पवित्र देवस्थल जनकपुरधाम, घुम्नै पर्ने ७ स्थल

 असोज ३१, २०७५ बुधबार ६:४४:५२ | शैलेन्द्र महतो
unn.prixa.net

जनकपुरधाम - उक्ति छ ‘अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाईन्छ । तर जनकपुरधाममा गरेको पापबाट अन्यत्र कतैपनि मुक्ति पाईदैन ।’ हो यसै कारण मानिसहरु विश्वको विभिन्न धार्मिक स्थलमा पूजापाठ गरेपनि अन्तमा जनकपुर आइपुग्छन् ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको जनकपुरधामलाई ५२ कुट्टी ७२ कुण्डाको शहरको नामले चिनिन्छ । जनकपुरमा पाईलै पिच्छे विभिन्न देवी देवताका आकर्षक मठमन्दिर र तालतलैया हेर्न पाईन्छ ।  

हिन्दु धर्माबलम्बीहरुको विशेष आस्थाको केन्द्र जनकपुरधाम पर्यटकीय नगरी मध्ये एक हो । प्राचीन मिथिलाको राजधानी एवं त्रेता युगका भगवान राम र आदर्शनारी सीताबिचको सम्बन्धले जनकपुरको महत्वलाई झनै बढाइदिएको छ । मिथिलामा दिनहुँ कुनै न कुनै चाडपर्व परिरहन्छ । त्यसको अवसरमा यहाँ रहेको मठ मन्दिर, तालतलैया, पाटीपौवा र कुट्टीहरुमा भजन किर्तन, पूजाआजाले भान हुन्छ ।

“याह छी हमर जनकपुर,
यी सीताके जनकपुर ।
यी जनकक गाम जनकपुर,
यी हमरा अहाँक जनकपुर ।।”

मैथिलीका वरिष्ट साहित्यकार रमेश रञ्जनको रचना र मिथिलाका चर्चित गायक सुनिल मल्लिकको स्वर रहेको ‘याह छी हमर जनकपुर............’ बोलको मैथिली गीत जनकपुरधामको धार्मिक तथा ऐतिहासिक परिचयलाई स्थापित गराएको छ । हर मठमन्दिरमा गुञ्जिने यस्तै खालको असंख्यक मैथिली गीत संगीतले पर्यटक तथा श्रद्धालुभक्तजनको मन मन्त्र मुग्ध बनाईदिन्छ । अनि भक्तजन र पर्यटकहरु उत्साहित हुँदै भन्छन्, ‘जय सीताराम, जय हो किशोरीजी, जय जनकपुरधाम.....’

धार्मिक र सास्कृतिक हिसाबले मिथिला संस्कृति विश्व मै धनी छ । जसको धरोहरको रुपमा जानकी मन्दिरलाई उभ्याईन्छ । त्यति मात्र होइन जनकपुरधाम वर्तमान प्रदेश २ को अस्थायी मुकाम छ ।

प्राचीन कालका कुरा गर्ने हो भने जनकपुरधाम मिथिलाको राजधानी नै थियो । र मैथिली भाषा, साहित्य, कला संस्कृतिको केन्द्रविन्दु पनि मानिन्छ ।

मिथिलाको विभिन्न चाडपर्वमा रामजानकी विवाहपञ्चमी महोत्सव, विजयदाशमी, दीपावली, छठ पर्व, रामनवमी, जानकी नवमी लगायतको चाडपर्वमा जनकपुरधमलाई वेहुली झै सृंगारिन्छ । यति मात्र होइन जनकपुरमा जानकी मन्दिर लगायत राममन्दिर, राजदेवी मन्दिर, लक्ष्मण मन्दिर , जनक मन्दिर, गंगा सागर एवं गंगा महाआरती, धनुषा सागर, अरगजा सागर लगायत दर्जनौ ताल तलैया र मठ मन्दिर छ ।

त्यसैले पर्यटकको घुमाईको रोजाईमा जनकपुरधाम पर्छ । जनकपुर प्रवेश गर्दैहुनुहुन्छ भने जानकी मन्दिर, रामजानकी विवाहमण्डप, मणिमण्डप, गंगा महाआरती, स्वर्गद्धारी, रामानन्द प्रवेशद्धार , धनुषाधाम लगायतको ठाउँ घुम्न नविर्सिनुहोला ।

जानकी मन्दिर

जानकी मन्दिर हिन्दु धर्मावलम्बीहरुको पवित्र धर्मस्थल एवं आस्थाको केन्द्र हो । जानकी अर्थात सीताको यो मन्दिर भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकोले यसलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको जानकी मन्दिर नेपालको ख्याती प्राप्त कलाको उत्कृष्ट नमुना मानिन्छ । 

जनकपुरमा राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन भदौमा झुला महोत्सव र १५ दिने मिथिला माध्यमिकि परिक्रमा धुमधामको साथ मनाईन्छ । यहाँ प्रत्येक महिनाको पूर्णिमामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन् ।

जानकी मन्दिर निर्माणको सवा सय वर्ष मात्र भए पनि यसमा स्थापित राम र जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्हरुको भनाई छ । जानकी मन्दिरको नाममा अहिले पनि संयौ विघा जग्गा रहेको छ ।

जानकी मन्दिर भित्र त्रेताकालिन आभास झल्किेन संग्राहलय पनि रहेको छ । जसमा रामसीता, राजा जनक लगायतको पहिरणको नमुना र विभिन्न कलात्मक प्रतिमाहरु छन् । त्यस्तै जानकी मीन्दरमा विगत ५६ वर्षदेखि भइरहेको अखण्ड रामसीता भजन पनि अबलोकन गर्न सकिन्छ । जानकी मीन्दर अवलोकन एवं घुमघामका लागि यहाँ दैनिक हजारौ स्रद्धालुभक्तजन एवं आन्त्रिक तथा बाह्रय पर्यटकहरु आउने गर्दछन् ।  

रामजानकी विवाह मण्डप

रामजानकी विवाह मण्डप जानकी मन्दिरसंगै टासिएर उत्तर छेउमा रहेको छ । जहाँ त्रेता युगमा भएको भगवान राम सीताको झझल्को जस्तै मन्दिर भित्र प्रतिमाहरु हेर्न सकिन्छ । यस्तै विवाह मण्डपमा आकर्षक फुलवारी  समेत रहेको छ । जानकी मन्दिर घुम्न आउने पर्यटहरु नछुटाई रामजानकी विवाह मण्डपको समेत अब्लोकन गर्ने गर्दछन् ।

पछिल्लो समय विवाहमण्डप आम जनताको विवाह गर्ने तथा विवाहको निर्णय लिने स्थलको रुपमा विकसित हुन थालेको छ । भगवान राम र सिताकोबिचमा विवाह भएको स्थल भएका कारणले पनि सो ठाउँमा विवाहको कुरा छिनिदा शुभ हुने र वर वधु आफ्नो वैवाहि जीवन सफलतापूर्वक व्यतित गर्ने मान्यता अनुसार विवाको तय गर्ने स्थलको रुपमा विवाहमण्डप बनेको छ । 

जानकी मंन्दिर अधिनस्त भएको रामजानकी विवाह मण्डपमा विवाह छिन्नका लागि छिमेकी मित्र राष्ट्र भारतको अतिरिक्त धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सिन्धुली, उदयपुर, सप्तरी, सुनसरी, मोरङ्ग सहितको जिल्लाहरुको अभिभावक आएर विवाह छिन्ने काम गरेको छ ।

मणि मण्डप

पौराणिक कालमा मिथिलाको राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह सोही मणिमंडपमा सम्पन्न भएको जनविश्वास छ । मैथली परम्परा अनुसार विवाह हुदा मडवा बनाई वैवाहिक कार्यक्रम सम्पन्न हुने चलन छ । त्याहा करिव २ मीटर लामो र त्यतिकै चौडा रहेको माटोको ढिस्को नै मडुवा हो भने मान्याता छ ।

ऐतिहासिक तथा पौराणिक मिथिला मणिमण्डप प्रचार प्रसारको अभावमा ओझेलमा परेको थियो । तर पछिल्लो समय सरकार पक्षले संरक्षण सम्बद्र्धनमा ध्यान दिँदा र प्रचार प्रसार हुँदा पर्यटकको घुम्ने रोजाई मध्येमा मणिमण्डप समेत पर्न थालेको छ । जुन जानकी मन्दिरबाट झण्डै चार किलो मिटर अर्थात जनकपुर उपमहानगरपालिका १३ रानीबजार स्थित अवस्थित छ । 

यस स्थानमा चारवर्ष अघि पुरातत्व विभागले उत्खनन गर्दा प्राचीन कालमा बस्ती भएको पर्याप्त प्रमाणहरु समेत फेला परेको थियो । विभिन्न माटाका भाँडाहरु, प्राचीन चुल्हो, खरानी लगायतका विभिन्न प्रमाणहरु मणि मण्डप क्षेत्रबाट फेला परेको छ । धार्मिक मान्यतामा विश्वास गर्नेहरुका अनुसार सोही चुल्होमा सीताराम जीको विवाहको बखत लावा भुटिएको  थियो ।

जनकपुरको पिराडी चौक भन्दा करिब ३ किलो मिटर उत्तर पश्चिम कुनामा पर्ने मणिमण्डपमा रहेको मन्दिरमा सीतारामजीको दिव्य मुर्ति छ । मन्दिरको अगाडीमा रहेको पोखरीमा स्नान गर्नाले मानव प्रत्येक जुनीमा गरेको अनेक पापबाट मुक्ति पाउनुको साथै पुण्यको भागी बन्ने जनविश्वास छ । मंसिरमा हुने विवाहपचमीको अवसरमा हजारौ भक्तजनहरु मणीमण्डप समेत पुग्ने गरेका छन् ।

गंगा सागरको  महागंगा आरती

जनकपुर घुम्ने ठाउँहरु मध्येको एक हो गंगा सागर । जहाँ नित्यदिन सन्ध्या महागंगा आरती हुने गर्दछ । र भक्तजन एवं पर्यटकहरुको घुईचो लाग्ने गर्छ । धार्मिक एवं एतिहासिक तलाउ गंगासागर चारवर्ष अघिसम्म फोहर मैलाको चपेटामा परेको थियो ।

संरक्षण सम्बद्र्धनको अभावमा यस सरोवरमा जथाभावी फालिने फोहोर डुंगुरले पानी समेत कालो थियो । गंगासागरको किनारामा जथाभावी फोहोर मैलाको डुंगुर पत्यक्ष हेर्न सकिन्थ्यो । जसको कारण त्यहाँ जाँदा मानिसहरु नाक समेत थुन्ने गर्थे ।

तर नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष रामअशिष यादवले सबैपक्षको सहयोगमा थालेको वृहत गंगा सागर सरसफाईले अहिले यहाँको मुहार नै फेरिएको छ ।

गंगासागरमा तीन महिनाभन्दा बढी फोहोर सफा गरेर टनका टन फोहोर निकालिएको थियो । र पूर्ण तः सरसफाई पछि चार वर्ष अघि गंगासागरको पश्चिमी र उत्तरी किनारमा महागंगा आरतीको शुरुवात गरिएको थियो ।

अहिले गंगासागर जनकपुरकै सबैभन्दा स्वच्छ सरोवरको रुपमा चिनिन्छ भने नित्य साँझ प्रसिद्ध मैथिली गायक सुनिलकुमार मलिकको संयोजन र स्वरमा भजन–प्रार्थना गुञ्जिन्छ ।

चारजना पुजारीबाट आरती हुन्छ । जहाँ श्रद्धालुभक्तजन र पर्यटकहरु शान्तिको अभाष गर्दछन् । अहिले यो गंगामहाआरती जनकपुरको सांस्कृतिक चिनारी नै बन्न बन्न पुगेको छ ।

जानकी मन्दिरको करिब ५ सय मिटर पूर्वमा पर्ने यो एतिहासिक गंगासागर  आकर्षक स्थल बनेको छ । जहाँ श्रद्धालुभक्तजन र बाहिरी पर्यटक गएर फोटो र सेल्फी खिच्दै रमाउछन् ।

स्वर्गद्धार

फोहरै फोहर । मान्छे मरेपछि लास लिएर दाहसंस्कार गर्ने ठाउँ । मुर्दा जलाईसकेपछि दिउँसै जान डराउने ठाउँ । तर अहिले मुर्दा जलाउने त्यो ठाउँ त प्रेमीप्रमिकाको डेटिंग स्थल  बनेको छ । जसलाई जनकपुरबासीले स्वर्गद्वार भनेर चिनिन्छन् । चिटिक्क परेको ठाउँ, रंगी विरंगी फुल, भुतनाथको मन्दिरसंगै रहेको आधुनिक दहसंस्कार स्थल स्मशानघाट मात्र होइन पर्यटकीय गन्तव्य बनेको छ ।

यो प्रसिद्ध धार्मिक तथा एतिहासिक सरोवर गंगासागरको दक्षिण किनारमा पर्छ ।  जहाँ शव जलाईन्छ । अन्त्येष्टि गरिन्छ । एकातिर शव जलिरहन्छ र अर्का तिर त्यहि छेउमा मान्छे घुम्छन्, रम्छन् , किशोर किशोरी प्रेमका कुरा गर्छन् । फोटा र सेल्फी खिच्छन् । 

अहिले सबैका लागि आकर्षक स्थल बनेको छ स्वर्गद्वारी ।  जनकपुरका पूर्व व्यापारी एवं समाजसेवी पवन सिंहानियाले एक एक पैसा चन्दा संकलन गरी स्वर्गद्धारी निर्माण गर्नुभएको थियो । जुन स्थल आज भन्दा  १६ वर्ष पूर्व जनकपुरको सबै भन्दा फोहर, दुर्गन्धित एव कुरुप स्थल थियो ।  

जहाँ राति त राति मान्छे दिउँसै पनि मान्छेहरु जान डराथे । त्यही ठाउँमा बनेको स्वर्गद्धारको वालको भित्ताहरुमा महान विद्धानहरुको जीवनको विषयमा लेखिएका अति यथार्थ पंक्तिहरुले झनै आकर्षित बनाउँछ ।

धनुषाधाम मन्दिर

धनुषामै पर्ने जनकपुरभन्दा बाहिर रहेको प्रसिछ धार्मिक तथा पर्यटकीय स्थल धनुषाधाम पनि हो । रमायणसंगै सम्बन्धित धनुषाधाममा धनुष मन्दिर रहेको छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।

‘विष्णु पुराण’का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । पर्शुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । तर राजा जनकले उक्त धनुष तोड्नेसंग नै आफ्नो छोरी जानकीको विहेकाे शर्त राख्नु भएको थियो । रामले तोडेको उक्त धनुष तीन टुक्रा भएको थियो ।

एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुष क्षेत्रमा छन् । धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभागमा आएर खसेको ठाउँ धनुषाधाम रहेको धार्मिक विश्वास रहि आएको छ । किम्बदन्ती अनुसार अहिले पनि धनुषाममा धनुषको प्रत्यक्ष कण हेर्न सकिन्छ । धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । धनुषको आकार वर्षेनी बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । भक्तजनले धनुषको टुक्रालाई पूजाआर्चना गर्दछन् । धनुषाधाम जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाम नगरपालिकामा रहेको छ ।

यहाँ पन्ध्रदिने मध्यमा परिक्रमा एक दिन विश्राम गर्ने गर्दछन् । भने धनुषको टुक्रा अवालोकन र पूजार्चना गर्न दिनहु आन्त्रिक तथा बाह्रय पर्यटक एवं श्रद्धालुभक्तजन आउने गर्दछन् । यस स्थानमा प्रत्येक वर्ष माघ महिनाको प्रत्येक आईतवार मकर मेला आयोजन हुन्छ । र श्रद्धालुभक्तजनले मनोकाक्षा पुराभएपछि भण्टाभार चढाउने गर्दछन् । 

रामानन्द प्रवेशद्वार

जनकपुरमा प्रवेश गर्ने वितिकै देखिन्छ एउटा ठुलो प्रवेशद्वार । घुम्ने ठाउँ त के हुनु तर हेर्नमा नै विशाल र अकर्षक भएर होला । बाहिरबाट आउने श्रद्धालुभक्तजन र पर्यटक टक्क उभेर चारैतिर आँख दौडाउँछन् । रामानन्दचोकमा रहेको रामान्द प्रवेशद्वार आउने गरी फोटा र सेल्फी खिच्न छुटाउँदैनन् ।

जानकी मन्दिरबाहेक जनकपुरलाई चिनाउने दोश्रो चिनारीको रुपमा रामानन्द प्रवेशद्वारलाई लिईन्छ । चारवटा ठुलो पिलरमा बनाईएको रामानन्द प्रवेशद्वारको माथि स्वामी रामानन्दको प्रतिमा छ । चारवटै पीलरलाई सुरक्षित र आकर्षक बनाउने गरी पार्क निर्माण गरिएको छ । अहिले पार्कभित्र फुलको बगैचा, भित्ताहरुहरु रंगरोगन गरी मिथिला चित्रकला कोरिएकाले झनै आकर्षक देखिन्छ । 

केहि दिनसम्म यो प्रवेशद्वारलाई एसियाकै सबैभन्दा ठुलो प्रवेशद्वारको रुपमा दावी गरिन्थ्यो । यसलाई जनकपुरको गौरब  समेत जनकपुरबासी मान्दछन् ।

वि.स.२०५० सालमा जानकी मन्दिरको पहलमा शिलान्यास गरिएको रामानन्द प्रवेशद्वार २०५६ सालमा निर्माण सम्पन्न भएको थियो । जानकी मन्दिरका महन्थ रामातपेश्वर दासको संयोजकत्वमा निर्माण समति बनेको थियो । एक करोड दश लाख रुपैयाँमा निर्माण गरिएको यस प्रवेशद्वारको संरक्षण सम्बद्र्धन र रेखदेख रामानन्द युवा क्लबले गर्दै आएको छ ।
 

अन्तिम अपडेट: मंसिर १, २०७५

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्छ। उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

1 Comments

तपाईको प्रतिक्रिया