घरगाउँ घुम्दै सहर बिर्साउने चम्पादेवी

 असोज ४, २०७५ बिहिबार १५:८:१९ | गोपाल गुरागाईं
unn.prixa.net

सहर संविधान दिवसमा रमाउन थाल्दा हामी बागमती किनारको फर्पिङका खेतमा धानका बाला हेरेर दंग पर्दै थियौं ।

चन्द्र शमशेरले बनाएको चन्द्रज्योति हाइड्रो पावर स्टेसनबाट ‘शर्टकट’मा उकालो लाग्दा हाम्रो बाटो एउटा नयाँ बस्तीमा पुगेर एकाएक बिलायो । 

बाटो बिलाएपछि नयाँ बाटो खोज्नु पर्ने भयो । सोधीखोजी गर्दा बाटो त भेटियो, तर धानखेतको बीचमा आलीआली हुँदै अघि बढ्न पर्ने । झ्याम्मै झारले छोपिएको कुलो त कतै पनि देखिएन, तर कुलोमा बग्ने पानीको संगीतमय कलकल सुन्दै हामी धानखेतको बीचमा बनेको आलीको गोरेटोबाट उक्लँदै मूलबाटोमा निस्कियौं । हामीलाई फर्पिङको पानी पोखरी, भञ्ज्याङ हुँदै हात्तीवनको उकालो लागेर चम्पादेवीसम्म पुग्नु थियो ।

काठमाडौं सहर वरपरका गाउँ, डाँडा र पाखामा न प्रदूषण छ, न कोलाहल र होहल्ला । सहरले मनलाई थिचेपछि हो या मनलाई उपत्यका वरपरका डाँडाकाँडाले बोलाउन थालेपछि हो, हामी जस्ता केही मानिसको मन चक्रपथभन्दा बाहिर घुम्न थाल्छ । मन घुम्न थालेपछि पैताला जम्जमाउँछन्, अनि यात्राको योजना बन्छ ।

काठमाडाैं सहर र आसपासको क्षेत्र अचम्मको ठाउँ हो । अचम्म यस अर्थमा कि चक्रपथ पार गरेर सरदर चार किलोमिटर पार गरेपछि मान्छेले आफूलाई सहरबाट आधा घण्टाको दूरीमा छु भन्ने बिर्सिन्छ र नेपालको कुनै दूरदराजको गाउँमा पुगे जस्तो अनुभव गर्न थाल्छ । 

यो पालि हामी तीनजना (विनोद भट्टराई, कृष्ण गुरागाई र पंक्तिकार)लाई सहरले थिच्ने र हरियो जंगल र डाँडाले एकैपल्ट बोलाएजस्तो लागिरहेको थियो । संविधान दिवसको दिन हाम्रो गन्तव्यमा थियो उपत्यकाको दक्षिण पश्चिममा पर्ने चम्पादेवी डाँडा ।

डाँडामा पुग्ने हाम्रो बाटो थियो ललितपुरको फर्सिडोल भएर बाग्मती तर्ने अनि काठमाडौंका फर्पिङ, हात्तीवन हुँदै चम्पादेवीमा पुग्ने । फर्सिडोल पुग्दा बारीमा फलेका कोदाका लहलह बाला बिहानी हावामा कावा खाँदै थिए । 

एकाबिहानै ललितपुरको चुनिखेलमा भेटेर हाम्रो यात्रा सुरु भयो । फर्सिडोल हुँदै बाग्मती नदीको झोलुंगे पुलमा हावा खान उभिँदा हामी एक घण्टा हिँडिसकेका थियौँ ।

बाग्मतीबाट उकालो लागेर १ सय ७ वर्ष पुरानो नेपालकै पहिलो बिजुली उत्पादन केन्द्र चन्द्रज्योति हाइड्रो इलेक्ट्रिक पावर स्टेसनको बिजुली निकाल्ने घर (पावर हाउस) नजिक पुग्दा घामले रनक्क पोल्न थालिसकेको थियो । 

चन्द्र शमशेरले काठमाडौंमा बिजुली बाल्न बनाएको फर्पिङको पोखरीमा अहिले पनि फर्पिङ खोलाबाट आएको पानी जम्मा हुन्छ । सय वर्षअघि जडिएको फलामे पाइपलाई चिसो बनाउँदै त्यो पानी बाग्मती तरेर अहिले पनि ललितपुरका घरघरमा पुग्छ ।

काठमाडौं शहरमा पानीको हाहाकार हुँदा पनि फर्पिङको पानीले ललितपुरका बासिन्दाको आँत सुक्न दिएको छैन । तर फर्पिङको पोखरी नजिकै चन्द्र शमशेरले बनाएका त्यो बेलाका सत्तल र घरहरु भने भग्नावशेष भैसकेका छन् । 

पानीपोखरीबाट उकालो लागेपछि नास्पातीका बोटमा लागेका चिचिला र लप्सीका रुखमा फलेका लटरम्म दाना हेर्दै आधा घण्टामा फर्पिङ भञ्ज्याङ्मा पुगिन्छ । तल खेत र बारी अनि माथि सल्लाको जंगलबीच फर्पिङको यो भञ्ज्याङ्मा गाडीको दोहोरीलत्ता चल्छ जस्तो त लाग्दैन । तर धुवा र धुलोबाट छलिन चाहेर पनि काठमाडौंबाट दक्षिणकाली र हेटौडा जाने गाडीको धुलो र धुँवा नखाई बच्न नसकिने ठाउँ हो यो । 

दक्षिणकाली भञ्ज्याङबाट उकालो लागेपछि पानी खाने कुवा र धारासमेत छैनन् । मन लागेको खान पाइने ठाउँ एकमात्र हात्तीवन रिसोर्ट हो, तर खल्ती गरम वा मोटो छ भने मात्र । त्यसैले घरबाट बोकेका खानेकुरामा ६ बोत्तल पानी थपेर हामी सल्लाको जंगल हुँदै उकालो लाग्यौँ । सल्लाको जंगलबीच हेर्दा तेर्सो देखिने लमतन्न बाटो जति हिँड्यो, त्यत्ति नै तन्के जस्तो ।

दिन चढ्दै जाँदा घामको राप र ताप बढ्दै जान्छ । राप र तापसँगै उकालो पनि छिप्पिँदै जान्छ । बाटो घरि हराउँछ जंगलका बीचमा, घरि फैलिन्छ सिँढीले स्वागत गर्दै । ‘कस्तो मुस्मुन्द्रे बाटो रहेछ’, उकालोमा खुइय गर्दै विनोदका मुखबाट विनोदी शब्द निस्किन्छन् । 

ताना शर्माले दशकौं अघि लेखेको निबन्ध घनघस्याको उकालो जस्तै लाग्छ चम्पादेवी डाँडामा पुग्ने बेलाको उकालो । तर, उकालो चढ्दै जाँदा एकातिर देखिने काठमाडाैं उपत्यका र अर्कोतिर देखिने फर्पिङ बजार र दक्षिणका तरेली परेका पहाडले चम्पादेवी डाडाँमा बोलाइरहन्छन् । 

 

अन्तिम अपडेट: मंसिर ६, २०७५

गोपाल गुरागाईं

गोपाल गुरागाईं ३५ वर्षदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। उहाँलाई ट्विटरमा भेट्न सकिन्छ।

1 Comments

  • Naba Devkoya

    Sept. 20, 2018, 3:28 p.m.

    Such a heart touching article full with reality, natural love, affection and unique attempt to learn and enjoy more about the beauty outside the valley. Felt glad to see pleasant photo of Gopal Guragai, a pioneer of voice master and distinct media!

तपाईको प्रतिक्रिया