कुवेतबाट हिँडेको ६ महिना भयो, घर आइपुगिनन् इन्दिरा

 असोज २३, २०७५ मंगलबार १६:११:३७

रीना श्रेष्ठ/सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक – सिधा उडान भर्ने जहाजले कुवेतबाट नेपाल आइपुग्न चारदेखि पाँच घण्टा लगाउँछ । कुवेतबाट हिँडेको ६ महिना बित्दा पनि श्रीमती इन्दिरा सुब्बा घर नआइपुग्दा सिन्धुपाल्चोक स्याउलेका झलकबहादुर खत्रीलाई भोक न निद्रा भने झैं भएको छ । 

झलकबहादुर खत्री श्रीमती इन्दिराकाे तस्बिर देखाउदै ।

जहाज छुटेर पो हराइन कि । वा आफ्नो माया मारेर श्रीमतीले अर्कै बाटो पो समाइन कि । झलकबहादुरको मन बेचैन भएको छ । कुवेतबाट हिँडेकी श्रीमतीलाई खोज्नका लागि सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सिन्धुपाल्चोक चौतारामा रहेको सुचना केन्द्रमा आइपुगेका झलकबहादुर सोध्नुहुन्छ, ‘कुवेतबाट नेपाल आइपुग्न अझै समय लाग्छ र ।’

समयले निकै सताएको छ, कुराएको छ अनि रुवाएको छ झलकबहादुरलाई । कहिले आफ्नालाई खोसेर, कहिले टाढा बनाइदिएर । झलकबहादुरलाई तीन श्रीमती बिहे गर्नुपर्ने बाध्यता आइपर्‍यो तर तीनै श्रीमतीसँग एक हुन समयले दिएन । 

कुवेत गएकी कान्छी श्रीमती पनि नफर्किएपछि जिन्दगीले नै खुसीलाई बिदाइ गरे झैं भएको छ उहाँलाई । 

१८ वर्षको हुँदा मागी बिहे गर्नुभयो झलकबहादुरले । दुई सन्तान जन्मिए । माया थियो, दुःखसुखमा साथ थियो । ‘राम्रो कुरामा त भगवानले पनि आँखा लगाउँदा रहेछन्, उनलाई पनि भगवानले आँखा लगाए,’ झलक नमिठो मान्दै विगत सम्झनुहुन्छ । 

कान्छो छोरा चार महिनाका थिए ।  मुटुको रोगले उहाँकी श्रीमतीलाई लग्यो । तीन वर्ष कि छोरी र चार महिनाका छोराका लागि आमा आफैं बने झलकबहादुर । आमाले पनि बालबच्चा हुर्काउन सहयोग गर्नुभयो । 

दोस्रो बिहे 

घरव्यवहार र बालबच्चाको स्याहार एक्लै गर्न सजिलो थिएन झलकका लागि । आमाको सहयोग त थियो तर लामो जीवन एक्लै कसरी काट्ने । साथी त चाहिन्छ । सबैले यसै भन्थे झलकलाई । 

‘श्रीमती नहुँदा बालखा सन्तानलाई पनि दुःख भयो, मैले त यो गर्दा त्यो नहुने, त्यो गर्दा यो नहुने, हैरानी भएपछि दोस्रो विवाह गरेँ,’ झलक सुनाउनुहुन्छ । 

जेठी श्रीमती बितेको ३ वर्षपछि उहाँले दुई सन्तानका लागि आमालाई  भित्र्याउनुभयो । बालबच्चाका लागि आमा चाहिएको थियो त झलकलाई साथी । तर दोस्रो श्रीमतीसँगको यात्रा पाँचौ वर्षमा पूर्णविराम लाग्यो । दोस्रो श्रीमतीले अर्कैसँग विवाह गरिन् । 

‘ऊ हिँडेपछि मलाई त गाउँमा बस्नै मन लागेन, जता गएपनि सम्झना मात्र, त्यसैले काठमाडौं आएर ज्यामी काम गर्न थालेँ,’ झलक नमिठो विगत सम्झनुहुन्छ । 

विदेश पठाउने सर्तमा तेस्रो बिहे

झलकले बोकेका इट्टा र बालुवाले थुप्रै घर ठडियो । थुप्रै घरले आकार पाए । सँगै उहाँको जिन्दगीले नि एउटा सहयात्री भेट्टायो । यानिकी सँगै काम गर्ने इन्दिरा सुब्बासँग झलकको मन बस्यो । दुवैको पीडा उस्तै । कथा, व्याथा उस्तै । 

‘उनको पनि श्रीमानले दोस्रो बिह गेरेर उनलाई छाडेका रहेछन्, मेरो र उनको व्याथा उस्तै त्यसैले बिहे गर्‍यौ,’ झलक इन्दिरासँग बिहे गर्नुको कारण सुनाउनुहुन्छ । २०६१ सालमा सुखदुःख र विगतलाई स्वीकार्दै झलक र इन्दिरा एक भए ।

इन्दिराको साथले भरिएझैं भएको थियो झलकलाई आफ्नो जीवन । विगत जे होस् तर वर्तमानले दुवैलाई एक बनाएको थियो । तर सर्त थियो भविष्य बनाउन विदेश जाने ।

‘उनले मसँग बिहे गर्दा विदेश जाँन दिने भएमात्र बिहे गर्छु नत्र गर्दिन भनेकी थिइन्, मैले पनि हाम्रै राम्रो लागि नाईं भन्ने कुरै भएन,’ झलक भन्नुहुन्छ ।

बिहेपछि ज्यामि काम गरेर कमाएको पैसाले इन्दिराले किराना पसल खोल्नुभयो । तर पसल राम्रो चलेन । पसल नचलेपछि इन्दिराले बिहे गर्दाको सर्त अनुसार नै विदेश जाने निधो गर्नुभयो ।

‘उसले विदेश जाने भनेपछि पैसा जुटाउन मैले ज्यामी काम गरेँ, उसले पनि तरकारी खेतीमा काम गरिन, त्यसरी पो पैसा जम्मा गरेको,’ झलक सम्झनुहुन्छ । 

झलक र इन्दिराले विदेश जाने पैसा जम्म गर्न २ वर्ष दुःख गरे । दुई वर्षमा जम्मा गरेको एक लाख ५० हजार रुपैयाँ तिरेपछि गाउँकै दलाल चन्द्रबहादुरले इन्दिरालाई युएई पठाए । 

२०६७ सालमा युएई लागेकी इन्दिराले केही महिनापछि एक लाख रुपैयाँ पनि पठाउनुभयो । इन्दिरा ३ वर्ष बस्नुभयो युएईमा । 

२०७१ सालमा बुवाको मृत्यु भएपछि उहाँ घर फर्किनुभयो । बिदा फर्किइन वा नफर्किने गरी । झलक जान्नुहुन्न । तर घर फर्किएको २२ दिन पछि इन्दिरा फेरि कुवेत जान काठमाडौं लाग्नुभयो । 

‘झापाको दाइले पठाउछु भनेको छ भन्थिन्, मैले कुन म्यानपावरबाट पठाउन लागेको हो भन्दा कुवेत पुगेपछि तिम्रो श्रीमतीले फोन गरिहाल्छिन् नि भने, म्यानपावर नै देखाएनन्,’ झलक गुनासो पोख्नुहुन्छ । 

युएईमा कमाएको पैसाले नै इन्दिराले छोरीको बिहे गराइदिनुभयो । ऋण पनि तिरिदिनुभयो । भूकम्पले घर भत्काइदियो । घरसँगै  जिन्दगी पनि भत्कियो भन्नुहुन्छ झलक । ८० वर्षकी बुढी आमा र झलक हुनुहुन्छ घरमा । ‘बुहारी आउँछे भनेर आमा कुरिरहनुभएको छ, त्यती माया गर्ने मान्छे कहाँ हराइन कहाँ,’ झलकका आँखा आँसुले भरिए । 

२०७३ को दसैँमा इन्दिराले खर्च पनि पठाउनुभएको थियो । तर युएईमा छँदा जस्तो निरन्तर फोन चाहिँ गर्नुहुन्नथ्यो । ‘फोन गरेका बेला आमालाई नरुवाउनु, छोराछोरीसँग पैसा नमाग म तिम्लाई पठाइदिन्छु भन्थिन्, त्यही देखि फोन पनि आएको छैन,’ झलक भन्नुहुन्छ । 

त्यो बेलामा गरेको नम्बरमा फोन गर्दा २०७५ वैशाखमा घर फर्किएको बताएपछि भने झलकलाई झन चिन्ता परेको छ । ६ महिना बित्दा पनि श्रीमती घर किन आइनन् भन्ने प्रश्नले छाडेको छैन झलकलाई । 

‘कहिले त जिस्काएको हो कि जस्तै पनि लाग्छ,’ झलक चित्त बुझाए झै गरी भन्नुहुन्छ । ‘उसको नम्बरमा अर्कै बहिनी बोल्नुहुन्छ, त्यो बहिनीले भनेको सत्य हो मेरो श्रीमती नेपाल आइपुग्ने बेला भएन र,’ झलक फेरि सोध्नुहुन्छ । 
 

अन्तिम अपडेट: कात्तिक २२, २०७५

तपाईको प्रतिक्रिया