बार्सिलोना र रियल मड्रिडको हार

 असोज ११, २०७५ बिहिबार ६:५२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगाका शीर्ष टोलीहरु बार्सिलोना र रियल मड्रिडले आ–आफ्नो खेलमा अप्रत्यासित पराजय ब्यहोरेका छन् । ला लिगामा एकै दिन दुवै टोली पराजित भएको सन् २०१५ पछि पहिलो पटक हो । 

गएराति भएको खेलमा रियल मड्रिडले सेभियासँग ३–० को पराजय ब्यहोर्दा लिग तालिकाको अन्तिममा रहेको लेगानेसले शीर्ष स्थानमा रहेको बार्सिलोनालाई २–१ गोलले हरायो । बार्सिलोनाले अग्रता लिएर पनि जोगाउन सकेन ।

आन्द्रे शिल्भाले खेलको १७औं र २१औं मिनेटमा गोल गरी घरेलु टोली सेभियालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर विसम बेन याडरले उत्कृष्ट भली गोलमार्फत टोलीलाई ३–० को अवस्थामा पुर्‍याए । याडरको यो सिजनको छैटौं गोल हो । 

दोस्रो हाफमा रियलले खेलमा फर्कने प्रयास गरेको थियो । तर, सेभियाको रक्षापंक्तिले उसको प्रयास विफल पारिदियो । हालैमात्र फिफा वर्षखेलाडीको अवार्ड जितेका क्रोएशियाली प्लेमेकर लुका मोड्रिचले दोस्रो हाफमा गोल गरेको थिए । तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड करार गरिदिए ।

यता बार्सिलोनाले सुरुआती अग्रता लिएर पनि जोगाउन नसक्दा लिग तालिकाको पुछारमा रहेको लेगानेसलाई सिजनको पहिलो जितको अवसर दियो । फिलिप काउटिन्होले मेस्सीको पासमा खेलको १२औं मिनेटमै गोल गरेका थिए ।

तर, लेगानेसका लागि नाभिल एल जार र ओस्कार रोड्रिग्वेजले ८० सेकेण्डको अन्तरमा दुई गोल गरेपछि मेस्सी प्रेरित बार्सिलोनाले सिजनमा पहिलो हार ब्यहर्‍याे । अर्नेस्टो भाल्भर्डेले गत सिजनमा टिम सम्हालेपछि लिगमा बार्सिलोनाको यो दोस्रो पराजय हो ।

पराजय पछि पनि बार्सिलोना र रियल मड्रिड समान ६ खेलबाट समान १३ अंकसहित लिगको शीर्ष र दोस्रो स्थानमा छन् । सेभिया १० अंकसहित अंकतालिकाको चौथो स्थानमा पुगेको छ भने लेगानेस पनि महत्वपूर्ण तीन अंक जोडेर लिगको १७औं स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया