आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
बाढी पसेको गुफामा फसेर उद्धार गरिएका थाइल्याण्डको ‘वाइल्ड बोअर्स’ फुटबल टिमलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले विशेष सम्मान गरेको छ ।
नौ दिनसम्म गुफामा थुनिएका ११ देखि १७ वर्षका किशोरसँगै उनीहरुका प्रशिक्षक एकापोल चाङ्थावङलाई अर्जेन्टिनाको ब्यूनस आयर्समा जारी युथ ओलम्पिकको उद्घाटनमा सम्मान गरिएको हो । उनीहरुलाई आईओसीका अध्यक्ष थोमस बाक र ब्यूनस आयर्सका मेयर रोद्रिगेज लारेटाले स्वागत गरेका थिए ।
उनीहरुलाई उद्घाटन समारोहका लागि सडकमा उत्सव मनाइरहेका हजारौँ खेलप्रेमीका बीचमा उपस्थित गराइएको थियो । अर्जेन्टाइन क्लब बोका रिभर प्लेटले पनि उनीहरुको सम्मानमा आफ्नो जुनियर टिमसँग ‘हाइप्रोफाइल’ फुटबल म्याच खेलेको थियो । रिभर प्लेटको यू–१३ टिमसँगको खेल ३–३ गोलको बराबरीमा सकिएको थियो ।
वाइल्ड बोअर्स टिमले युथ ओलम्पिकको रोलर स्पिट स्केटिङ खेल हेरेका थिए जहाँ उनीहरुले आइओसीको अध्यक्ष थाेमस बाकसँग भेटघाटको अवसर समेत पाएका थिए ।
थाइल्याण्डको त्याे टिम ओलम्पिक भिलेजमा नै बस्दै आएको छ । उनीहरु मंगलबार आफ्नो मुलुक फर्किने बताइएको छ ।
रसिया विश्वकप जारी रहेका बेला थाइल्याण्डको एक गुफामा फसेका किशोरहरुलाई फाइनलको केही दिनअघि उद्धार गरिएको थियो । फिफाका अध्यक्ष जियान्नी इन्फान्टिनोले पनि त्यस टिमलाई विश्वकपको फाइनल हेर्नका लागि रसियामा निमन्त्रणा दिएका थिए । तर स्वास्थ्यमा देखिएको समस्याका कारण उनीहरु रसियामा उपस्थित हुन सकेका थिएनन् ।