काफल बेचेर पढाइ खर्च जुटाउँदै

 बैशाख २३, २०७९ शुक्रबार १५:४२:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीका जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन् । कुनै बेला स्थानीय नागरिकले मात्रै खाने तथा बाँकी रहेका काफल बाँदरले खाने गरेको भए पनि अहिले भने नागरिकले टिपेर धमाधम बिक्री गर्न थालेका छन् । यहाँका जङ्गलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि यहाँका राजमार्ग तथा बजारमा ल्याउन थालेका छन् । काफल टिपेर बिक्री गर्न थालेपछि यहाँका नागरिकको आम्दानीको गतिलो स्रोत बन्दै गएको छ ।

यतिमात्र नभइ यहाँको एकमात्र प्रमुख पहाडी राजमार्ग भीमदत्त राजमार्गका विभिन्न सडक खण्डमा अहिले काफल बिक्री गर्नेहरूको ठूलो लाम लागेको देखिन्छ । उनीहरूले आफूले जङ्गलबाट टिपेर ल्याएका काफल एक किलोको दुई सय रुपैयाँसम्म लिने गरेको भीमदत्त राजमार्ग अन्तर्गत पर्ने गैरा बजारका मोहनबहादुर मल्लले बताउनुभयो । 

कोरोना महामारीका कारण गएको दुई वर्षदेखि काफल टिप्न, खान र बिक्री वितरण गर्न नपाएका यहाँ नागरिक अहिले भने आफ्नो खेतीपतीको काम छाडेर भए पनि जङ्गलमा काफल टिप्ने तथा बिक्री वितरण गर्ने गरेको बुडर बजारका अर्का स्थानीयवासी भक्तबहादुर लामाले बताउनुभयो । यहाँका प्रायः सबै वन यतिबेला काफल पाकेर रातै देखिएका छन् । स्वादिष्ट फल काफल अहिले यहाँका स्कुले बालबालिकाका लागि पनि आम्दानीको राम्रो स्रोत बन्दै गएको स्थानीयवासी बताउँछन् । निम्न आयस्रोत भएका बालबालिकाले जङ्गलबाट काफल टिपेर ल्याउने र बिक्री गरी स्कुल खर्चको जोहो गर्न थालेको सहजपुर बजारमा काफल बिक्री गर्ने स्कुले बालक रमेश विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्कुलमा बिदा भएको छ, अब भर्ना गर्नुपर्छ पैसा छैन, यही काफल बिक्री गरेर स्कुल भर्ना गर्छौँ ।’ 

जिल्लाका राजमार्ग, प्रमुख व्यापारी केन्द्र दिपायल, सिलगढी, गैरा, बुडर, सहजपुर, धारापानी, मेलखोलालगायतका ठाउँमा अहिले काफल बेच्ने थुप्रै भेटिन्छन् । काफल पाक्न सुरु भएसँगै यहाँका राजमार्गलगायतका अन्य गाउँका बजारमा काफलको व्यापार बढ्न थालेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका स्थानीयवासी रामसिंह देउवाले बताउनुभयो । उहाँका अनुसार अहिले यहाँका वन जङ्गलबाट काफल टिपेर ल्याइ बजार तथा राजमार्गमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रतिगिलास १५ देखि २० रुपैयाँ तथा किलोको दुई सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । बालबालिकाले काफल बिक्री गर्दै आफ्नो पढाइ खर्च जुटाउने गरेका छन् । 

काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका धेरैजसो बालबालिका अहिले काफल टिपेर बिक्री गर्नतिर लागेका अर्का स्थानीयवासी रमेश बोगटीले जानकारी दिनुभयो । यस वर्ष डोटीमा असिनापानी नपरेकाले जङ्गलमा काफल निकै भएको स्थानीयवासी बताउँछन् ।  

यस वर्ष काफल पनि निकै स्वादिलो र रसिलो भएको स्थानीयवासी बताउँछन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त अहिले यहाँका स्कुले बालबालिकाले काफल टिपेर आफ्नो कापी किताबलगायतका अन्य सामग्री किन्ने गरेको अभिभावक बताउँछन् । अहिले डोटीसहित समग्र सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा काफल निकै फलेको स्थानीयवासी बताउँछन् । दिउँसो काफल टिपेर दोस्रो दिन बिहानैदेखि यहाँका जिल्ला सदरमुकामलगायत राजमार्ग र सडक क्षेउमा काफल बिक्री गर्न आउनेको भिड बढेको भीमदत्त राजमार्गअन्तर्गत सहजपुर बजारकी स्थानीयवासी हीरादेवी बोगटीले बताउनुभयो ।

पर्याप्त मात्रामा काफल फलेको र ग्राहक पनि प्रायः आवतजावत गर्नेहरू भएकाले बेच्न कुनै समस्या नभएको उहाँको भनाइ छ । अहिले यस राजमार्गमा यात्रा गर्ने प्राय सबैले काफल किनेर लैजाने गरेका छन् । यतिमात्र नभइ यहाँका पहाडी जिल्लामा उत्पादन गरिएका काफल बिक्रीका लागि कैलालीका धनगढी तथा अत्तरिया बजारसम्म पुग्ने गरेका छन् । पहाडमा दुई सय रुपैयाँ किलो पर्ने काफल कैलालीका बजारमा लगिएपछि त्यसको दोब्बरसम्म मूल्य पर्ने परेको कैलालीको अत्तरियाका स्थानीयवासी दिनेशबहादुर मल्लले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया