डोटीका एचआईभी सङ्क्रमित महिलालाई घरखर्च चलाउनै मुस्किल

 मंसिर २९, २०७९ बिहिबार १०:२५:६ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको पूर्वीचौकी गाउँपालिकाकी दुर्गा विष्ट (नाम परिवर्तन) लाई एचआईभी सङ्क्रमण भएको दश वर्ष भयो । एचआईभी कारण श्रीमानको मृत्यु पश्चात् घरमा हातमुख जोर्न समस्या भएपछि दुई वर्ष पहिला आफ्ना १५ वर्षीय छोरालाई काम गर्न भारत पठाउनुभयो । लामो समयसम्म भारतमा काम गर्दै आउनुभएका श्रीमानको एचआईभीकै कारण ज्यान गएपछि तीन छोराछोरीको पालनमा आर्थिक समस्या पर्न थाल्यो । आर्थिक अभावकै कारण ७ कक्षा पढ्दैगरेको छोरालाई छिमेकीहरुसँगै भारत पठाउनु परेको दुर्गाले बताउनुभयो ।

भारतको एक होटेलमा काम गर्दै गरेको छोराले पठाएको रकमबाट घरमा जोडेको बिजुलीतर्फ देखाउँदै दुर्गाले भन्नुभयो, ‘श्रीमानको निधनपछि घर खर्चको समस्या भयो त्यसैमा आफू पनि बिरामी भइरहने, घरमा भोकै मर्नुभन्दा भारत गएपछि पेटभरी खान त पाउँछ भनेर काम गर्न पठाएँ । दुई वर्षपछि २५ हजार रुपैयाँ घर पठाएको थियो । त्यही पैसाले घरमा बिजुली जोडेँ ।’ आर्थिक अभावका कारण समस्या झेलिरहनु भएकी दुर्गा मात्र हुनु हुन्न, घरमा नियमित रुपमा आम्दानी गर्दैगरेका श्रीमानको ज्यान गएपछि डोटी जिल्लाका एचआईभी सङ्क्रमित एकल महिलालाई आर्थिक समस्या पर्ने गरेको छ । 

एचआईभी सङ्क्रमितले दैनिक एआरभी औषधि खानुपर्ने हुन्छ । दुई महिनामा एक पटक डोटी जिल्ला अस्पताल एआरटी सेन्टरबाट औषधि लिन आउँदा गाडी भाडा तिर्न समेत समस्या हुने गरेको डोटीको सायल गाउँपालिकाकी एचआईभी सङ्क्रमित एकल महिला धना साउँद (नाम परिवर्तन) ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘डाक्टरले औषधिसँगै पौष्टिक खाना खानु भन्छन् हामीले भोको पेटमा औषधि खानुपर्ने बाध्यता छ।’

एचआईभी सङ्क्रमित एकल महिलाको आय–आर्जन हुने किसिमका कार्यक्रममा सरकारी स्तरबाट प्राथमिकता नदिएको गुनासो एचआईभी सङ्क्रमितको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाज डोटीकी अध्यक्ष कमला मल्लको छ । उहाँले भन्नुभयो, ‘एचआईभी नियमित रूपमा औषधि खाएर स्वास्थ्य राम्रै भएको भए पनि न्यून आय भएका एचआईभी सङ्क्रमित महिलाका लागि भनेर छुट्टै कार्यक्रम सरकारी स्तरबाट आउन सकेको छैन । एकल महिलाभित्र एचआईभी सङ्क्रमित एकल महिलाहरू बढी पीडामा छन् । राज्य पक्षबाट उहाँहरुको पीडा सम्बोधन हुनुपर्छ ।’

कामका लागि भारतमा जाने पुरुषहरूले गर्ने असुरक्षित यौनसम्पर्क कारण एचआईभी सङ्क्रमण हुनेगरेको यस क्षेत्रमा राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र (एनसीएएससी) लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको अध्ययनले देखाएको छ । स्वास्थ्यकर्मीका अनुसार डोटीका प्रायजसाे महिलामा एचआईभी सङ्क्रमण श्रीमानबाटै भएको पाइएको छ ।

डोटी जिल्ला अस्पताल एआरटी सेन्टरमा रहेको तथ्याङ्क अनुसार डोटी जिल्लामा अहिलेसम्म एक हजार ८३ जनामा एचआईभी सङ्क्रमण पत्ता लागेको छ । अहिले चार सय ९२ जनाले नियमित एआरभी औषधि खाइरहेकामा एक सय ९९ जना एचआईभी सङ्क्रमित एकल महिला रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया