प्रदेश २ को प्रदेशसभा बैठक अाइतबारसम्मका लागि स्थगित

 असोज १९, २०७५ शुक्रबार १५:५५:५३ | शैलेन्द्र महतो
unn.prixa.net

फाइल तस्बिर

धनुषा – प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रदेश २ को प्रदेशसभा बैठक अाइतबारसम्मका लागि स्थागित भएको छ ।

शुक्रबार दिउँसो १२ बजे बसेको प्रदेशसभा बैठकमा सरकारको काम कारबाही ठिक नभएको भन्दै नेकपा र कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए । झण्डै १० मिनट चलेको बैठकको सुरुमै दुवै प्रतिपक्षी दलका सांसदहरुले सरकारबाट आवश्यक जवाफ नपाएसम्म बैठक चल्न नदिने भन्दै सदन अवरुद्ध गरेपछि सभामुख सरोज यादवले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएको थियो ।

तर प्रतिपक्षी दलका सांसदहरुसँग सदन चल्न दिन सहमतिको प्रयास गरे पनि असफल भएपछि सूचना टाँस गरेर बैठक अाइतबारसम्मका लागि स्थगित गरिएको हो । बैठकको शुरुमै कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरीले सभामुख सरोज यादवसँग विशेष समय मागेर बोल्दै सरकारको काम कारबाही ठिक नभएका कारण सदन अवरुद्ध गर्ने बताउनुभएको थियो ।

लगतै नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले प्रदेशको नामाकरण र भाषा टुंगो लगाउन ध्यान नदिएको तथा विभिन्न संसदीय समिति तय गर्न नसकेकोमा आक्रोश पोख्दै जवाफ नपाएसम्म सदन चल्न नदिने बताउनुभयो ।

त्यस्तै नेकपाका प्रदेश सांसद रामचन्द्र मण्डलले प्रदेश सरकार अराजक गतिविधितर्फ उन्मुख भएको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारले करारमा कर्मचारी भर्ना सम्बन्धी विधेयक, प्रदेश प्रहरी ऐन ल्याएर द्वन्द सृजना गर्न खोजेको आरोप लगाउनुभयो । मण्डलले प्रदेश सरकारको रेड बुकमा देखिएको योजनाहरु बारा र पर्सामा बढी केन्द्रित भएको भन्दै आक्रोश पोख्नुभयो ।

–अनिश्चित समयका लागि भएकाे ठाउँमा अाइतबारसम्मका लागि भएकाे पछिल्लाे जानकारी अाएकाले सच्याइएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया