माथिल्लो दोर्दी–ए जलविद्युत आयोजनाको सुरुङ निर्माण सकियो, छिट्टै उत्पादन सुरु हुने

 असोज १८, २०७५ बिहिबार १८:५२:४ | श्यामशितल परियार
unn.prixa.net

 लमजुङ – लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । 

जलविद्युत आयोजनाले मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरेको छ । भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य एकवर्ष ढिला भएको आयोजनाले बिहीबार मुख्य सुरुङको ‘ब्रेक थु्र’ गरेको हो ।      

२०७१ देखि आयोजनाले निर्माण कार्य सुरु गरेको हो । आयोजनाको कूल २ हजार ६ सय २३ मिटर लामो भूमिगत सुरुङ निर्माण कार्य सकिएको लिवर्टी इनर्जी हाइड्रोपावरका सञ्चालक राजेन्द्र वस्तीले बताउनुभयो ।    

‘विद्युतगृह र बाँधको कूल दूरी ५ हजार ४ सय ५७ मिटरमध्ये २ हजार ८ सय ५४ मिटरको भागमा पेनस्टक पाइप बिच्छ्याइएको छ,’ उहाँले जानकारी गराउनुभयो । 
मुख्य सुरुङको ‘ब्रेक थु्र’ गर्न सफल भएसँगै अब छिट्टै नै आयोजनाबाट विद्युत उत्पादन सुरु हुने उहाँको भनाई छ ।

 लिवर्टीका अध्यक्ष कुशकुमार जोशीले लक्षित समयभित्रै विद्युत उत्पादन गर्ने उल्लेख गर्नुभएको छ । 

‘सरकारले ट्रान्समिसन लाइन समयमै बनाउन पहल गरेमा आयोजनाबाट उत्पादित विद्युत खेर जाने छैन,’ उहाँले भन्नुभयो । प्रवद्र्धक कम्पनी लिवर्टीका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले आयोजनाको कुल प्रगति ८० प्रतिशत भएको बताउनुभयो ।    

उहाँले भन्नुभयो, ‘आगामी मार्चभित्रै आयोजनाले भौतिक संरचना निर्माण सम्पन्न गर्ने तयारीमा लागेका छौँ । निर्माणकार्य धमाधम अघि बढिरहेको छ ।’ 

आयोजनाको  बाँध र विद्युतगृहको ६०, पेनस्टक पाइपको ९० प्रतिशत काम सकिएको छ । लमजुङको दोर्दी–६, ढोडेनी र दोर्दी–७ फलेनीमा निर्माण गरिएको यस आयोजनाले तल्लो सिमिमा रहेको लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट ५ हजार ४ सय ५७ मिटर तल मालेबगरमा निर्माण गरिएको विद्युतगृहमा लगेर पानी खसाल्छ । 

आयोजनामा १२ दशमलव ५ मेगावाट क्षमताका २ वटा पेल्टन टर्वाइन (घट्ट) रहने छन् । हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र बर्खाको समयमा ४ रुपैयाँ ८० पैसा रहने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । 

कूल चार अर्ब लागत रहेको यस आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत प्रवद्र्धकको इक्वीटी लगानी रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुनेछ । 
आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिरणले किर्तिपुरमा निर्माण गर्न लागेको १ सय ३२ केभी डबल सर्किटको सबस्टेशनमा जोडिनेछ ।   
 

अन्तिम अपडेट: चैत ३०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया