धादिङमा स्क्रप टाइफस र डेंगोको महामारी फैलिन सक्ने चेतावनी

 असोज १३, २०७५ शनिबार १८:१९:२५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङमा  स्क्रब टाइफस र डेंगो रोगका बिरामीको संख्या बढेसँगै महामारीको खतरा बढेको छ ।

स्क्रब टाइफस र डेंगो रोगका बिरामीको संख्या बढे पनि नियन्त्रणका लागि उपायहरु अपनाउन ढिलाइ भइरहेको स्वास्थ्यकर्मीहरुको आरोप छ । समुदायका मानिसहरु यसको नियन्त्रणका लागि उपाय खोजी गरेको भए पनि प्रविधिक दक्षता नहुने भएका कारण स्थानीयहरुलाई समस्या भएको हो ।

स्क्रब टाइफसका बिरामी १६ नाम र डेंगो रोगका बिरामी चारजना देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताउनुभयो । गएको वर्ष डेंगो रोग महामारीको रुपमा फैलिएको धादिङमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको टोलीले डेंगो सार्न सक्ने लामखुट्टेको बाससस्थान पहिचान गरी लामखुट्टे परीक्षण गरिरहेको छ ।

धादिङबेसी बजारमा लामखुट्टेको परीक्षण गर्दा ७५ प्रतिशत लामखुट्टे डेंगो सार्न सक्ने भेटिएको र यसबाट बच्नका लागि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयबाट परीक्षणका लागि सदरमुकाम आउनुभएका प्रदीप श्रेष्ठले बताउनुभयो । 

जिल्ला अस्पतालमा बिरामी भएर रगत जाँच गराउन आएका बिरामीहरुको मात्र परीक्षण गर्दा देखिएको बिरामीभन्दा बढी निजी अस्पताल र मेडिकलहरुमा आउने बिरामीहरुमा पनि रोगको लक्षण देखिएको स्वास्थ्य कर्मीहरुको भनाइ छ । 

स्क्रब टाइफस र डेंगोका विरुद्ध सचेतना अभियान सञ्चालन गर्न गएको वर्षहरुमा जिल्ला स्वास्थ्य कार्यालयले अभियानहरु सञ्चालन गर्ने गरेको थियो भने यस वर्ष जिल्ला स्वास्थ्य कार्यालय बन्द जस्तो अवस्थामा पुगेको र जिल्ला अस्पतालले समेत औषधि समेत खरिद गर्न नसकेर ससमस्यामा परेका कारण सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् ।

स्वास्थ्यका सबै बजेट स्थानीय सरकारकोमा गएको भएपनि स्थानीय तहको सरकारले स्वास्थ्यलाई गम्भीर रुपमा लिन सकेको छैन । जिल्ला सदरमुकाम रहेको निलकण्ठ नगरपालिका क्षेत्रमा समस्या भए पनि स्थानीय सरकारले यस विषयमा चासो देखाएको छैन । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया