सर्लाहीकाे लालबन्दी नगरपालिकाले ८ महिनामा २४ प्रतिशतमात्रै बजेट खर्च गर्‍याे

 फागुन ८, २०७९ सोमबार १९:३४:५२ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – लालबन्दी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाकाे अवधिमा २४ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । दाेस्राे चौमासिकसम्म आइपुग्दा २८ करोड रुपैयाँमात्रै खर्च भएको नगरपालिकाका मेयर वासुदेव अधिकारीले जानकारी दिनुभयो ।   

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब १६ करोड ७८ लाख ८५ हजार रुपैयाँकाे बजेट आठौँ नगर सभाबाट पारित गरेको  थियो । नगरपालिकालाई  सङ्घीय सरकारबाट ६८ करोड २४ लाख २७ हजार, प्रदेश सरकारबाट एक करोड ८२ लाख ६४ हजार, राजस्व बाँडफाँटतर्फ १५ करोड ९४ लाख ५७ हजार र आन्तरिक स्रोततर्फ २८ करोड ४७ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन भएको योजना अनुगमन शाखाका प्रमुख रेवती पौडेलले जानकारी दिनुभयो ।

कुल बजेटमध्ये दाेस्राे चौमासिक (माघ मसान्त) सम्म चालुतर्फ ३५ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ १० दशमलव ४२ र आन्तरिक स्रोततर्फ ५७ दशमलव ९ प्रतिशत खर्च भएको शाखाका प्रमुख पौडेलले बताउनुभयाे । 

साेमवार मुनाल सामुदायिक संस्थाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले उठाएको जिज्ञासाको जवाफ दिँदै मेयर अधिकारीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा पालिकाले शिक्षा, स्वास्थ्य, आधुनिक कृषिप्रणाली, खानेपानी, विद्यालय सुधार सडक निर्माण र थुप्रै समाजिक विकास सुधारको क्षेत्रमा काम गरेको विवरण प्रस्तुत गर्नुभयो । विनियोजित बजेट समयमा खर्च गर्न नसक्दा लक्ष्यअनुसारको काम गर्न कठिन हुने वडा नम्बर ७ का अध्यक्ष मीनकुमार कार्कीको बताउनुभयाे । नगरपालिकाले नीति तथा कार्यक्रम बनाउँदा विषयगत क्षेत्रलाई समेट्न नसकेको नेकपा एमाले लालबन्दी नगर कमिटी अध्यक्ष विक्रम भण्डारीले गुनासो गर्नुभयो ।

नगरपालिकाले सबैभन्दा बढी बजेट पूर्वाधार विकासमा खर्च गर्ने गरी नीति तथा कार्यक्रम बनाएको छ । त्यसपछि क्रमशः सामाजिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइको क्षेत्रमा प्राथमिकता दिएको छ । नगरले बजेट बनाउँदा संस्थागत विकासमा जोड दिएको भए पनि वातावरण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन र सुशासनजस्ता शीर्षकमा झिनो बजेट छुट्याएकाे छ । पालिकाका १७ वटै वडाले पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना तय गरेका छन् । यसरी बनाएको  बजेटले दुर्गम बस्तीका नागरिकको जीवनस्तरमा सुधार नहुने र उनीहरूको दैनिकीमा झनै समस्या पर्ने सरोकारवालाको भनाइ छ ।

बजेट बनाउँदा भूगोल र भौगोलिक विकटतालाई ध्यान नदिँदा साविक प्रवानीपुर, पत्थरकोट, नारायणखोला लगायत चुरेभावर र चुरे क्षेत्रको संरक्षण नहुने र त्यहाँका स्थानीयले वर्षा, बाढी, पहिरोको समस्या झेल्नुपर्ने बाध्यता रहेको भन्दै सराेकारवालाले चिन्ता व्यक्त गरेका छन् । त्यस क्षेत्रमा हिउँदमा खानेपानीको हाहाकार हुने र एक गाग्री पानी लिन एक घण्टा हिँड्नुपर्ने बाध्यता छ । सहभागीले गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बिजुली बत्ती विस्तार नभएकाले त्यसतर्फ ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया