कांग्रेस विधान संशोधन मस्यौदा तयार, पार्टीका सबै संगठनमा ३३ प्रतिशत महिला रहने प्रस्ताव

 असोज ६, २०७५ शनिबार १८:१:५४ | उज्यालो सहकर्मी

काठमाडौं - नेपाली कांग्रेस विधान संशोधनकाे प्रारम्भिक मस्यौदा शनिबार तयार भएको छ । 

नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विधान संशोधन प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी गराएको हो । ३ वटा उपसमितिले दिएको सुझावको आधारमा पार्टीको विधान संशोधन प्रारम्भिक मस्यौदा तयार पारिएको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिनुभयो ।

संविधानले व्यवस्था गरेको संरचना अनुसार पार्टी विधान संशोधन प्रारम्भिक मस्यौदा तयार पारिएको पार्टीका महामन्त्री एवम् विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

संघीय ढाँचा अनुसार पार्टीको संरचना तयार पार्न नेपाली कांग्रेसले विधान संशोधन मस्यौदा तयारीको कामलाई अघि बढाएको हो । विधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन सोमबारदेखि शुक्रबारसम्म प्रदेशस्तरीय छलफल कार्यक्रम पनि राखिएको संयोजक खड्काले बताउनुभयो ।

१२ वटा स्थानमा आयोजना हुने सो छलफल कार्यक्रममा सभापति शेरबहादुर देउवासहितका नेताहरु सहभागी हुनुहुनेछ । प्रदेशस्तरीय छलफलपछि विधानलाई अन्तिम रुप दिइने समितिको योजना छ ।

प्रारम्भिक मस्यौदामा ३३ प्रतिशत महिला पार्टीका सबै संगठनमा रहने प्रस्ताव गरिएको छ । त्यसैगरी अनुशासन समिति, निर्वाचन समिति, क्रियाशील सदस्य समिति पनि पार्टीमा रहने विधानको प्रारम्भिक मस्यौदामा प्रस्ताव गरिएको समितिका संयोजक पुर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

विधान संशोधन समितिले तयार पारेको मस्यौदालाई पार्टीको महासमिति बैठकले अनुमोदन गर्नेछ ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया