सर्लाहीका सार्वजनिक कार्यालयहरू स्तनपान कक्षविहीन, शिशुले समयमा आमाकाे दूध खान नपाएकाे गुनासाे

 चैत २६, २०७९ आइतबार १७:३५:५३ | रामबाबु खड्का
unn.prixa.net

फाइल तस्बिर

सर्लाही – सर्लाहीका सार्वजनिक कार्यालयहरूमा स्तनपान र शिशु स्याहार कक्ष नहुँदा कार्यरत महिला कर्मचारी तथा सेवाग्राहीलाई समस्या रहेको छ । सरकारी कार्यालय तथा सङ्घ–संस्थामा स्तनपान कक्ष अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि सर्लाहीका धेरैजसो कार्यालयमा त्यस्तो सुविधा छैन ।

जिल्लाका २० वटा पालिकामध्ये कुनै पनि पालिकाले अहिलेसम्म स्तनपान कक्षको व्यवस्थापन गरेका छैनन् । स्तनपान कक्ष नहुँदा कर्मचारी तथा सेवाग्राहीले कतै लुकेर शिशुलाई स्तनपान गराउनुपर्ने बाध्यता रहेको सेवाग्राही कौशिला कार्कीले गुनासो गर्नुभयो । 

जिल्ला प्रशासन कार्यालयको आफ्नो भवन नभएकोले भाडाको घरमा स्तनपान कक्षको व्यवस्था गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताउनुभयो । ‘जिल्ला प्रशासन कार्यालय सर्लाहीको आफ्नो भवन छैन,अरूकै भवनमा बसेर काम गर्न बाध्य भएकाले स्तनपान कक्ष बनाउन नसकेको हो, दैनिक काम गर्ने ठाउँ पनि धेरै साँघुरो छ । नयाँ बन्ने भवनमा स्तनपान कक्ष बन्छ ।’ 

जिल्ला प्रशासन कार्यालय मातहतमा रहेका इलाका प्रशासन कार्यालयहरूमा पनि स्तनपान र शिशु स्याहार कक्ष सञ्चालन हुन सकेका छैनन् । जिल्ला प्रहरी कार्यालयमा पनि शिशु स्याहार तथा स्तनपान कक्ष छैन । शिशु स्याहार तथा स्तनपान कक्ष नहुँदा शिशुलाई भनेको समयमा स्तनपान गराउन समस्या परेको महिला प्रहरीको गुनासो छ। कार्यालयमा कार्यरत महिला प्रहरीका लागि अनुसन्धान शाखाको खाली कोठामा शिशुलाई स्तनपान गराउने व्यवस्था मिलाइएको र सेवाग्राहीका लागि त्यो सुविधा नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे महिला बालबालिका सेलका प्रमुख प्रहरी निरीक्षक संगीत पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाका धेरैजसाे स्वास्थ्य संस्थामा पनि स्तनपान कक्ष र शिशु स्याहार कक्षको व्यवस्था गरिएको छैन । राज्यका प्रमुख निकायहरूले नै ऐन, नियमलाई कार्यान्वयन गर्न नसक्नु दुखःद पक्ष भएकाले तत्कालै कार्यान्वयनमा ल्याउनुपर्ने पत्रकार महासङ्घ सर्लाहीका पूर्वअध्यक्ष कृष्णकुमार एस्मालीको भनाइ   छ।

सरकारले महिला कर्मचारीका लागि ९८ दिन सुत्केरी बिदा दिए पनि त्यसभन्दा पछिका दिनका कार्यालयमा नै शिशुलाई स्तनपान गराउनुपर्ने महिला कर्मचारीको समस्या रहेकाले शिशु स्याहार तथा स्तनपान कक्ष अनिवार्य रहेको हरिपुर नगरपालिकाअन्तर्गत महिला विकास शाखाका प्रमुख सुधा काफ्लेको भनाइ छ । ‘कार्यालय सञ्चालन गर्न पालिकालाई भवन अभाव भएकोले शिशु स्याहार तथा स्तनपान कक्ष बनाउन सकिएन,अब सानो घर बनाएर शिशु स्याहार कक्ष र स्तनपान कक्ष बनाउने सोचमा छौँ, ढिलो चाँडो बन्छ । धेरै नगरपालिका तथा गाउँपालिकामा त्यस्तो कक्षको व्यवस्था गरेको देखिएन, यो कमजोरी भएकै हो’, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल भन्नुहुन्छ ।

जनप्रतिनिधिहरूले महिला कर्मचारीको समस्या नबुझेका कारण कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष बन्न नसकेको बरहथवा नगरपालिकाअन्तर्गत महिला विकास शाखाका संयोजक सचिता गिरीको गुनासो छ । स्तनपान कक्षको निर्माण गर्न बजेट माग्दा जनप्रतिनिधिले वास्ता नगरेको र अहिलेका मेयर महिला भए पनि खासै चासाे नदिएको उहाँको भनाइ छ । महिला प्रमुख हुँदासमेत शिशु स्याहार तथा स्तनपान कक्ष नहुनु दुखःद पक्ष रहेको तुलसा खत्रीको गुनासाे छ ।

स्तनपान संरक्षण तथा संवर्धन गर्ने उद्देश्यसहित विभिन्न सङ्घ–संस्थाले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाउने गरिए पनि त्यसको प्रभावकारिता देखिएको छैन ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया