६ वर्षीया बालिकालाई बलात्कार गर्ने १२ वर्षीय बालकलाई सुधारगृह पठाइयो

 असोज २४, २०७५ बुधबार १०:२०:५५ | रासस
unn.prixa.net

पर्वत – तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न, १२ वर्षीय बालक पनि बलात्कार जस्तो अपराधमा संलग्न हुन्छ भनेर । तर मुलुकभर बलात्कार र हत्याका घटना भइरहेका बेला छ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा १२ वर्षे बालक पुर्पक्षका लागि बाल सुधारगृह चलान भएका छन् । 

बालिका बलात्कार अभियोगमा १२ वर्षे बालक पर्वत जिल्ला अदालतको मङ्गलबारको आदेशले पुर्पक्षका लागि सुधारगृह चलान भएका हुन् । जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको आदेशले बालकलाई बाल सुधारगृह सराङ्कोट कास्की पठाइएको छ । 

पर्वतको जलजला गाउँपालिका–३ का ती बालकले असोज २ गते छिमेकमा डेरा गरी बस्ने छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप पीडित बालिकाले लगाएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । पीडित बालिकाको मेडिकल रिर्पोटमा समेत बलात्कार भएको देखिएको छ ।

प्रहरीले जबर्जस्ती करणी मुद्दाअन्तर्गत उजुरी दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले बालकलाई अभिभावकको संरक्षण तथा निगरानीमा रहने गरी घर पठाएको थियो । 

धरौटी तिर्न नसक्दा रिहा भए पनि थुनामै

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा १३ वर्षीया बालिका बलात्कार प्रयास गरेको अभियोग लागेका एक युवा रु दुई लाख धरौटीमा रिहा भए पनि आर्थिक अभावले कारागार चलान भएका छन् । 

घरमा सुतिरहेकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोग लागेका कुश्मा नगरपालिका–२ का २० वर्षीय विनोद नेपाली पुर्पक्षका लागि रु दुई लाख धरौटीमा छुटेका हुन् । 

पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले मङ्गलबार नेपालीलाई रु दुई लाख धरौटीमा छाडेर अनुसन्धान गर्न आदेश दिएको थियो । अभियुक्त नेपाली रु दुई लाख बुझाउन नसकेपछि पर्वत जिल्ला कारागारमा थुनामा छन् । 

अदालत बुधबारदेखि बिदा हुने भएकाले धरौटीमा छाड्ने आदेश भए पनि अभियुक्त नेपालीले दशैँ बिदामा पनि कारागार बस्नुपर्ने भएको छ । नेपालीले गएको भदौ २७ गते सोही ठाउँकी १३ वर्षीया बालिका घरको बारदलीमा सुतिरहेको अवस्थामा घरको भित्ता र खम्बा हुँदै बारदलीमा चढेर मुख थुनी जबर्जस्ती यौन क्रियाकलाप गर्न खोजेको अभियोगमा असोज ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया