विश्व वन्यजन्तु कोषले भन्यो–बाघ संरक्षणमा नेपालबाट पाठ सिक्नुपर्छ

 असोज ८, २०७५ मंगलबार ५:३५:३७ | रासस

काठमाडौं - 'विश्वले नेपालबाट पाठ सिक्नु पर्दछ । किनकी नेपालमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघको सङ्ख्या करीब दोब्बर भएको छ ।' यो भनाइ हो विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) का वरिष्ठ उपाध्यक्ष गिनेट्टा ह्याम्लीको । 

आर्थिक वर्ष २०६६/६७ मा नेपालमा बाघको सङ्ख्या केवल १२१ मात्रै थियो । सरकारले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा बाघको सङ्ख्या बढेर २३५ पुगेको छ । सरकारले बाघको सङ्ख्या सार्वजनिक गरेपछि कोषको तर्फबाट उक्त प्रतिक्रिया आएको हो । 

कोषले नेपालले आश्चर्यजनक सफलता प्राप्त गरेको र वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै खुशी व्यक्त गरेको छ । “विश्वका बाघ पाइने १३ देशमध्ये सानो हिमाली देश नेपालले रोमाञ्चक र अभूतपूर्व सफलता प्राप्त गरेको छ”, कोषले भनेको छ । कोषले कार्यक्रम टिएक्स टु कार्यक्रम सफल बनाउनेमा नेपाल अग्रस्थानमा रहेको जनाएको छ । 

यो एउटा सफलताको उदाहरण हो, वन्य नेपालले जुन प्रकारको श्रेष्ठता हासिल गरेको छ, त्यो आफैँमा अद्विप्तीय छ । बाघको बासस्थान तथा रुचिकर भू–बनोटका कारण पनि संरक्षणमा सफलता प्राप्त भएको कोषको भनाइ छ । 

वन तथा भू–संरक्षण मन्त्रालय मातहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग कोषले सहकार्य गर्दै बाघ संरक्षणमा योगदान गरेको र बाघ गणनामा समेत सहभागी भएको जनाएको छ । विभागसँगको सहकार्यमा चार हजार ३८७ वटा बाघको तस्वीर खिचेको तथा एक हजार ७०० माइल वन जङ्गल क्षेत्रमा बाघ गणना गरिएको थियो । 

नेपालको तराई र भारतको सीमा क्षेत्रसँग जोडिएका स्थानमा गैँडा, हात्ती र ७० लाख बढी स्थानीयवासीसमेत रहेको पाइएको छ । बाघ संरक्षणमा सरकारले कानून कार्यान्वयन गर्ने निकायलाई सशक्त बनाएको, स्थानीय समुदाय र गैरसरकारी संस्थासँग समेत सहकार्य गरेका कारण पनि उल्लेख्य प्रगति हासिल गर्न सफल भएको कोषले उल्लेख गरेको छ । 

नेपाल, भूटान, भारत, रसियाले बाघको सङ्ख्या बढाउन महत्वपूर्ण योगदान गरेको भन्दै कोषले नेपालले प्राप्त गरेको सफलता भने अद्वितीय रहेको जनाएको छ । कोषले सरकार, वैज्ञानिक, वनपाले र स्थानीय समुदायसँग मिलेर एसियामा बाघको चोरी शिकारी नियन्त्रण र बासस्थान संरक्षणमा काम गर्दै आएको साथै मानव र बाघबीचको द्वन्द्वलाई उपयुक्तरुपमा सम्बोधन गर्न प्रयासरत रहेको उल्लेख गरेको छ । 

सरकारले बाघ संरक्षण उच्च प्राथमकितामा रहेको र पछिल्लो पटक बढेको सङ्ख्याले समेत उत्साहित बनाएको जनाएको छ । करीब १०० वर्ष पहिले संसारभर एक लाख बढी बाघ भए पनि चोरी शिकारी, बासस्थानको अतिक्रमण तथा फँडानीका कारण क्रमशः घट्दै गएको र सन् २०१६ मा आइपुग्दा तीन हजार २०० को हाराहारीमा आइपुगेको छ । 

कोषले सन् २०१६ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वमा बाघ पाइने १३ देशमध्ये भारतमा दुई हजार २२६, रसियामा ४३३ र इण्डोनेशियामा ३७१ बाघ पाइएको छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Goma Basnet

    Sept. 25, 2018, 6:23 a.m.

    Oh that's a great news for us

  •  0 Reply

तपाईको प्रतिक्रिया