नेपाली चलचित्र ‘परस्त्री’ हिन्दी संस्करणमा पनि प्रदर्शन हुने

 जेठ ३०, २०८० मंगलबार १२:५३:५२ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा समेत प्रदर्शन हुने भएको छ । यसअगाडि ‘प्रेम गीत ३’ प्रदर्शन भएकै सुविधासरह हिन्दी संस्करणलाई  पनि प्रदर्शन गर्न दिने विषयमा चलचित्रका समूहसँग छलफल भएको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले जानकारी दिएका छन् । 

'यसअगाडिको नजिरअनुसार नै प्रक्रिया अपनाउन सुझाव दिएका छौँ', उनले भने, ' ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई नजिर मानेर ‘परस्त्री’लाई पनि त्यही प्रक्रियाबमोजिम अनुमति दिनेछौँ ।'

बोर्डको यस्तो निर्णयपछि चलचित्रका निर्माताले तीन हजार रुपैयाँ दस्तुर तिरेर पुनः स्वराङ्कनका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि मात्र परस्त्रीले (हिन्दी डब) शीर्षकमा चलचित्रले सिफारिस पत्र पाउनेछ ।

नेपाली चलचित्रको सुविधासरह ‘रिलिज’ हुने भएपछि परस्त्री (हिन्दी डब) ले १५ प्रतिशत चलचित्र विकास शुल्क तिर्नुपर्ने छैन । मूल्य अभिवृद्धि कर १३ प्रतिशत र स्थानीय कर पाँच प्रतिशतसहित १८ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । नेपाली चलचित्र नेपालमै हिन्दी भाषामा प्रदर्शन हुने शैली सकारात्मक नभएको बोर्ड अध्यक्ष केसीले बताए । 'मैले मन्त्रालयको निर्देशनलाई मानेको हुँ । चलचित्रकर्मीका रुपमा म यस कुरासँग सहमत  छैन । किनकि नेपालमै हिन्दी भाषामा चलचित्र प्रदर्शन गरिनु राम्रो होइन', उनले भने । 

चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले नेपाली निर्माताको लगानी रहेकाले नेपालीसरह सेवासुविधाको माग गरिएको जानकारी दिए । 'हाम्रै नेपालीको लगानी रहेको चलचित्रलाई विदेशी सरह प्रदर्शन गरिनु न्यायोचित नहुन सक्छ । त्यही सन्दर्भलाई लिएर विकास बोर्डसम्म पुगेका हौँ', वितरक श्रेष्ठले भने, 'यसको सकारात्मक पक्षलाई पनि हेर्नुपर्छ । नेपाली निर्मातासँगको सहकार्यमा विदेशी लगानी भित्रिन सक्ने सम्भावना पनि छन् ।'

कलाकार सुरज पाण्डेको निर्देशनमा तयार भएको यस चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको चलचित्रलाई काठमाण्डाैमा करण श्रेष्ठ (जीजीए ग्रुप) र मोफसलमा अशोक शर्मा (डीसीएन) ले वितरण गर्नेछन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया