले भन्नुभयो, ‘यसरी योजना बनाएर लगेका रहेछन्, हामीलाई पत्तो भएन । कोचिङ पढ्नका लागि हिँडेकी छोरी खोलाको किनारमा मृत भेटिन्छिन् भन्ने कल्पना पनि थिएन ।’

दाजु–बहिनीलाई प्रहरीले पक्राउ गर्‍यो 

हत्याको अनुसन्धानका क्रममा कविताकी मिल्ने साथी बेलका नगरपालिका ३ कि साथी र उनका दाइ नाता पर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई प्रहरीले प्रारम्भिक सोधपुछ मात्र गरेको छ । दुवैलाई म्याद थप गरी अनुसन्धान गर्नका लागि सदरमुकाम गाइघाट ल्याईएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी (इन्स्पेक्टर) निरीक्षक तेजप्रसाद दाहालले बताउनुभयो ।

केही दिनअघि कविताकी साथीकी दाइ नाता पर्नेले कवितालाई प्रेम प्रस्ताव राखेका थिए तर कविताले त्यो प्रस्ताव अस्वीकार गरेकी थिइन् । आज बिहान कविताकी साथीले फोन गरेर बोलाएपछि आफू पछिपछि गएको तिन (दाइ नाता पर्ने) ले स्वीकारेका छन् । प्रेम प्रस्ताव अस्वीकार गरेका कारण हत्या गरेको भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुले पनि अहिलेसम्म निष्कर्षमा नपुगेको इन्स्पेक्टर दाहालले बताउनुभयो । कविताको शव पोस्टमार्टमका लागि धरानमा रहेको वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको छ । कविताको हत्यामा संलग्नलाई कडा कारबाही गर्न बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापासहित जिल्लाका अधिकारकर्मीहरूले माग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया