नेकपा एकताको एक वर्ष : के भयो, के गर्दैछन् ?

 असोज १८, २०७५ बिहिबार १०:२:५७ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं - पोहोर यतिबेला दसैँको रमझम थियो । धेरैलाई ससुराली र मावलीमा गएर टीका लगाउने हतारो थियो । तर तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने दसैँमा रमिरहेकाहरुलाई ‘सरप्राईज’ दिने योजना बुन्दै थिए । कसैले भेउ समेत पाउन सकेनन् ।

सर्वसाधारण नागरिकलाई त परै जाओस्, पार्टी भित्रैका दोस्रो तहका नेतालाई पनि पार्टी एकता हुँदैछ भन्ने सुईंको समेत थिएन । ओली र प्रचण्ड बाहेकका सीमितका केही नेता मात्रै त्यो ‘सरप्राईज’को साक्षी थिए । टीकाको तेस्रो दिन गएको असोज १७ गते दुबै पार्टीबीच एक भएर चुनावमा सामेल हुने औपचारिक निर्णय भयो । दुई पार्टी मात्रै नभएर यसमा डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्ति नेपाल पनि सामेल हुन पुग्यो । 

२०७४ को दसैँ वाम तालमेलको दसैँ नै बन्यो । दसैँको नौरथा नसकिँदै तत्कालीन एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले ‘सरप्राइज’ दिएपछि देशको राजनीतिमा तरंग नै उत्पन्न भयो ।  यसले सरकार संचालनको बागडोर सम्हालेको नेपाली कांग्रेस अचम्मित बन्यो ।

सँगै सरकार संचालन गरिरहेको तत्कालीन माओवादी केन्द्र एमालेसँग मिल्ने घोषणा गर्नुले कांग्रेस ‘सरप्राईज’ मात्रै भएन, उसलाई ठूलो झड्का नै लाग्यो । 

सँगै सरकार संचालन गरिरहेको तत्कालीन माओवादी केन्द्र एमालेसँग मिल्ने घोषणा गर्नुले कांग्रेस ‘सरप्राईज’ मात्रै भएन, उसलाई ठूलो झड्का नै लाग्यो । 

स्थानीय तहको चुनावमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । तर केन्द्र र प्रदेशको चुनावमा एमालेसँग तालमेल गर्दै पार्टी नै एकता गर्नेसम्मको माओवादीको निर्णयले कांग्रेस स्तब्ध बन्यो ।   

पोहोरको असोज १७

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई मध्यनजर गर्दै तत्कालीन एमाले र माओवादीले चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने सहमति गर्दै थिए । त्यसको घोषणासभाको तयारी हुँदै गर्दा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति थपिन पुग्यो ।  

तीन पार्टीबीच चुनाव लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने घोषणा गएको वर्ष असोज १७ मा भयो । त्यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजना समिति गठन गरियो । समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य राखियो ।  

राष्ट्रिय सभा गृहमा तामझामका साथ तीनै दलले चुनावी तालमेल गर्दै चुनावपछि पार्टी एकता गर्नेसम्मको घोषणा गरे ।  एमाले, माओवादी र नयाँ शक्तिको तालमेलले गाउँगाउँसम्म रौनक छायो । अघिल्लो दिन आपसमा विरोधी रहेकाहरु भोलिपल्टदेखि एक भए । यही असोज १७ ले नै अहिले दुई ठूला कम्युनिष्ट पार्टीहरुलाई एकै सूत्रमा बाँध्ने काम गर्यो ।  

दश दिनपछि बाबुरामको बहिर्गमन 

चुनावी तालमेल गर्दै पार्टी एकता गर्नेसम्मको घोषणा गरेको दश दिन बित्न नपाउँदै तालमेलबाट डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी बाहिरियो । वाम एकता र चुनावी तालमेल घोषणामा सहभागी भएका डा. भट्टराई आफ्नै पार्टीको ‘देब्रे आँखा’ चिन्ह लिएर गोरखा–२ बाट चुनाव लड्नुभयो ।  

दश दिनअघि तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेका भट्टराई भागबण्डामा कुरा नमिलेपछि आफ्नै पार्टीको चुनाव चिन्हमा चुनाव लड्न मैदान उत्रनुभयो । भट्टराईलाई गोरखा २ बाट चुनाव लड्न तत्कालीन माओवादी केन्द्रले असहमति जनाएपछि बाहिरिनु परेको थियो ।

गोरखा २ मा माओवादीले नारायणकाजी श्रेष्ठ प्रकाशलाई चुनावमा उतार्यो । वाम एकताबाट बाहिरिएका भट्टराईले कांग्रेससँगको सहकार्यमा प्रकाशलाई पराजित गर्दै चुनावमा जित हात पार्नुभयो । तालमेलको दश दिन नबित्दै डा. भट्टराईले गठबन्धन त्याग्दा गठबन्धनको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी आए ।

कतिपयले एमाले र माओवादीको गठबन्धन चुनावसम्म मात्रै सीमित हुने आंकलन गरे भने कतिपयले यो तालमेललाई कोदो र तोरीको तालमेलसमेत भन्न भ्याए । 

चुनावमा सफलता

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये तत्कालीन एमाले एक्लैले झण्डै बहुमत ८० सिटमा जित हात पार्यो । माओवादी केन्द्र ३६ स्थानमा विजयी भयो भने कांग्रेस जम्मा २३ सिटमै खुम्चिन पुग्यो ।  

एमाले र माओवादीको चुनावी एकताले देशैभर वाम गठबन्धनको लहर छायो । गठबन्धन घोषणामा सहभागी नयाँ शक्ति दस दिनमा बाहिरिए पनि दुई दल एमाले र माओवादी संयुक्त घोषणापत्रमा चुनाव लडे । उनीहरूलाई नागरिकले विश्वास गरेर शानदार मत दिए । देशैभर वाम गठबन्धनका उम्मेद्वार विजयी भए । 

प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये तत्कालीन एमाले एक्लैले झण्डै बहुमत ८० सिटमा जित हात पार्यो । माओवादी केन्द्र ३६ स्थानमा विजयी भयो भने कांग्रेस जम्मा २३ सिटमै खुम्चियो ।  

यस्तै प्रदेशसभातर्फ पनि एमालेले ५१ प्रतिशत सिटमा जित हात पार्यो । माओवादीले २२ प्रतिशतमा जित हात पार्दा कांग्रेस १२ प्रतिशतमै खुम्चियो । समग्रमा चुनावी तालमेल गरेका एमाले र माओवादीको गठबन्धन अर्थात वाम गठबन्धनको पक्षमा स्पष्ट बहुमत आयो । 

ओली नेतृत्वमा सरकार

चुनावमा स्पष्ट बहुमत ल्याउँदा समेत वाम गठबन्धनले तीन महिनासम्म सरकार बनाउन पाएन । अन्ततः फागुन ३ गते तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्यो । यसबीचमा पार्टी एकतापछि मात्रै सरकार बनाउने भनिए पनि त्यो तीन महिनासम्ममा पनि पार्टी एकताका लागि कुनै ठोस निर्णय हुन सकेन । 

फागुन तीनमा सरकार गठन गरिए पनि पार्टी एकता हुने नहुने अनिश्चतता कायमै रह्यो । पटक पटक पार्टी एकताको मिति तोकिए पनि एकता हुन नसक्दा दुबै पार्टीको एकता टर्ने कतिपयले टिप्पणी समेत गरे । 

राष्ट्रिय–अन्तर्राष्ट्रिय केही शक्ति केन्द्र पनि एकताको विपक्षमा रहेको दुबै पार्टीका नेताहरुले बताउँदै आएका थिए । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो, ‘त्यस्ता देशीविदेशी चलखेललाई समेत जिल्याउँदै हामीले पार्टी एकता गराई छाड्यौँ ।’  

एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिस्ट पार्टी गठनले सफलता प्राप्त गर्यो । एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी नेपालकै ठूलो र एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल समेत बन्न पुग्यो ।  

औपचारिक एकता ०७५ जेठ ३ 

विभिन्न आशंका र अड्कलबाजीका बाबजुद ०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीचको एकीकरणले मूर्त रुप लियो । एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिस्ट पार्टी गठनले सफलता प्राप्त गर्यो । एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी नेपालकै ठूलो र एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल समेत बन्न पुग्यो ।  

एसियामा चीन र भियतनामपछि नेपाल कम्युनिस्ट पार्टी तेस्रो दल बनेको हो । यी तीनवटै देशमा कम्युनिस्ट पार्टी सत्तामा छ । चीन र भियतनाममा सशस्त्र विद्रोहबाट सत्तामा पुगेका कम्युनिस्ट पार्टीले एकदलीय शासन गर्दै आएका छन् । नेपालमा भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट कम्युनिस्ट पार्टी सत्तामा आएको हो ।  

दुई पार्टीको एकीकरणसँगै स्थानीय, प्रदेश तथा संघीय सरकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्पष्ट बहुमत छ । सातसय ५३ स्थानीय तहमध्ये नेपाल कम्युनिस्ट पार्टीको एकल बहुमत भएका चार सयभन्दा बढी स्थानीय तह छन् भने सातमध्ये ६ वटा प्रदेशमा स्पष्ट बहुमत छ । जहाँ पार्टी एकीकरणभन्दा अघि नै सरकार बनेका थिए । संघीय सरकार र सदनमा पहिलो पटक नेपालमा कम्युनिस्ट पार्टीको एकल बहुमत छ ।  

एकतापछिको पार्टीको काम अलपत्र

जसरी एसियामै तेस्रो ठूलो कम्युनिष्ट पार्टीको रुपमा पार्टी एकता भयो, त्यसअनुसार पार्टीको तल्लो तहसम्म गर्नुपर्ने एकताले भने अझैसम्म पनि सार्थकता पाउन सकेको छैन । औपचारिक रुपमा पार्टी एकता भएको चार महिना पुगिसक्दा पनि पार्टीको केन्द्रमा बाँडफाँड टु्ग्याउनु बाहेक प्रदेश, स्थानीय तह तथा भातृ संगठनहरुको एकता हुन अझै सकेको छैन ।  

बल्लबल्ल सात प्रदेशको इन्चार्ज तथा अध्यक्षको टुंगो लगाएको भए पनि त्यसमा नेताहरुबीचमै चर्को विवाद छ । प्रदेशमा दिइएको जिम्मेवारीमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालकै असन्तुष्टि बाहिर देखिएको छ । बरिष्ठ नेता नेपालले त यो निर्णयलाई नमान्ने चेतावनी नै दिँदै आउनुभएको छ । पार्टी गठनपछि एक पटक बसेको स्थायी समितिको बैठक चार महिना बित्दा अझैसम्म पनि बस्न सकेको छैन ।  

बरिष्ठ नेता झलनाथ खनालले नेतृत्वको कमजोरीले पार्टीमा विधि र नीति नै हराएर गएको दावी गर्नुभयो ।

नेताहरु आफ्नो असन्तुष्टि राख्ने ठाउँ नभएको भन्दै सामाजिक सञ्जालमै आरोप प्रत्यारोपमा उत्रन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकारसमेत रहनुभएका विष्णु रिमाल र युवा नेता योगेश भराईबीच सामाजिक सञ्जाल ट्वीटरमै आरोप प्रत्यारोप चल्यो । 

बरिष्ठ नेता झलनाथ खनालले नेतृत्वको कमजोरीले पार्टीमा विधि र नीति नै हराएर गएको दावी गर्नुभयो । पार्टी एकता सभामा तीन महिना भित्रैमा आधारभूत तहमा पार्टी एकताको काम सक्ने घोषणा गरिएको भए पनि झण्डै साढे चार महिना पुगिसक्दा पनि त्यसमा कुनै प्रगति हुन सकेको छैन ।

अहिले तल्लो तहमा पार्टी अस्तव्यस्त छ भन्दा पनि हुने अवस्था छ । जिल्ला, गाउँ र नगरमा पार्टी कमिटीहरू छैनन् । दुबै पार्टी एक हुने भनेसँगै दुबैले आफ्नो आफ्नो तल्लो तहका कमिटीहरु भंग गरे । तर समयमै एकता हुन नसक्दा अहिले पार्टी भद्रगोल जस्तै बनेको छ । 

प्रदेश कमिटीको नेतृत्व चयनमा वरिष्ठ नेताहरुकै असन्तुष्टि छ । यसले एकताको मर्म र उत्साहमा नै आँच आउन थालेको छ । नेतृत्वले आफूहरुको कुरा सुन्न छाडेको भन्दै नेताहरु आ–आफ्नो गुट खडा गर्ने गरि छुट्टाछुट्टै भेला गर्न थालिसकेका छन् । पार्टीका बरिष्ठ नेता झलनाथ खनाल गुट उपगुट बनाउने भन्दा पनि पार्टीलाई मजबुद बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै त्यसका लागि नेतृत्व सच्चिन जरुरी रहेको बताउनुहुन्छ ।

तल्लो तहको एकता तिहार पछिसम्म लम्बिने संकेत  

प्रदेश तहको जिम्मेवारी बाँडफाँड टुंग्याएको नेकपाले जिल्ला, नगर र गाउँसम्मको एकताका लागि प्रदेश कमिटीलाई नै जिम्मेवारी सुम्पेको छ । असोजको सुरुवातमै सातै प्रदेशका इञ्चार्ज, सह–इञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको थियो ।

यद्यपि गठन भएको प्रदेश कमिटीलाई लिएर नेताहरुबीच नै विवाद कायमै छ । तर पनि आधारभूत तहसम्मको एकता प्रक्रिया टुंग्याउन गठन भएको प्रदेश कमिटीले सहज भूमिका खेल्ने नेकपा प्रदेश एकका इन्चार्ज भीम आचार्यले बताउनुभयो । 

जिल्ला, नगर र गाउँ तहका साथै विद्यार्थी तथा विभिन्न भ्रातृ संगठनसम्मको एकीकरण गर्न भन्दै यसअघि गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनकै आधारमा रहेर प्रदेश कमिटीले काम अगाडि बढाएको आचार्यले बताउनुभयो ।  

कार्यदलले टुंग्याएको नेतृत्व र नामका विषयमा प्रदेश कमिटीले छलफल गरिरहेको छ । धेरै जसो जिल्लामा बाँडफाँड पनि टुंगो लागिसकेको र केही मिल्न बाँकी रहेकोमा पनि छलफल र सहमतिका आधारमा निष्कर्ष निकालिने उहाँले बताउनुभयो  

पूर्व एमाले र पूर्व माओवादी पृष्ठभूमिबाट एकता गर्नुपर्ने अवस्था रहेकाले जुन जिल्लामा जसको बहुलता थियो, त्यसैको नेतृत्व हुने गरी एकतालाई टुंगो लगाउने तयारी छ । जिल्लाको अध्यक्ष र सचिव पदमा एकअर्कालाई बाँडफाँड गरेर एकता प्रकृया सहज रुपमा मिलाउन आफूहरुले काम गरिरहेको गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारीले बताउनुभयो । 

प्रदेश १ का इन्चार्ज भीम आचार्यले दसैँ अगाडिसम्म जिल्लाको टुंग्याउन सकिए तिहारपछिसम्ममा गाउँ, नगर तहसम्मको एकताले पूर्णता पाउने बताउनुहुन्छ । 

पार्टीको तल्लो तहसम्मको एकता तिहार पछिसम्म पनि लम्बिन सक्ने प्रदेश ३ का सह–इन्चार्ज नारायण दाहालले बताउनुभयो । जिल्ला तहको एकता दसैँ अगाडि नै सक्ने भनिए पनि प्रदेशहरुले राम्ररी काम गर्न सकेका छैनन् ।

नगर र गाउँ तहसम्मको एकतामा प्रदेशले अहिलेसम्म कुनै छलफल नै अगाडि बढाउन सकेको छैन । प्रदेश १ का इन्चार्ज भीम आचार्यले दसैँ अगाडिसम्म जिल्लाको टुंग्याउन सकिए तिहारपछिसम्ममा गाउँ, नगर तहसम्मको एकताले पूर्णता पाउने बताउनुहुन्छ । 

पार्टीको केन्द्रीय कमिटीले आधारभूत तहसम्मको एकता गर्ने जिम्मेवारी प्रदेशलाई दिएकाले अहिले प्रदेश तहले काम गरिरहेको नेकपाका महासचिव विष्णु पौडेल बताउनुहुन्छ । ‘हामी जतिसक्दो चाँडो तल्लो तहसम्म पार्टीलाई एक बनाएर अगाडि बढ्ने तयारीमा छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि आवश्यक गृहकार्यहरु पनि भइरहेकै छ ।’ 

‘फरक फरक विचारधारा बोकेका दुई ठूला पार्टीहरुको मिलन भन्ने बित्तिकै भइहाल्ने होइन, त्यसका लागि पर्याप्त छलफल र गृहकार्य आवश्यक छ’ महासचिव पौडेलले भन्नुभयो, ‘ केन्द्रमा हामी एक भइसकेका छौँ । तल्लो तहसम्म, गाउँगाउँसम्म हामीले बुझाउँदै हिँड्नु पर्ने छ । त्यसैले केही लम्बिएको देखिएको मात्रै हो ।’

जनस्तरसम्मै एकताको औचित्य प्रष्ट पार्दै आधारभूत तहसम्मको एकता गर्न आफूहरुले चाहेको उहाँले दाबी गर्नुभयो । ‘साथीहरुले मेहनत गरिरहनु भएको छ, हामी छिट्टै आधारभूत तहसम्मको एकतालाई सार्थकता दिएर एउटा सबल र सुदृढ पार्टी बन्ने छौं’ उहाँले भन्नुभयो ।

ठूलो पार्टीमा केही कुरामा वादविवाद हुनु सामान्य रहेको उहाँले बताउनुभयो । ‘वादविवादले नै ठोस निष्कर्ष निस्कने हो नि,’ उहाँले भन्नुभयो, ‘पार्टीका लागि, पार्टी गतिशील बनाउनका लागि पर्याप्त वादविवाद हुनुपर्छ, छलफल हुनुपर्छ, अनि मात्रै पार्टी सुदृढ हुन्छ, सबल हुन्छ ।’ अब छिट्टै पार्टीको केन्द्रीय कमिटी बैठक र स्थायी समिति बैठक बसेर बाहिर देखिएका विवादको निरुपण गर्ने पनि उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया